मान्छेले जीवनमा गर्ने पहिलो र अन्तिम भूल नै विवाह हो । यो भन्दा ठूलो भूल अरू कुनै पनि छैन । यही भूलको गर्भबाट अनन्त भूलहरू जन्मिने कुरा शाश्वत सत्य हो । अनेक तर्क गरेर यसलाई असत्य सावित गराउने उद्योग त गरिन्छ नै, तर विवाह एक नरक यात्रा हो । कुमारी ज्वाला बिन्दासको मुखबाट आगो निस्कियो । घरपरिवार, आफन्त साथीहरू सबैले निकै कर कर गरेपछि उसले सहेली हीरा, मीरा, नीरा, लीरा, रिया र जियाको सामुन्नेमा आफ्नो लाभा म्याग्मा यसरी ओकलिन । नीरा बोली, ए अराजक आन्दोलनकारी, यो सृष्टि कसरी चल्छ ? तेरो बाउअमाले पनि त्यही भनेको भए तेरो आगमन कसरी हुन्थ्यो ? यस्तो उग्र सोच किन आया ? कारण त होला नि ? किन ? नीराको समर्थनमा सबै टाउको हल्लाए । एक्ली ज्वाला तर बघिनी । अनुहारमा आक्रोश पनि छैन । सामान्य भएर बोली, बाउ आमाको नारकीय जीवन देखेर त बोलिरहेकी छे यो ज्वाला, एक जोडी देखाउन सक्छौ ? पूर्ण खुशी र सुखी, बिहे गरेर ? छ कोई ? सबै अभिनय होइन ? यो परिवार, यो निजी सम्पत्ति, यो दासी बन्नुपर्ने रीति रिवाज, न चिनेको परिवारमा गएर समायोजन,यो बुहार्तन, भो भो भो, चाहिएन । म मूर्ख बन्दिन ।
ए बूढी कन्या भएर,अर्की शैलजा हुने त ? बिहे न गर्ने ? अब त हेर ३६, यस्तो कुरा न गर, गर्नुपर्छ । नकारात्मक पक्ष हेरेर मात्र हुन्छ । बिहे गर्नु हीरा बोली । गर्दिन गर्दिन भनेपछि गर्दिन । साला पुरुष, नचिनेको हो र ? संगत नै न गर्ने १ फेरि उही चक्र । कमसे कम मेरो कारणले त दुई चार बेबकुफ भने पनि कम हुनेछन् यो भूगोलमा । के ग्यारेन्टी छ असल सन्तान जन्मिनेमा ? को छ यहाँ आनन्दमा ? धनी, गरीब सबैको जिन्दगी हेरियो । म त यो जुनी स्वाधीन भएर बिताउने हो । कसैको खेलौना हुनु छैन । गर्दिन अडान कायम ।
ज्वाला, प्यारी सहेली, भोलि पछुतो होला । बुढेसकालमा दुःखद् परिस्थितिको सामना गर्नुपर्ला । तिमी आफैं पीएचडी, के सम्झाउने यार धर्ती हो नारी बाँझो बस्ने त ? आमा हो नारीको सर्वोच्च पद, त्यो पदको गरिमालाई सम्मान नगर्ने त ? प्रकृतिको बिरुद्ध जाने ? जियाले जोखिम मोली । मज्जाले हाँसी ज्वाला । अरे साथी हो, वर्तमानमा जिउने हो । रह्यो भोलिको कुरो, बृद्ध आश्रमहरूको के काम ? मैले सबै योजना बनाएकी छु । एउटी धर्मपुत्री ल्याउने छु । मलाई सम्झाउने मूर्खता नगरे हुन्छ । यो अर्ती उपदेश उद्योग टाट फर्किने उद्योग हो । आजको बहस यति नै कुमारी ज्वाला बिन्दास सधैं कुमारी रहनेछे । बिन्दास जिन्दगी ॐ शान्ति सहेलीहरू बिदा भएँ ।
धनराज गिरी
[email protected]