• २०७९ असोज १८ मङ्गलबार

इजाको पेटिकोट

चेतना शर्मा

चेतना शर्मा

भर्खरै ब्याएकी बाच्छी छिनछिनमा कान ठाडा पार्दै गोठको भित्रबाहिर बुरुक्कबुरुक्क उफ्रिरहेकी हुन्छे । उसको आलो शरीरमा भएको ओजिलो स्निग्धताले वातावरणको मानोरमतालाई थप गरेको थियो । ‘आफ्नै महतारी जसी भई ।’ खैरो रङको शरीरमा सेता बुट्टाहरू भएकी बाच्छी देखेर चाउरी परेका गाला तन्काउँदै इजा (आमा) भन्दै थिइन् । उसको जन्ममा इजा मनमनै दङ्ग थिइन् । अघिदेखि झर्न नसकेको गाईको सालको पर्खाइमा इजा छेवैमा बसिरहेकी थिइन् । गाईको साल पूरै झरेसँगै इजाले दुइटा ठूला दाउराले साल तान्दै घरभन्दा पर खाल्टोमा लग्ने गरेको दृश्य गाई ब्याउँदा प्रायः हामी सधैँ देखिरहेका हुन्थ्यौँ ।
‘ए ! स्याउला ल्याउन जान्या नइँ हौ !’ इजाको आवाजले गोठतर्फ रमाइलो मान्दै हेरिरहेका हामी सबैलाई एकैछिनमै तितरबितर गराउँछ । मेरा भाइबहिनी वनतर्फ लाग्छन् । म भने खाना पकाउन घरमै बस्छु । बगिरहेको सिँगान एक हातले पुछ्दै डाँडामाथिको घाम हेर्छु । घाम फैलने यत्नमा थियो । यी दृश्यहरूको मनोरमताको हलुका सङ्गीत मेरा कानमा गुञ्जिरहन्छ । म फाटेको झकुलीमा घरका कामहरूमै रमाइरहेकी हुन्छु । पाखामा फर्सीका लहराहरू फैलिएका थिए । फलेको एउटा फर्सी टिप्न खोज्छु । तर, सकिनँ । तल झरेको लहरालाई आड बनाएर माथिको लहरा तान्दछु र फर्सी टिपेर भान्सातर्फ लैजान्छु ।
यतिन्जेलसम्म गोबरले लतपत भएका, हरिया–राता प्लास्टिकका चुरा लगाएका हातहरूले इजाले पेटिकोटलाई घुँडासम्म पुर्याएर कम्मरको पटुका मोटो पारेर कसिसकेकी रहिछन् ।
ड्वाँ ऽऽऽ ड्वाँ ऽऽऽ ! आफ्नी बाच्छीलाई नजिकै नदेख्दा गाई करायो ।
आँगनमा बसेर बालेखुकुरी चुरोट तानिरहँदा चुरोटको धूवाँले स्वच्छन्द उडान भरिरहेको थियो । आज मलाई चुरोटको धूवाँ नाकमा बिझेन र गन्हाएन पनि । बाका बाहिर निस्केका पहेँला कुकुरे दाँतहरू चाउरिएको गालामा थप चलमालाइरहेका हुन्थे । अस्ति जजमानले सप्ताहमा बालाई एकजोर कुर्तासुरुवाल दिएका थिए । साबुनको अभावभन्दा पनि साबुन सकिन्छ भन्ने चिन्ताले त्यस लुगामा साबुन लागेको थिएन् । त्यो लुगा पहेँलै फर्केको थियो । टाउकाको च्यातिएको टोपीमा बाको अनुहारमा एक प्रकारको सन्तुष्ट भावसहितको मुस्कुराहट थियोे । तीन दिनअघि त बा र इजाको गफ हुँदैगरेको सुनेकी जो थिएँ– ‘हेर् धौलीकी इजा यसपाला गाईले बाच्छी जन्माई भने तलाईं नयाँ पेटिकोट सिलाएर ल्याऊँला ।’ गाईले बाच्छी नै जन्माइदिओस् भन्ने चाहना मेरो पनि थियो ।
‘ओ ब्वा ! मेरो पेटिकोट जम्मै गोबरियो । खै अर्को धोती ल्या त ।’
म पानीको गाग्रो लिएर उक्लिँदै थिएँ । झट्ट पानी राखेर पातलो धोतीको लुँगीजस्तोे एउटा टुक्रा र पुरानो पेटिकोट आमालाई दिन्छु । मलाई थाहा थियो– आमासँग लुगाका नाममा यी दुई फाटेका पेटिकोट मात्रै त थिए । मेरो मस्तिष्कको चित्रशालामा त्यो पेटिकोट आजन्म यसरी कैद छ, जसको सजीव चित्रले मलाई स्मृतिका बोझिल तर मीठा लाग्ने डुङ्गामा हरदम मलाई तैराइरहन्छ । किनभने इजाको प्रत्येक दुःखसुखमा त्यो पेटिकोट साक्षी बनेको थियो । कुनै नाटक मञ्चन हुनुअघि देखाइने पर्दाजस्तो, त्यो रातो पेटिकोट अझैपनि आमाको सम्झना आउँदा आँखाअघि छाउँछ । जुन कहिलेकाहीँ समयमै नसुकिदिँदा वा मैलो भइदिँदा निम्त्याइएका बिहे, पूजाजस्ता कार्यहरूमा जानबाट उनी वञ्चित हुन्थिन् । मलाई थाहा छ, इजा त्यो पेटिकोट विशेष जतनसँग राख्ने गर्दथिन् । कतै बिहेजस्ता कार्यहरूमा जानपरे राती धोएर सुकाउँथिन् । बेलुका सुकेन भने इजा जान पाउँदैनथिन् । दुई वर्षअघि कान्छो भाइ जन्मँदा त्यसै पेटिकोटमा लटपटाएर बाहिर निकालेकी मैले देखेकी थिएँ ।
