• २०८२ बैशाख ५ शुक्रबार

पाथीभरा (ताप्लेजुङ्): ‘स्वर्ग टाढा छैन ।’

ईश्वर पोखरेल

ईश्वर पोखरेल

परिवार र आफन्तजनका बीचमा पाथीभरा (ताप्लेजुङ्) दर्शन गर्न जाने कुराको उठान भएछ । सक्षमको त भाकल पनि रहेछ । यात्रामा बढी चाख राख्ने उसको दाजु हो- सार्थक । सार्थक र सक्षमका बीचमा दसैंअघि नै पाथीभरा जाने विषयमा सामान्य कुराकानी भइसकेको रहेछ । कुरा उनीहरूका आमाहरूका बीचमा पनि भएछ । अलिपछि त यो विषय यी दुवैका मामामाइजूसम्म पनि विस्तार भएछ । अनि कविता आफ्ना दुई छोरीसहित दसैंअघि नै बाँसबारी (बुढीगंगा ३, मोरङ्ग) जाने, मामामाइजू पनि दसैंको एकादशीकै दिन आमा/सासूआमाको हातको टिका थाप्न बाँसबारी पुग्ने र यता हाम्रो परिवारबाट त्रियोदशीको दिन बाँसबारी पुग्ने र भोलिपल्ट पाथीभराको तीर्थयात्राका लागि निस्किने तय भएछ । यी दसैंअघिका कुरा रहेछन् । अझ भनौं, बाढीले वी.पी लोकमार्ग र अन्य लोकमार्गमा विध्वंस मच्चाउनुभन्दा अघिका कुरा रहेछन् । (तीर्थयात्राका कुरा परिपक्क भइसकेपछि मात्र मेरो जानकारीमा आउने गर्दछन् । यस तीर्थयात्राका कुरा भने कतिपय बातचितबाट मैले पनि सामान्य सुइँको पाएको थिएँ ।)

बाढीको बबन्डरपछि एकप्रकारले यो विषय सेलाए जस्तै भयो । बाढीले मोटरबाटो बिगारेको/बगाएको हुँदा उपत्यकाबाट बाहिर निस्किने अवस्थै रहेन । तैपनि कान्छी छोरीको नागरिकता बनाउनु पर्ने सन्दर्भसमेत गाँसेर कविता छोरीहरू सहित बाँसबारी गइन्; हामी यतै रह्यौं । बाँसबारी पुगेर पनि सक्षमले सार्थकलाई यो तीर्थयात्राका लागि घच्घच्याउन छाडिनछे । एकदिन ऊ निर्णायक मुडमा देखियो । भन्यो- ‘त्रियोदशी (असोज २९ गते) का दिनको प्लेनको टिकट लिऊँ क्यारे । मावलमा हजुरआमाको हातको टिका र आशिर्वाद थाप्न पनि पाइन्छ; पाथीभरा पनि पुगिन्छ ।’

माइत जाने र वृद्ध आमाको हातबाट दसैंको टिका थाप्ने कुराले कौशु उज्यालो देखिइन । यात्रामा नरमाउने को होला ? पोहोर यिनताका हामी सिङ्गापुर र मलेसियाको ११ दिने पारिवारिक भ्रमणमा थियौं । तीन दिनसम्म सिङ्गापुरका गार्डेन्स बाइ द बे, मरिना बे, सेन्टोसा आइल्यान्ड, लिटिल इन्डिया, हाजी लेनका प्राकृतिक र साँस्कृतिक दृश्यावलोकन गरेर हामी बसबाट मलेसिया प्रवेश गरेका थियौं । यात्रा क्रममा पोहोर हामीले ऐतिहासिक शहर मलेकामा तीन दिन र साँस्कृतिक शहर पेनाङको जर्जटाउनमा दुई दिन घुमफिर गरेर क्वालालाम्पुर फर्किएका थियौं । यही क्रममा हामी विश्वप्रशिद्ध बटुक कैभको दर्शनमा पनि गएका थियौं । यसपटक पाथीभरा जाने अवसर सामुमा आयो; किन चुकूँ ? मैले पनि ‘हुन्छ’ जनाउने गरी टाउको हल्लाएँ । तत्कालै पारिवारिक सहमति भयो । जेठो छोरो सम्यकले ‘मेरो काम छ; म यसपटक भ्याउँदिनँ’ भनेर हात झिक्यो । मैले यो निर्णय घरमा आमालाई, भाइहरूलाई र परिवारका अन्य सदस्यलाई जानकारी गराएँ । यात्राका लागि आमाबाट आशिर्वाद र सबैबाट सहमति, शुभकामना र सद्भाव प्राप्त भयो । अनि तीनजनाको दसैंको त्रियोदशीका दिनको विराटनगरको प्लेनको टिकट लिइयो । त्यही दिन उड्ने गरी उता भाउजूले पनि टिकट लिनु भएछ ।

