• २०८१ असोज २८ सोमबार

शरदको शोभा

ऋषभदेव घिमिरे

ऋषभदेव घिमिरे

प्रिय शरद !
तिमी
असङ्ख्य आशिष्का लठ्ठाहरू बाट्दै
चाडको रमाइलो आँगनमा लिङ्गे पिङ बन्छौ
बन्धनको अक्षता र उत्साहका जमरामा
सुख शान्ति भएर बढ्छौ
पूजा र प्रार्थनाका एकात्म भावले
भक्तिको बन्धनमा कसिन्छौ
साँझ बिहान
मधुर मालश्री भै गुनगुनाउँछौ र
खुसियाली बाँडदै
सिकाउँछौ पीडालाई पनि मुस्कुराउन
बनेर शरदको भव्यशोभा ।

पिङका हरेक सर्काहरूमा
दुःखले धर्ती छाडछन्
आकाशको नजीक पुगेर
बिर्सेर कालो मैलो मनहरू रमाउँछन्

पर्वका यी वासन्ती बागमा फुलेर
निधारमा टिका र शीरमा जमरा मुस्कुराउँछन्
रमझममा गाउँ शहर
सबैकुरा भुलेर उमङ्गमा गुनगुनाउँछन्
अँध्यारो जीवनमा पनि
दशैँका उज्याला आशीर्वाद चमचमाउँछन्

मंगलधुन जस्तै सुमधुर ध्वनिमा
बजाउँदै खुसीको वीणा
समयले गाओस  मालश्री धुन
पिङको लठारोमा बाँधिएर पुर्खाको संस्कारले
निरन्तरता पाओस  युगयुगसम्म चऽऽचऽऽ.. हुई
कवच, अर्गला र किलकका मन्त्रोच्चारणले
बाह्य अभ्यान्तर बनिरहोस् पवित्र
अक्षता मुस्कुराओस जमरा जिस्कियोस्
पुलकित बनाउदै मनको सुन्दर आँगनमा
उमंग र उत्साह लिएर
सरलताले भव्य
शालिनताले दिव्यभै
रंगिन बनेर खुलोस् शरदको शोभा
बडा दशैँको शुभकामना !!


ऋषभदेव घिमिरे
[email protected]