अब उपरान्तका दिनहरूमा त्यो जीर्ण भइरहेको पेटिकोटले इजाको लाज छोप्न सक्दैन भन्ने कुराको आभास धेरै पहिले नभएको त होइन तर त्यही पेटिकोटले काम चलाउनुबाहेक अर्को विकल्प पनि त थिएन। त्यस पेटिकोटमा इजाका दैनिकी धान्ने कतिपय हिस्सा र किस्साहरू जोडिएका हुन्थे । त्यो रङ्गीचङ्गी पेटिकोट सुक्दा पातलो अर्को पेटिकोट भए तापनि अर्को आडिलो विकल्पको अभाव थियो । इजा पेटिकोटमाथि पातलो धोतीको लुंगीजस्तै लाउँथिन् अनि टाउकोमा थोत्रा कपडाको मजेत्रो कस्सेर बाँध्थिन्। प्रत्येक बिहान इजा पेटिकोटलाई रस्सीमा सुकाउँथिन् । सुकेपछि त्यही लगाएर काममा जान्थिन् । उहिले गाउँमा सुब्बालाई देउकी खोजिदिएकाले प्रसन्न भएर घर र अलिकति जमिन बक्सिसमा दिएका थिए रे । त्यसै घरमा मेरी आमा बिहे गरेर भित्रिएकी थिइन् ।
गोठअघिल्तिर सानो रस्सी दुई खाँबामा बाँधिएका थिए, जसमा हामी आफ्ना कपडाहरू सुकाउँथ्यौँ । समयको अन्तरालसँगै मेरी इजाको सुकिलोे पेटिकोटमा क्रमशः बाहिरी अन्य कपडाका जोडहरू पर्दैजाँदा पेटिकोट रङ्गीचङ्गी बनेको थियो । कुनै दिन कौसीमा एक्लै हुँदा सुक्दैगरेको इजाको पेटिकोट हेरेर बस्दा, हामीले खेल्दा बनाउने पुतलीजस्तो लाग्थ्यो त्यो पेटिकोट ।
चुच्चो अनुहारमा नाकको लोतीसँगै लत्रिरहेको बुलाकी, पटुकाले कसेको पातलो कम्मर, कमजोर तर घिसार्दै लगेको जीवनले गरिबीलाई टाढैबाट टल्काइरहेको हुन्थ्यो । आमा चुल्हा खान्थिन् अर्थात् स्वयं पाक्य थिइन्। उनले चुल्हा खाँदा ब्लाउज खोलेर त्यस पेटिकोटलाई छातीभन्दा माथिसम्म पुर्याएर बाँध्दथिन् । अनिखाना खाइसकेपछि पुनः कम्मरमा पुर्याउँथिन् । बिहान सबेरै आमा पानी भर्न पँधेरो जाँदादेखि राती नसुतुन्जेलसम्म त्यही पेटिकोट उनको सेरोफरो थियो ।
‘ऐय्या ऽऽऽ यो पीड मुखी खाँदो छ ।’बाको कम्मरको पीडा केही दिनको अन्तरालमा बल्झिरहन्थ्यो । जुन पीडाले आजीवन उपचारको मुख देख्न पाउँदैन भन्ने निश्चित थियो । राती वेलावेला ओर्कंदाफर्कंदा अय्याऽऽ याऽऽ भनेको सुनिन्थ्यो । आमा खोपीमा राखेको पुरानो गाईको घिउले मालिस गरिदिन्थिन् ।
बा इन्डियाबाट आउँदा इजालाई सधै पेटिकोट ल्याउनेगर्थे, त्यो पेटिकोट पनि अन्तिमपटक ल्याएका थिए । किनभने त्यसपछि बा इन्डिया फर्कन नसक्ने भए । त्यहाँ भरियाको काम गरेर फर्केका बाले जीवनभर निको नहुने कम्मरको पीडा आफूसँगै ल्याएर आएका थिए । हातमा ‘जेउणो’ बोक्न र सडकमा रात बिताउन त्यसउपरान्त बा इन्डिया जान सक्ने भएनन् । अनि हाम्रा घरमा कसैको ज्यानले नयाँ लुगाको फेसन पाउन छाडेको थियो । त्यो पेटिकोट बाले पाँच वर्षअघि इन्डियाबाटै ल्याएर आएका थिए ।