सार्थक मोटर रिजर्ब गर्नेतिर लाग्यो । सागर बस्नेत उसको कलेजको साथी । ऊ धरानमा थियो । हालै संखुवासभामा सरुवा भएछ- उसको । सागरकै मामाको साथीको गोठगाउँमा रहेछ- स्कार्पियो । कहिले ड्राइभरले हाँक्ने, कहिले मोटरधनीले नै हाँक्ने । मोटरघनीसंगै कुराकानी गरयो सार्थकले । लगत्तै कुरा पक्कापक्कीमा पुगी हाल्यो । सार्थकले हामीसंग भन्यो- ‘असोज ३० गते बिहान ४ बजे स्कार्पियो बाँसबारी आइपुग्छ । हामीले त्यही किसिमले तयारी गर्नु पर्छ ।’ पोहोर छिमेकी जीतबहादुर सापकोटा सर परिवार सहित जानु भएको थियो- पाथीभरा । ‘उकालोमा केटाकेटी हिड्न सकेनन्’ भन्नु भएको थियो- सापकोटाजीले । उहाँको कुरा सुन्दा यात्रा कठिन हुने अनुमान भयो । उकालोमा हिड्ने अभ्यास नभएका केटाकेटीहरू हिड्न सक्दैनन् कि जस्तो पनि लागि हाल्यो ।

मैले मोनिङ्गवाक्मा साथीहरूका बीचमा यस यात्रा प्रसंगलाई प्रवेश गराएँ । राजन थापा सर केही वर्षअघि परिवारसहित जानु भएको रहेछ- पाथीभरा । ‘कतिपयलाई लेक लाग्यो । कोही बोकिएर गए । म चै कान्छो छोरालाई काँधमा बोकेरै पुगेको हुँ । यसपटक बाढीले कति क्षति गरेको छ ? त्यो भन्न सकिने कुरा भएन । अन्यथा सरहरूको यात्रा सहज सम्पन्न हुन्छ ।’ राजन सरले भन्नुभयो ।
अलिकति आँट आयो ।

भान्जीबुहारी विनिता अधिकारीको माइतीघर तेह्रथुम । उनले भाइलाई फोन लगाइन् । बाटाको अवस्था मोटरका लागि अनुकूल नै रहेको मोटामोटी जानकारी भयो । यसपटक भाइ टंक/रमेश सिटौला परिवारका समग्र सदस्यसहित पहाड घर ताप्लेजुङ्ग गएको जानकारी उनीहरूको फेसबुक पेजबाट खुलेको थियो । टंकसंग फोन सम्पर्क गर्न खोजें, सम्पर्क त भयो तर टावरको खराबीले गर्दा उचित स्तरमा जानकारी प्राप्त हुन सकेन । तर हामी के कुरामा ढुक्क भयौं भने, सडकको अवस्था त्यो परिवार र ती केटाकेटी ताप्लेजुङ्ग पुग्न सक्ने स्तरको रहेछ ।

हामी २९ गते साँझमा बाँसबारी पुग्यौं । बाँसबारीमै भेट भयो- कविताहरू र भाउजूसंग । बेलुकै हामीले टिका लगायौं/लगाइदियौं । यात्राका लागि हाम्रो परिवारबाट म, श्रीमती कौशल्या र कान्छो छोरा सार्थक गरी तीनजना, साली कविताको परिवारबाट कविता आफै र छोरी सक्षम गरी दुईजना अनि कौशु/कविताकी भाउजू रमा दाहाल समेत गरी जम्मा ६ जना तीनबजे उठ्ने मानसिक तयारीका साथ सुत्यौं । ३० गते विहान ४ बजे नै आइपुग्यो- मोटर । ड्राइभरको सिटमा थिए- मोटरधनी गोठगाउँका फणीन्द्र दाहाल आफै । मैले ठट्टा गरें- ‘दाहालका छोरी बुहारीको भीडमा हामी पोखरेल र अधिकारी उसै अल्पमतमा थियौं । तपाईं अर्को दाहाल थपिनु भो । अब दाहालको प्रचण्ड बहुमत भयो । हामीले त अब नबोले पनि भयो ।’ हल्का रमाइलो भयो ।

