समाचार

प्यारा लालाबालाहरू,
आऊ अनि चढ मेरो जीवनको चिप्लेटीमा
अनि ताराझैँ चम्किँदै मस्तले खेल चिप्लेटी
कसैगरी तिमीहरू लड्यौ भने
म भुइँलाई भनिदिनेछु
कि तिमीहरूलाई चोट नलागोस्
कसैगरी तिमीहरू लड्यौ भने
म झ्यालिन्चालाई भनिदिनेछु
कि घोडामा जस्तै तिमीहरूलाई बसाओस्
अनि उडोस् स्वप्नयात्रा गर्दै
प्यारा लालाबालाहरू,
तिमीहरू मेरो जीवनको चिप्लेटीमा खेलिरहँदा
म जीवनसँग जीवनबारे जीवन्त संवाद गर्नेछु
बिहान हुन्छ/साँझ हुन्छ
दिन हुन्छ/रात हुन्छ
तर प्यारा लालाबालाहरू,
बिहानदेखि साँझसम्म
दिनदेखि रातसम्म
तिमीहरू खेलिरहनू अनि रमाइरहनू
मेरो जीवनको चिप्लेटीमा
तिमीहरूलाई भोक लागे
म प्रेमका मिठाइहरू दिनेछु
तिमीहरूलाई प्यास लागे
म अँगालोको जल दिनेछु ।
(कविन चर्चित कवि हुन्)
[email protected]