हाम्रा दिनहरूगरिबी र गरिबीले फालिरहेका बाछिटाहरूको सेरोफेरोमै बितिरहन्थे । एक साँझ झिसमिस अँध्यारो हुनथालेको थियो । दिनभरि कामको चटारोले घरमा सबै थकित थिए । हिजो दर्केर्को पानीले रुझेका दाउरा सुक्ने आसमा अँगेनासामुन्ने राखेकी थिएँ । मकैको रोटी पकाउन सासै भास्सिने गरी दाउरा बाल्न खोज्दैथिएँ म । तल चिनेको मान्छेको स्वर सुनियो । सानो झ्यालबाट तल चियाएर हेरेँ, जिङरिङ्ग कपाल, छाला छेडेर हड्डी बाहिर निस्कन लागेजस्तो अनुहार, फुस्रा हातहरू, तुने चप्पल र काखीमा दुई वर्षकी जतिसानी बालिका थिई । मलाई चिन्न गाह्रो भएन धौली दिदी आएकी रहिछन् ।
बाआमालाई देख्दा सुँक्कसुँक्क गरिरहेको आवाज मेरा कानमा परिरहेका थिए । हुनत धौली दिदी माइत आउँदा सुँक्कसुँक्क गर्नु नौलो त होइन् तर यसपटक उनको ख्याउटे शरीर र गाँठो परेकोे पेटले अरू थोक पनि सङ्केत गरिरहेको थियो । उनी दुईजिउकी भएको कुरा थाहा पाएँ । अब चौथो पनि छोरी जन्मे दिदीका घरकाले उनीमाथि सौता ल्याउने सुरसार गरिसकेको कुरा सुनाएकी रहिछन् । उसै पनि मेरी इजा उनकी आफ्नै इजा होइनन्, सौतनी इजा हुन् । तीन दिनपछि खोप्टे परेको अनुहारको निधारमा टीका लाएर बाले धौली दिदीलाई पठाएका थिए । उनको अनुहारमा अदृश्य भयका प्रतिविम्बहरू पनि उनीसँगसँगै हिँडिरहेका थिए । ‘छोरीको कर्म यस्तै हो’ भन्दै इजाले सम्झाउँदै घर पठाएकी थिइन् । अर्थात जे परे पनि सहनुपर्छ भन्ने सिकाइलाई थोरबहुत कोसेलीसँगै उनको पोल्टामा बाँधेर पठाइएको थियो ।
‘लौ अब यो बाच्छी ब्याउने भई भने अर्को पेटिकोट सिलाइ माग्न्या हुँ ।’ यदाकदा इजाको अनुहारमा मुस्कानका रङहरू देखिनथालेका थिए । किनभने त्यो बाच्छी ब्याउने भई भने त्यसकी महतारी गाईलाई बेचेर आएको पैसाले पेटिकोट किन्ने सपना देख्दैथिइन् इजा । उनलाई दङ्ग देख्दा हामी भाइबहिनी पनि दङ्ग पर्दथ्यौँ। गोठमा बाच्छी पाउँदा सबै खुसी थिए । आमाको क्रन्दनहरू पेटिकोटले जाहेर गरिरहन्थ्यो । तर बाच्छीलाई हेर्दै सन्तोषको सास फेर्नुहुन्थ्यो ।
जेठको अन्तिम समयमा पहाडतिर बर्सातले आफ्नो गति समात्न थालेको थियो । त्यसैसँग रोपाइँका चटारो । तल पुछारदेखि सुरु हुने रोपाइँ हाम्रो खेतमा आएर अन्त्य हुन्थ्यो । त्यो पनि अधियाँको न थियो । गाउँमा सबै व्यस्त थिए । तरघरमा इजाको स्वास्थ्य दिनदिनै बिगँ्रदै थियो ।
दुइटा बाख्राहरू बिहानै कान फटपटाइरहेका थिए । बा आफ्ना हल लिएर खेतमा जाँदै थिए। इजा अचानक ढोकामा पछारिइन् । उनका खुट्टा काँप्न थालेको थिए । आमाको शरीरभरि रगतका टाटा थिए । पन्ध्र दिनअघि त इजाको छुइ सकिएको थियो । इजाले रोपाइँ गर्न नसक्ने भइन् । रगत नरोकिएपछि धामी बोलाइयो । धामीले निकाल्ने निष्कर्ष नै अन्तिम हुन्थ्यो सबैका लागि । त्यो शदियौँदेखि चलिआएको परम्परामा यस समाजले आँखा बन्द गरेर विश्वास गर्नुपर्ने हुन्थ्यो । देवता रिसाएका भनेर दोष देखाइयो । बाले भाकल गरे । बाको खोकी चिन्ताले झन् बढिरहेको हुन्थ्यो । इजाको रोग दिनानुदिन बल्झिँदैगयो । जडिबुटी गरियो । इजा जता हिँड्थिन् उतै रगतको धारा बगिरहेको हुन्थ्यो । उनका आठजना सन्तानमा हामी चारजना बाँचेका रहेछौँ । ममाथिका सबै दिदीहरू मरेर गए रे । मरेका नातिनीहरूको सुर्ता मान्दिनँथिन् रे हाम्री बज्यै । मपछिको भाइ बित्दा भने मूच्र्छा परेकी थिइन् रे । मैले सुनेको, बरु गोठमा गाईका बाच्छी जन्मँदा खुसी हुन्थिन् ।