भाउजूले भन्नुभयो- ‘मोटरधनी आफले हाँक्ने रहेछन्- मोटर । यो यात्रा ढुक्कको हुने भयो ।’ वास्तवमै यिनको ड्राइभिङ्ग परिपक्क र सन्तुलित थियो । यो छनक हामीले इटहरी पुग्दा नपुग्दै पाइसकेका थियौं । केही दिनअघि यिनको डाढ सड्किएको रहेछ । त्यसैले यी आफू भने शारीरिक रूपमा अलिक असहज अवस्थामा थिए ।

हाम्रो टिममा दमकभन्दा पूर्व गएको भाउजू मात्र हुनुहुन्थ्यो । त्यसैले यात्रामा देखिने दृश्यका लागि हामी सबैका आँखा जिज्ञासु थिए । हिजो बेलुका पानी परेको रहेछ- झापातिर । सडकछेउका खोबिल्टाहरूमा पानी जमेको देखिन्थ्यो । झापाको चारआलीबाट इलामतिर सोझियो- हाम्रो यात्रा । चियावारीका सुन्दर दृश्य हेर्दै हामी उकालो लाग्यौं । अलिमाथि पुगेपछि सडकका तलमाथि अम्रिसै अम्रिसो । सिन्धुलीतिर किसानहरू अम्रिसोलाई भैसीका लागि राम्रो घाँसका रूपमा पहिचान गर्दछन् । त्यताका जंगलमा अम्रिसो खोल्सा र ओसिलो क्षेत्रमा कतैकतै मात्र पाइन्छ । यतातिर भने अम्रिसै अम्रिसो हुँदोरहेछ ।

हामी इलाम बजार पस्न पाएनौं । इलाम बजारलाई वायाँ पारेर धुँइकियौं । मेरो विहान सात बजेको आसपासमा सामान्य खाजा खाने बानी छ । भोकभोक लाग्यो । इलाम बजार हेर्ने यो उचित निहुँ हुनसक्थ्यो; चुकिएछ । इलाम बजारभन्दा केही अगाडीको माई खोलाकिनारको सानो कोप्चो बजारमा खाजा खायौं- हामीले । अनि घुँइकियौं । पानी परेर बाटो बिगारी दिन्छ कि भन्ने डर । समयमा ताकेको बासमा पुग्न सकिदैन कि भन्ने डर । यात्रामा यस्ता डरले घुँइकिन प्रेरणा दिने रहेछन् । पाथीभराका तीर्थयात्रीले काबेली नदीमा जल चढाउनु पर्ने रहेछ । यहाँको जल पाथीभरामा चढाउन लिएर जानु पर्ने पनि रहेछ । हाम्रो टिमले पनि यहाँ जल चढायो । मिनरल वाटरको बोतलमा एक बोतल जल हामीले पनि बोक्यौं ।

पाँचथर जिल्लाको सदरमुकाम फिदिम पुग्दा हामी भोकाए जस्तै भयौं । हामी खाजाको परिकारमा सन्तुष्ट भएका थिएनौं । त्यसैले खाना चै अलिक विविधतायुक्त स्तरीय होटलमा खानु पर्छ भन्ने हाम्रो मत थियो । तर होटल विचार गर्दागर्दै हामी फिदिम बजारको पुछारमा आइपुगेछौं । मास्तिर फर्किने कुरा हुन सक्दैनथ्यो ।
अनि फेरि घुँइकियौं ।

दसैंअघिको बर्साद्ले यस क्षेत्रमा पनि प्रशस्तै सडक बिगारेको रहेछ । बाटो भत्किएको र पहिरो गएर बाटाफेमा क्षति पुरयाएको त कति देखियो, कति । यहाँ फिदिम पर्तिर एउटा पहिरोले पाँच घुम्तीसम्म सडकलाई क्षती पुरयाएको पनि देखियो । यस यात्रामा हामीले देखेको सबैभन्दा ठूलो पहिरो यही थियो । यो पहिरोले पुरयाएको क्षती त्यतिबेला हामीलाई सामान्य लाग्यो; जब बाढीले हेवा खोलाको पुल नै नामोनिसाना नरहने गरी बगाइ दिएको हामीले देख्यौं । हामीले यस यात्रामा ड्राइभर्सनबाट हिड्नु परेको हेवा खोलामै हो ।

