कविता
काठमाडौँ
शिक्षा एवं समाजसेवी उपेन्द्र पोखरेल र उनकी धर्मपत्नी दुर्गा पोखरेलको सम्झनामा स्मृतिग्रन्थ सार्वजनिक गरिएको छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र संकायका डिन प्राध्यापक दुबिनन्द ढकाल, पूर्वराजदूत राजेश्वर आचार्य लगायतले संयुक्त रुपमा ‘दुर्गा–उपेन्द्र स्मृतिग्रन्थ’ लोकार्पण गरे ।
स्मृतिग्रन्थमा शिक्षा र समाजसेवाका क्षेत्रमा उपेन्द्र पोखरेलको योगदान र त्यसमा अर्धांगिनीका रुपमा दुर्गाको ढाडसबारे साथी, आफन्त र विज्ञ व्यक्तित्वहरुले चर्चा गरेका छन् । स्मृतिग्रन्थमा समेटिएका ९५ वटा आलेखमा दुर्गा–उपेन्द्रको जीवन र उनीहरूसँगको साथ–सम्झनालाई स्मरण गरिएको छ ।
साहित्यकारसमेत रहेका उपेन्द्र पोखरेलले लामो समय त्रिभुवन विश्वविद्यालयअन्तर्गत धनकुटा क्याम्पसमा प्राध्यापन गरेका थिए । दुर्गा पोखरेल विशेषगरी समाजसेवामा सक्रिय थिइन् । कार्यक्रममा स्मृतिग्रन्थमाथि समीक्षा गर्दै प्राध्यापक अञ्जना वस्ती भट्टराईले स्मृतिग्रन्थले उपेन्द्र र दुर्गाले बाँचेको युगलाई जीवन्त चित्रण गरेको जनाइन् ।
कार्यक्रममा पूर्वराजदूत तथा उपेन्द्रका समवयी राजेश्वर आचार्यले स्मृतिग्रन्थको चर्चा गर्ने क्रममा उपेन्द्र पोखरेलको विनोदप्रियता, सकारात्मक सोच र सहयोगीपनको प्रशंसा एवम् स्मरण गरे । लोकार्पण कार्यक्रमको सञ्चालन दुर्गा–उपेन्द्रकी छोरी तनुजा पोखरेलले गरेकी थिइन् । उक्त स्मृतिग्रन्थ दुर्गा–उपेन्द्र स्मृतिग्रन्थ प्रकाशन समितिले संयोजन एवं प्रकाशन गरेको हो ।