०००
त्यो दिन बिहान घामको ओज देख्दा घाम दिनभरि रहला भन्ने विश्वास भएन् । गोठमा गाईका आमाछोरी किला तोड्लाझैँ उफ्रिरहेको थियो । माथि आकाशमा एक हुल चराहरू निकै लामो यात्रामा जानुछझैँ गरी उडिरहेका थिए । मौसम रुष्ट थियो वा आक्रमक स्वभावको, मैले थाहा पाउन सकिनँ । काला बादलहरू डम्म भरिँदै आइरहेका थिएँ । छरछिमेक सबै खेतमै व्यस्त थिए । के थाहा थियो र ! त्यो कालो वादलजस्तै हाम्रो जीवनमा पनि अन्धकार मडारिँदैछ भन्ने । एकछिनपछि भारी मेघ बर्सिन थाल्छ । भाइबहिनी बासी कोदाको रोटी खाएर बाख्रा चराउन वन पसिसकेका थिए ।
छकाल हुन थालेको थियो, इजा अहिलेसम्म उठेकी थिइनन् ।
‘जात ! तेरी इजा क्यान बाइर नआएकी हेर त !’ चलमल पनि नभएको सुन्दा बा यति भन्दै खेततर्फ हिँडे ।
भित्र अर्धहोसमा पल्टिरहेकी थिइन् इजा । मैले बोलाउँदा पनि बोलिनन् । रगतले उनको पेटिकोट लतपत थियो ।मुख सुकिसकेको थियो । हत्तपत्त अम्खरामा पानी ल्याएर दिएँ । इजाका हातले मेरा हात च्याप्प समाते । उनको आँखाबाट बगेको मोटामोटा आँसु थोप्ला मेरो हत्केलामा परे । मेरा निम्ति छाडेर जानलागेको जिम्मेवारीको अनुनयन इजाको हातको स्पर्शमा भेटँे । बादल जोरले गर्जियो । इजाका आँखा सधैँका लागि बन्द भए । उनी संसारबाट बिलाइन् । र, मलाई सानैमा झनै परिपक्व बनाएर गइन् ।
तुलसीको मठनजिक इजालाई सुताइयो। उनको शरीरमा टालेको त्यही रङ्गीचङ्गी पेटिकोट थियो । रातो अबिरले उनको शरीर भिजेको थियो । आज भने पेटिकोटमा जोडिएका टालाटुलीहरू एउटै रङमा फर्केका थिए । हामीरुँदै इजालाई हेर्दैथियौँ । एकछिनपछि त्यो पेटिकोट पनि इजासँगै मसानघाट गयो ।
हिजोदेखि दुइटै गाईले घाँस खान मानेका थिएनन् । इजालाई जुन बाटो हुँदै लागिएको थियो गाईहरू त्यही दिशातर्फ निकै दिनसम्म तारन्तार हेरिरहन्थे । गाईका आँखामा आँसु टिलपिलाइरहेका हुन्थे । अरूले हालिदिने घाँस धेरै दिनसम्म मन लाएर खाएनन् । गोठमा बाच्छी पनि तीन वर्षको भइसकेकी थिई । केही महिनापछि ब्याउने तरखरमा थिई । त्यो बाच्छी जन्मँदा इजाले महसुस गरेको खुसी निष्प्राण गरेर नियतिले निमोठिदिएको थियो । नयाँ पेटिकोट लाउने इजाको सपना संसारैबाट तुहियो ।

(शर्मा विगत एक दशकदेखि सिर्जनाका विभिन्न विधामा कलम चलाउँदै आएकी स्रष्टा हुन)

[email protected]