• २०८१ माघ २७ आइतबार

नेपाली इतिहासका साक्षी मदनदेव

लक्ष्मी उप्रेती

लक्ष्मी उप्रेती

जो व्यक्ति आफू र आफ्नो परिवारभन्दा माथि उठेर सामाज कल्याणको मार्गमा अग्रसर भएर काम गर्दछ त्यस्ता व्यक्तित्वहरू प्रेरणाका श्रोत हुन्छन् । कर्मले अमरहुने अनुकरणीय र उदाहरणीय व्यक्तित्वहरू कुनै न कुनै रूपमा इतिहासमा अङ्कित हुन्छन् । अनि इतिहासका पानाबाट पछिल्ला पिढीले त्यस्ता व्यक्तिका जीवनयात्राका सन्दर्भ र त्यस कालखण्डका चित्रहरू अनुमान लगाउँछन् । त्यस्ता व्यक्तित्वहरू मध्ये मदनदेव भट्टराई पनि एक हुन् । नेपाली साहित्यिक पत्रकारिताका क्षेत्रमा विशिष्ट योगदान दिने व्यक्ति मदनदेव भट्टराईको साहित्यिक व्यक्तित्व पनि उत्तिकै महत्वपूर्ण छ । विविधविधाका लगभग एक दर्जन कृति नेपाली साहित्यिक जगतलाई दिने तथा रत्नश्री जस्तो साहित्यिक पत्रिकाको सम्पादन तथा प्रकाशन गरी नेपालीभाषा साहित्यको सेवागर्ने बहुमुखी प्रतिभाका धनी मदनदेवको व्यक्तित्वका विविध आयमहरू छन् ।

वि.सं १९८५ साल कार्तिक २२ गते बुधबार रमा एकादशीका दिन माता प्रेमकुमारी र पिता स्व.लप्टन बलदेव प्रसाद भट्टराईज्यूका जेष्ठ सुपुत्रका रूपमा जन्म भएका मदनदेव भट्टराईलाई राजनीति र साहित्यमा कलिलै उमेरदेखि रुचि हुँदै गयो । विद्यार्थी कालदेखि अर्थात २०/२१ वर्षको उमेर देखि नै प्रजातान्त्रिक आन्दोलनमा लागी पर्ने भट्टाराई वि.सं.२०२० साल देखि रत्नश्री जस्तो साहित्यिक पत्रिकाको सम्पादन र प्रकाशन गरी आफ्नो छुट्टै इतिहास निर्माण आफैले गरी १८४ अङ्कसम्म प्रकाशनमा आएको साहित्यिक पत्रिका रत्नश्रीको पनि विशिष्ट इतिहास रहेको कुरा सबैमा जगजायर नै छ । त्यस्तै लगभग २५ वर्षसम्म हिमाली सन्देश साप्ताहिकको सम्पादन कार्यमा उनले गरेको योगादान पनि उल्लेख्य रहेको छ । दरबार कलेज, डिल्लीबजार कन्या क्याम्पसको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरी शैक्षिक क्षेत्रको उन्नयन र विकासमा उनले गरेको योगदान अनुकरणीय र स्मरणीय छ । प्राध्यापन क्षेत्रमा शिक्षाको उज्याले बाटो हिडाउने एक आदर्श व्यक्तित्वका रूपमा सङ्लनता रहयो ।

इतिहासको पद्चापलाई टपक्क टिपेर लेख्न सक्ने मदनदेव भट्टराईका संस्मरणका कृतिहरूले एउटा कालखण्ड र त्यस बेलाको परिस्थितिको साक्षी छ भन्दा अनर्थ नहोला । युग चेतनाको संवाहक बनेका उनका लेखहरूबारे मेरो पाठक चेतले बुझेका केही कुरा प्रस्तुत गर्ने प्रयत्न गर्दैछु । मदनदेव भट्टराईका संस्मरणहरू भाग १, २०५३ मा प्रकाशित कृति हो । राजुदेव भट्टराई द्धारा सङ्कलन र सम्पादन गरेर प्रकाशनमा आएको उक्त कृतिको आकार सानो छ तर त्यसभित्र प्रस्तुत विषयहरू इतिहासका दस्तावेजका रूपमा लिन सकिन्छ । त्यसैले यो कृति नेपाली साहित्यका पाठकका लागि मात्र नभई समग्र नेपालीहरूका लागि पनि महत्त्वपूर्ण छ भन्दा अतिसयुक्ति नहोला ।

