दशैँ !
अनगिन्ती अभावमा
भोक बाँचरिहेकाहरू लाई
आहारा बनेर
कहिल्यै बिराम नलाग्ने
दुःख र शोक बोकी हिँडनेलाई
सहारा बनेर
फाटेको, उध्रेको र नपुगेको नाङ्गो आङ्लाई
एकसरो कपडा बनेर
आउनु
बिर्साउन पीडाको एक बिसौनी
थोरै भएर के भयो
अलिकति पर्वको हर्ष
झोलामा अलिकति रहर
एकथान मुस्कान किन्ने पैसा
एक जोर नयाँ लुगासँग
खुसीको फिलिङ्गो जगाएर
रित्तो खल्तिमा
सुखको आशीर्वाद भरिदिन आउनु ।
आध्यारो र अन्योलमा
गुमेका छन् थुप्रै खुशीहरू
छुटेका छन् साथ र विछोडिएका छन् आफन्तहरू
निराशछन् मन मस्तिष्क
अत्यास भोगिसकेका छन् जीवन
अस्तव्यस्त संसारमा
शिथिल भै दुखेको धेरै भो
उराठ बनेर मन छटपटिएको धेरै भो
अझै बाँचिरहेको छ त्रासद समय
धेरै भयो सन्तोषले सास नफेरेको
त्यही घाउहरूको दुखाइमा
मालश्रीको मधुर धुन भएर
पीडा बिर्साएर हर्ष सजाउन
मलम बनेर आउनु
उत्साह बनेर गाउनु
विगतले एक्लो पारेको दशैँको दुरी
मेटाउन
मिलनका जमरा र टीका सजाउँदै
आपसी सद्भाव र प्रेम बाँढन
हजुरबा आमाका आशीर्वादहरू बोकेर
लिङ्गे पिंगको मचाईहरूमा
बर्षाैं पहिले छुट्टिएका आफन्तहरूको भेटका
मिठा मिठापल बनेर
आशीर्वाद र मिलनको संगममा
पर्वको सौन्दर्य बनेर
जीवन शृङ्गार्न आउनु
यही जीवन रमाउने आँगन सजाउन आउनु
दशैँ तिमी सबैलाई आशिर्वाद र शुभकामना भएर आउनु ।
सुमन वर्षा, काठमाडौँ
[email protected]