गोपेबजार: पाँचथरको नामी बजार । हामीले यही गोपेबजारमा विहानको खाना लगभग एक बजेतिर खायौं । यता होटलमा तयारी अवस्थामा खाना पाइदो रहेनछ; ग्राहकले अर्डर गरेपछि मात्र खाना पकाइदो रहेछ । त्यसैले पनि गोपेबजारमा हाम्रो खानपिन अलिक ढिलो भयो । यात्राका यस्ता अवस्थासंग यात्रुले सम्झौता गर्नै पर्छ । गोपेबाट हामी ताप्लेजुङ्तिर उक्लियौं । फुङ्लिङ् बजार पुग्दा लगभग तीन बजेको थियो । यहाँबाट तल्लो फेदीसम्म लोकल गाडीमा यात्रा गर्नुपर्ने । हामी स्कार्पियोबाट उत्रियौं । फुङ्लिङ्बाट तल्लोफेदीसम्म पुग्न मोटरमा हामीलाई झन्डै दुई घन्टा लाग्यो । यहाँ बर्साद्ले सडक यसरी बिगारेको थियो; मोटरभित्र बस्नभन्दा मोटरबाट उत्रिएर हिड्न मन लाग्ने ।

तल्लोफेदीलाई तल्लो काफ्ले फेदी पनि भनिदोरहेछ । यहीबाट प्रारम्भ हुनेरहेछ- पाथीभराका तीर्थयात्रीको पैदल यात्रा । अब उकालो हिड्नु पर्छ । कतिपय तीर्थयात्री यही तल्लोफेदीमै बास बसेर भोलिपल्ट बिहान उकालो उक्लिने पनि गर्दा रहेछन् । कतिपय तीर्थयात्रीले यहीँ किन्दा रहेछन्- देवीलाई चढाउन फूलपाती । फूलपाती किनेपछि जनही एउटा लौरो प्राप्त हुने । मैले हिड्दा अहिलेसम्म लौरो टेकेको थिइनँ । यहाँ अनुभवका लागि पनि लौरो लिएँ । हिड्दैजाँदा थाहा भयो- लौरोले यस उकालो यात्रालाई केही सहज बनाइ दिने रहेछ ।

यो उकालो केही उक्लिएका मात्र थियौं; भाउजूलाई लेक लाग्यो । कविता उसै पनि विरामी जस्तै थिइन् । भाउजू र कविताले बोकेको झोला प्रतिकिलो ५०/- दिने गरी बोक्न दिएर हामी बिस्तारै उकालो लाग्यौं । माथिल्लोफेदी वा ठूलो फेदी वा माथ्लो काफ्ले फेदीमा हामी लगभग सात बजे पुग्यौं । यहाँ पनि खानाका लागि होटलमा अर्डर दिनु पर्ने । बासका लागि एकजनाको भागमा लगभग ५००/- पर्ने रहेछ । यहाँ बास बस्दा होटलमा ट्वाइलेट पर्याप्त संख्यामा छ कि छैन भन्ने विषय र विहान नुहाउन तातोपानीको व्यवस्था छ कि छैन भन्ने विषयमा ध्यान दिनुपर्ने रहेछ । खानपान र बसोबासको ढङ्गढाँचा सबैजसो होटलमा उस्तैउस्तै नै हुँदोरहेछ ।

हामी २०८१ सालको कार्तिक १ गते बिहान ३ बजे पाथीभरा यात्राक्रममा ठूलो फेदी वा माथिल्लो काफ्ले फेदीमा ब्युझियौं । अब तातोपानी पिउने, नित्यकर्म सक्ने र नुहाएर उचित पोसाकमा उकालो लाग्नु थियो । हामीबीच आज भने भाउजू फर्तिली देखिनु भयो । उहाँ नित्यकर्म र स्नान सकेर साढेँतीन बजे नै उकालो लाग्नु भयो । बाँकी हामी भने चार बजेपछि उकालो लाग्यौं । झोला हामीले बास बसेकै होटलमा छाडेका थियौं । काँधमा भारी नभए पनि उकालोले फतक्क गलाई हाल्थ्यो । स्वासप्रस्वासमा तीव्रता आउँथ्यो । तर यात्रामा आफूभन्दा पाको उमेरका व्यक्ति पनि थिए । बालबालिका पनि थिए । कतिपय विरामी जस्ता मानिस पनि हिडिरहेका थिए । एकजना महिला झण्डै तीन वर्षको छोरो बोकेर हामीसंगै उकालो उक्लिदै थिइन् । मैले कौशुसंग भनें पनि- ‘आमालाई छोराछोरी भारी लाग्दैनन् क्यारे !’ यही यात्रामा कतिपय भरियाहरू तीर्थयात्रीलाई पिठ्युमा बोकेर उक्लिरहेका थिए । यी सबै देख्दा उकालो उक्लिन प्रेरणा प्राप्त हुन्थ्यो ।