हृषिकेश शाह, डा. केशरजंग रायमाझी, श्रीभद्र शर्मा, विश्वबन्धु थापाआदिको अभिमत रहेको यो पुस्तकमा छ वटा शीर्षकका रचनाहरू सङ्कलित छन् । जम्मा क्रमशः १० दुई अविस्मरणीय व्यक्तित्व दशरथ चन्द्र र धर्मभक्त २० वि.पी.को फर्मुला र म ३० श्री ५ त्रिभुवन र ४ नारायण ४० मदनजी, १२ दिनपछि म तपाईलाई आफैँ बोलाउँछु ५० पुस १ गतेको कदम र जनरल सुवण ६० पुस १ गतेको कदम र सूर्य प्रसाद उपाध्याय शीर्षकका महत्त्वपूर्ण एतिहासिक सन्दर्भका संस्मरण यस कृतिभित्र रहेका छन् ।

यी शीर्षकहरूले नै इतिहासका पदचापहरू पछ्याउँछन् । यस कृतिका रचनामा दशरथ चन्द्र, धर्मभक्त, वि. पी., बलदेव, रुद्र शमशेर, गोविन्द प्रसाद लोहनी, अरविन्दनाथ रीमाल, डी.एनप्रधान, भरत शमशेर, बालचन्द्र शर्मा, डा.केशर जङ रायमाझी, श्री ५ त्रिभुवन, टङ्क प्रसाद आचार्य, ऋषिकेश साह, डिल्ली रमण रेग्मी, डा. के आई सिंह, कृष्ण प्रसाद भट्टराई, तुलसी गिरी, विश्वबन्धु थापा, दमन ढुङ्गाना, सूर्य प्रसाद उपाध्याय, सुवण शमशेर, श्री ५ महेन्द्र, मातृका प्रसाद कोइराला जस्ता नेपाली राजनीतिका महारथिहरू समेटिएको छ भने अन्य व्यक्तित्वबारे केही सन्दर्भिक कुरा कुनै न कुनै रूपामा उल्लेख गरिएका छन् । व्यङ्ग्य मिश्रित साथै मार्मिक भावमा रचिएको यसका लेखहरू नेपाली इतिहासको कालखण्डको थुप्रै महत्वपूर्ण तथ्यहरू प्रस्तुत भएका छन् ।

दुई अविस्मरणीय व्यक्तित्व दशरथ चन्द र धर्मभक्त शीर्षकमा नेपाली माटोका दुई श्रद्धेय व्यक्तित्व अमर सहिद दशरथ चन्द र धर्मभक्तका केही रोचक, केही मार्मिक सन्दर्भहरू लिपिबद्ध गरी यस कृतिमा प्रस्तुत भएका छन् । त्यस समय र परिस्थितिको साक्षी भएर एतिहासिक दस्तावेज रच्ने मदनदेवले आफ्नो जीवनकालमा १९९७ साल, २००७ साल र २०१७ साल र पछिल्लो राजनीतिक कालखण्डको अनुभव बटुलेर त्यो युगसँग हातेमालो गरेको पाईन्छ । आफू बाँचेको एतिहासिक युगका महत्त्वपूर्ण व्यक्ति तथा घटना, परिघटनाका संस्मरणहरूलाई साहित्यिक भावमा लिपिवद्ध गरी जीवनबाँच्ने मदनदेव उचाईको पहाड छिचोल्न सक्ने जीवनवादि सर्जकको रूपमा लिन सकिन्छ ।

स्रष्टा भट्टराईका पिता लप्टन बलदेव भट्टराईका बाल सखा दुई अविष्मरणीय व्यक्तित्व दशरथ चन्द्र र धर्मभक्त दशरथ चन्दको जीवन पद्धति, स्वभाव र खानपिनको स्वाद अनि दशरथ चन्दको जीवनको अन्तिम क्षणको भावुकताका केही प्रसङ्गका संस्मरणले पाठकलाई निकै महत्व राख्नेछ । दशरथलाई मामाका रूपमा सम्झने प्रिय भान्जा आफ्नो ५ वर्ष उमेरमा १९९० सालको जनै पूर्णिमाका दिन मामाघर जानलाग्दा दशरथले घोकाएको उटिपट्याङ ढट्यौलीमन्त्रको रमाइलोबाट पाठक निकै रोमाञ्चित हुन्छन् । त्यस्तै १९९७ सालमा प्रजापरिषद काण्डमा समातिएका दशरथको प्रसङ्गले पाठकलाई भावुक बनाउँछ । एकातिर दशरथको जीवनको चिन्ता र अर्कातिर आफ्ना पिताजी पनि दशरथको बयानमा पोलिने हुनकि भन्ने व्याकुलता र त्रासले विचलित भएको सन्दर्भ र त्यसपछि पिता नपोलिएकामा खुृसी सँगै दशरथलाई गोली हानेर हत्या गर्दा परिवारलाई परेको चोटका पीडादायी अभिव्यक्ति बढो मार्मिकताका साथ प्रस्तुत भएको यो ऐतिहासिक दस्तावेजका रुपमा पछिल्लो पिढिका लागि उपयोगी हुने छ ।


लक्ष्मी उप्रेती


ऊख