‘तपाईंलाई सिकारी गायक पनि भन्छन् नि !’
‘ठीकै त भन्छन् नि, म सिकारी गायकै हुँ । मलाई धेरै नेपालीले यस रूपमा चिन्छन् पनि ।’
वरिष्ट लोकगायक कुमार बस्नेत आफ्नो सिकारी गायनको किस्सा सुनाउन थाल्छन् । त्यो जमानामा आजजस्तो गायकसँग पैसा हुने कुरै थिएन । त्यसैले उनी कहिले जिरी जान्थे र एउटा कालिज मारेर गाउँलेका घरमा शरण लिन पुग्थे । त्यति बेला चामलको भात पाउनु भनेको सपनाजस्तै हुन्थ्यो पहाडी गाउँघरमा । अनि कालिजको झोल र ढिडो खाएर, टुच्च–टुच्च मापसे लगाउँदै मुड बनाएर गाउँलेहरूबाट उनी आफ्नो गला र कलालाई सुहाउने लयको लोकगीत फुत्काउँथे । कोदोको सुरा सुर्पीसँगै अगेनोको छेउमा बसेर जिउ तताउँदै गीत टिप्यो, लय कण्ठ ग-यो । त्यस वेलाको नेपाल अहिलेजस्तो थिएन । गाउँघरहरूमा जान–आउन, बस्न सहज थियो । राजनीति पसिककेको थिएन । त्यसैले लोकगीत सङ्कलन गर्न उनी सिकार खेल्दै सुदूर गाँउसम्म पुग्थे ।
‘खल्तीमा पैसा नभएरपछि गाउँलेसँग मिसिएर लोकगीत खोज्नलाई अनेक उपाय त गर्नैप-यो नि,’ बस्नेत भन्छन्– ‘हिमचिम भएपछि उनीहरू पनि मन खोलेर गाउँथे, म पनि शब्दहरू टिपेर अभ्यास गर्थें ।’ यसरी बारम्बार अभ्यास गरेपछि बल्ल उनी रेडियो नेपालको स्टुडियोमा छिर्थे र गीत रेकर्ड गर्थे । त्यसैले सिकार पनि उनको लोकगीत सङ्कलनको एउटा माध्यम थियो ।
बस्नेतले एकपटकको घटना सुनाए । धेरै वर्षअघिको अर्थात् २०१५ साल को । उनी पोखरा पुगेका थिए । एक दिन हिँड्दै आफ्ना अग्रज लोकगायक धर्मराज थापाको गाउँ बाटेलेचौर पुगे । त्यस वेला त्यहाँसम्म जाने सार्वजनिक सवारीधान पाइन्नथ्यो, हिँडेर जानुपथ्र्यो । लोकगीतका प्यासी उनी घन्टौ हिँडेर घाम डुृब्न लाग्दा बाटुलेचौर पुगे र एकजना गाइनेदाइको घरमा वास बस्न पुगे । त्यति वेला गन्धर्वलाई गाइने नै भनिन्थ्यो । त्यहाँ बिर्खबहादुर भन्ने प्रसिद्ध गाइनेदाइ बस्थे । बिर्खबहादुर पछि बालकृष्ण समसँग तिब्बतसम्म पनि पुगेका थिए । बस्नेतलाई देखेपछि राती बिर्खबहादुरलाई के खान दिऊँ, के खान दिऊँ भयो । बस्नतेलाई उनी असाध्य माया गर्थे । त्यसैले उनलाई छटपटी भयो । बस्नेतको खल्तीमा सय रुपियाँको एउटा नोट मात्र थियो । उनले त्यो नोट झिकेर बिर्खबहादुरको हातमा राखिदिए । त्यसपछि उनीहरूको त्यो छाक जेनतेन ट-यो । पिरो न पिरो माछा र भात नाकबाट सिगान चुहाउँदे बल्लतल्ल खाए । तर उनलाई भातको भन्दा पनि गीतको भोकले त्यहाँ पु-याएको थियो । उनीहरूले गीत गाएर रात छर्लङ्ग पारे । बस्नेत आफूले पनि गाए र उनीहरूका नयाँ–नयाँ गीत र भाकाहरू पनि सिके । त्यही बेला उनले सिकेकामध्ये एउटा लोकगीतहरू हुन– ‘सक्यो नानी, सक्यो नानी, सक्यो नानी’, ‘हेर्दा राम्रो माछापुच्छ्रे’ लगायत लोकगीतहरू ।
