• २०८१ श्रावाण ४ शुक्रबार

प्रश्नः दिउँसो सुतेर उठ्दा र गोमा

गोमा उपाध्याय

गोमा उपाध्याय

बिम्झें फेरि अनेक भूलहरुको आगार यो देहमा
आयो चेतनता अहो जलि जली बस्नू छ मैले यहाँ
मीठो नींद उडेर वास्तविकता कालो कडा रङ् चढ्यो
ऐय्या यो मुटुभित्र तीक्ष्ण सुइ ली चिन्तापरीले डस्यो ।

के हो जीवन ? फेरि तुल्बुल यहाँ फोकासरी भो किन ?
के हूँ? जान्छ कहाँ ? कसो पछि हुने ? वेदान्त क्यै जान्दिन ।
खाली जान्दछु उठ्छ पीर मनमा सोला कुनै भित्र छ
कुन्नी कुन दिनको कठोर बिपना आई ममा घुर्दछ ।

हाँसो क्षण्भरको म बेच्छु दिनहूँ कयौं यहाँ गाहक
बिक्छन् खूब प्रशस्त किन्तु किन हो हाँसो ममा शून्य छ
मेरो जीवनको विचित्र गति भो अज्ञान संगी बनी
थाहा केहि भए बताउ कविजी, कस्तो म हूँ कामिनी ?

त्याँ रुख्मा बसि चील त्यो कुन कुरा सम्झी रहेको भन
त्यस्को जीवनमा पनी छ कि कहीं मेरै सरीको मन ?
मैदान् विस्तृत व्योमको छ उडने त्यस्का पखेटाहरू
यस्तो भैकन ढुक्छ फेरि किन त्यो बूढो मसाने तरु ?

शारदा, ४्र१२, चैत्र १९९२


गोमा उपाध्याय