कविता

उस्तै बिहानी, उस्तै दिन
उस्तै घाम, उस्तै साँझ
अनि उस्तै रात
तर फरक अनुभूति
विशिष्ट उत्साह
लिएर आयो नयाँ वर्ष
चराचुरुङ्गीको मीठो चिरबिराहट
अनुपम प्राकृतिक सौन्दर्य पनि उस्तै
भीडभाड अनि प्रदूषण पनि उस्तै
तर उल्लासले भरिएको हृदयमा
सफलता प्राप्तिको ऊर्जा
लिएर आयो नयाँ वर्ष
पहाडजस्तै भएर
अग्लिएका सपनाहरूलाई
विगतमा अधुरा रहेका चाहनाहरूलाई
आइपरेका उल्झनका
लामहरूलाई
पन्छाउदै पन्छाउदै
नयाँ उमङ्गलाई
आत्मीय मित्र बनाएर
सङ्कटहरूलाई
परचक्री बनाउन
आयो नयाँ वर्ष
सूर्यको ताप परेपछि
जमेर बसेको हिउँ पग्लिएर
पानी बनेर बगेजस्तै
सपनाहरूले खनेको बाटोमा
अविरल यात्रा गरी
लक्ष र गन्तव्यको
प्राप्ति गराउन
आएको छ नयाँ वर्ष
आएको छ नयाँ वर्ष ।
(आचार्य चर्चित साहित्यकार हुन् ।)
[email protected]