भोलिपल्ट बिहानै कुमार बस्नेत पोखरा जान त्यहाँबाट निस्किए । उनलाई विदा गर्न १०–१२ जना गाइनेहरूको जुलुसै पछि लागेको थियो । धर्मराज थापाको घरनजिक पुगेपछि एउटा बाहुनको चिया पसल भेटियो र उनीहरू सबै चिया खान बसे । बस्नेतले चिया खाइसकेपछि गिलास जुठेल्नामा राख्दै सबै गाइने दाइहरूसँग विदा मागे । त्यही बेला चिया पसले जुरुक्क उठ्यो र बस्नेतको कठालो समातेर गर्जियो– ‘रातभरि गाइनेको घरमा बसेर, त्यहीँ भात खाएर आउने अनि गिलास नमाझी जाने, यो गिलास नमाझी जान पाउँदैनस् !’ बस्नेत एक छिन त अमलममा परे । उनलाई आफूले ठूलै अपराध गरेछु कि भन्ने पनि लाग्यो । तर उनलाई पनि तुरुन्तै झ्वाँक चल्यो– ‘तिमीले चिया खाने आफैँले गिलास माझ्नुपर्छ भनेर सूचना टाँसेका थियौ र म गिलास माझ्छु । सित्तैमा खाएको होइन, पैसा तिरेर खाएको हुँ ! पसलमा चिया खानेले गिलास माझ्ने कुनै कानुन छैन ।’ उनी बडबडाए तर उनलाई मात्र थाहा नभएको कुरा– साना जातकाले पसलमै खाए पनि खाएको भाँडा आफैँले माझ्नुपर्ने रहेछ । झगडा चर्किंदै गएपछि एक जान गाइनेले त्यो गिलास माझिदिएपछि बस्नेत रिसले रन्थनिँदै पोखरातिर हान्निए ।
उनको रिस मरिसकेको थिएन, पोखरा पुग्दा झन् बबाल भयो । बस्नेत त्यस घटनाको बेलिविस्तार लगाउँदै भन्छन्– ‘कुमार बस्नेत बेपत्ता भयो भनेर प्रहरीमा उजुरी परेको रहेछ । कसैले घाँटी निमोठेर सेतीमा फाल्दियो भने त काम तमाम भनेर प्रहरी खटाइएको रहेछ ।’ अनि उनलाई तीन–चार जना प्रहरीले समातेर बडाहाकिमकहाँ पु-याए । तेजबहादुर प्रसाईं त्यहाँका बडाहाकिम थिए । उनलाई देख्ना साथ बडाहाकिम कुर्लिहाले– ‘उल्लू कहीँको ! यसरी हीरो भएर रातीराती तरुनी खोज्दै हिँड्ने ?’ बस्नेतले हात जोड््दै सफाई पेस गरे– ‘हजुर म तरुनी खोज्न होइन, लोकगीत खोज्न बाटुलेचौर गएको थिएँ । रात प-यो उतै बसेँ ।’ उनी कडाहाकिमका पञ्जाबाट बल्लबल्ल उम्किए । उनी भन्छन्– ‘त्यस दिन म पशुपन्न्छीको सिकार खेल्न नगए पनि लोकगीतको सिकारमा निस्केको थिएँ ।’
तर, उनी आफूलाई सिकारी गायक हुँ भन्नमा गर्व नै गर्छन् । ‘हो म सिकारी गायक नै हुँ । कहिले चित्तल, मृग र घोलरको सिकार गर्दै लोकगीत खोजेँ रे गाउँगाउँ पुगेर लोकगीतकै सिकार पनि गरेँ ।’
बस्नेतले एउटा लोकगीतका लागि बारी गोडिदिए, घाँस काटिदिए र हलैसमेत जोतिदिएका छन् ।
बाह्रबिसेको मानेश्वरमा सिकार खेल्न जाँदा नै उनले ‘काठमाडौँकी नेवार्नी, रुम्जाटारे गुरुङ्नी’ भन्ने लोकगीत सङ्कलन गरेका हुन् । त्यहाँ एक जना गोली लागेका भारतीय बूढा सैनिक थिए । एउटा खुट्टा खोच्याउँदै हिँड्थे । एकपटक उनी तिनकै घरमा वास बस्न पुगेका थिए । तिनीसँगै गाई चराउन गएर यो गीत सिकेका हुन् बस्नतेले ।
सिकार खेल्न जाँदा जमातमा भए पनि उनी लुसुक्क गाउँतिर पस्थे र नयाँ–नयाँ भाकाहरू टिप्थे । आजजस्तो टेपरकेर्ड र मानिसका हातहातमा मोबाइल फोन हुने जमाना थिएन त्यो । गीतका गेडाहरू त याक चुरोटको खोलमा टिप्न भ्याउँथे तर भाका एकैपटकमा कहाँ टिप्न सक्नु ? बुनीबुतो गरेर दुई छाकको गर्जो टार्न हम्मेहम्मे हुने कुनै पनि घरमा हप्तौँ वास दिएर तिनले ज्वाइँको खान्की खुवाउँदै गीत सिकाउने कुरै आउँदैनथ्यो । त्यसमाथि स्थानीयले गीत सिकाएर पाउँथे नै के र ? अनि बस्नेतले एउटा लोकगीतको भाका टिप्नलाई कहिले बारी गोडिदिए, कहिले घाँस काटिदिए अनि कहिले त हलैसमेत जोतिदिएका छन् । ‘दिनभरि उनीसँगै काम ग¥यो अनि बेलुका बिस्तारै फकाउँदै ‘ए बा ! तपाईंले अघि गाएको त्यो गीत नि, सारै मन प¥यो फेरि एकफेरा गाएदिनूस् त !’ भनेर बिन्तीभाउ गरेर मैले कैयौँ लोकगीत सङ्कलन गरेको छु ।’ बस्नेत भन्छन्– ‘सबैभन्दा गाह्रो गीतको ठेट उच्चारण सिक्न हुन्छ ।’ ठेट उच्चारण सिकेर मात्र हुँदैन, त्यसको अर्थ, पृष्ठभूमि पनि बुझ्न सक्नुपर्छ । कसैले यस गीतको अर्थ के हो भनेर सोध्दा भन्न सकिएन भने उल्टै ‘अर्थ न बर्थ गोविन्द गाइ’ पो हुनजान्छ । ‘मैले त्यस बेला धेरै कठिन यात्राहरू गरेँ लोकगीत सङ्कलन गर्न,’ बस्नेत भन्छन्– ‘लोकगीतको नसाले गर्दा बाहिरका मानिसले कहिल्यै पाइला नहालेका गाउँघरसम्म पनि म पुगेको छु ।’
‘कुखुरा काटी भोग दिउँदा कालिन्चोके माई’ यो पङ्क्ति उनले पहिले बलेफीमा सिकेका थिए । त्यहाँका एक धने माझी नामका व्यक्तिसँग उनको सङ्गत हुँदा यो सिकेका थिए । तर गीतको थातथलो रहेछ दोलखा । उनी एकपटक दोलखा सिकार खेल्न पुगेका थिए र वास बसेका थिए एक तामाङ दाइको घरमा । त्यस रात बस्नेत आफूले सिकार गरेको कालिजको झोलसँग ढिडो खाएर सुतेका थिए । मध्यरातमा तामाङ दाइले उनलाई उठाएर माछा मार्न लगे । राती माछाको त्यति जोहो नभएपछि भोलिपल्ट बिहानदेखि फेरि उनलाई तामाङ दाइले खोलाखोला डुलाए । दिनभरिको थकाइले लखतरान भएर साँझ उनी पिँढीको गुन्द्रीमा लमपसार परे र भाका हालेर ‘कुखुरा काटी भोग दिऊँला, कालिन्चोके माई’ गाउन थाले । उनले जानेकै यति थियो, यति नै गाए । अनि तामाङ्नी भाउजूले बीचैमा रोकेर तिमी गाएको मिलेन, यो गीत यसरी गाउनुपर्छ भनेर भाका हालेर गाएदिइन्– ‘कुखुरा काटी भोग दिऊँला, छोरी दिने सासूलाई मोहर राखी ढोग दिऊँला’ । अनि तिनै भाउजूसँग पूरै गीत र भाका टिपे र रेडियो नेपालबाट घन्काए ।
बस्नेत २०२२ सालतिर कोदारी (लामसाँघु) पुगेका थिए– चोरी सिकारी गर्न । त्यहाँ एक जना शेर्पाको घरमा बसेका थिए । त्यसको भोलिपल्ट राजा महेन्द्रको सवारी कोदारीमा भयो । ‘चोरी सिकारी गरेको राजाले थाहा पाएर थुनिदिए भने…’ भन्ने आशङ्काले म थरथर भएको थिएँ,’ बस्नेत भन्छन्– ‘तर मलाई गाउँलेले चिन्ने भएकाले कसैले पोल हालेनन् बरु उल्टै राजाले बोलाएर दर्शनभेट दिए । उनले त्यही बेला सङ्कलन गरेको लोकगीत हो–
उँभो त कोदारी म जाँदा
तातोपानी नुहायो
जेठीले घरबार नहुँदा
कान्छी त खोज्दै आएको
‘मलाई यो लोकगीत तिनै शेर्पाले सिकाएका हुन्, म कोदारीमा हुँदा जसका घरमा वास बसेको थिएँ,’ बस्नते घन्छन्– ‘यो गीत पनि म सिकार खेल्न जाँदा नै सङ्कलन गरेको हुँ ।’
यसरी, सङ्ख्याले सात सयको हाराहारीमा र लाकेप्रियताका हिसाबले जनजिब्रो सुसेली भएका कुमार बस्नतेका अधिकांश गीतहरू सिकार खेल्न जाँदाका सिलसिलामा सङ्कलित भई रेकर्ड भएका हुन् । यस अर्थ उनी सिकारी लोकगायक हुन् । वन्यजन्तुको सिकार खेल्न जति उनी सिपालु छन्, त्यति नै सिपालु छन्– लोकगीतको थातथलो पहिल्याएर तिनको सङ्कलन गर्न ।