यस उकालोमा प्रशस्तै विश्राम स्थलहरूको व्यवस्था रहेछ । यो राम्रो हो । यहाँ यी विश्राम स्थल निर्माण गरिदिएपछि निर्माणकर्ताले आफ्नो नाम, ठेगाना र आफ्ना बाबुबाजेको नाम लेख्न पाउने सुविधा पनि रहेछ । यस्तो व्यवस्थाप्रति भने कतिपय तीर्थयात्रीले आलोचनात्मक टिप्पणी गरेको पनि पाइयो । ‘यो दानदातव्य हो कि, समाजसेवा हो कि अलिकति खर्च गरेर आफ्नो र परिवारको आत्मविज्ञापन मेलो हो ? राज्यले अन्य नागरिकले पनि यस्तो गर्न खोजे भने यस्तो ‘रहर’लाई कति र कहिलेसम्म स्थान दिन सक्ला ?’ केही बौद्धिक तीर्थयात्रीहरूको टिप्पणी सुनिन्थ्यो । उकालोमा केही संँख्यामा शौचालय पनि रहेछन् । तर प्रयोग गर्न नसकिने अवस्थाका । शौचालयमा पानीको व्यवस्था नै रहेनछ ।

उकालोमा ठूल्ठूला घन्टीहरू छन् । तीर्थयात्रीले यी घन्टी बजाइ दिन्छन् । घन्टीको ध्वनि सुन्दा उकालो सकिनै लागेछ भन्ने भानमा तीर्थयात्री केही खुशी पनि हुन्छन् । यो हावाहुरी चल्ने, बढी वर्षा हुने र धेरै चट्याङ्गको क्षेत्रको रूपमा चर्चामा रहेछ । पोहोर पाथीभराको तीर्थयात्रामा जानुभएको साथी हरि काफ्लेले फेसबुकमा टिप्पणी गर्नुभएको थियो- ‘हामी जाँदा पानी परयो, हावा हुरी पनि चल्यो । तपाईहरू पुगेको दिन भने छ्याङ्ग खुलेको रहेछ । रमाइलो दिन पुग्नु भएछ- पाथीभरा ।’ बिहान साढेँतीन बजे हामीसंग छुट्टिएर उकालो लाग्नु भएकी भाउजूलाई हामीले पाथीभराको प्रवेश द्धारमा विश्राम गर्दै र हाम्रो बाटो हेर्दै गरेको अवस्थामा भेट्यौं । हिजो बेलुका भाउजू उकालो चड्न सक्नु हुन्न कि भन्ने हामीबीच जुन आशङ्का थियो; भाउजूले सबैभन्दा पहिले चुलीमा पुगेर त्यस आशङ्काको सटिक जवाफ दिनु भएको थियो ।

पाथीभरालाई लिम्बू भाषामा ‘मुकुम्लुङ’ भनिन्छ । ताप्लेजुङ लिम्बूबहुल क्षेत्र पनि हो । पाथीभरा देवीको पूजा स्थल समुन्द्र सतहबाट ३७९४ मिटर उचाइमा रहेको छ । देवस्थल भन्ने बित्तिक्कै हामी मन्दिरको कल्पना गर्दछौं; यहाँ मन्दिर जस्तो कुनै संरचना छैनन् । पाथीभरामा खुल्ला स्थानमा देवीका प्रतिमाहरू छन् । भक्तजनले यिनै प्रतिमाहरूमा पूजा आराधना गर्दछन् र आफ्नो आस्था प्रकट गर्दछन् । यहाँ पौडेल र भट्टराई थरका दुई पुजारी छन् । यहाँ वली दिने व्यवस्था पनि छ । तीर्थयात्रीले सन्तुष्ट हुने किसिमले यहाँ देवीको पूजाआराधना गर्न पाउने व्यवस्था रहेछ । सुरक्षा व्यवस्था पनि राम्रो रहेछ । ‘रुटिङ् अफ नेपालबन्द’ले जनाएअनुसार यस दिन पाथीभरा दर्शनमा चौधसय तीर्थयात्री पुगेका रहेछन् ।

मौसम सफा रहेको समयमा यहाँबाट कञ्चनजङ्गा हिमालको नजिकैबाट दृश्यावलोकन सम्भव हुने रहेछ । हामीले त देख्न पाएनौं; विराटनगरबाट आएका एक तीर्थयात्रीले भने यहाँ दुर्लभ वन्यजन्तु रेडपाण्डालाई रुखमा देखेछन् र भिडियो बनाएछन् । उनले तयार गरेको भिडियो भने हामीले पनि हेर्न पायौं । पाथीभरा देवी स्थान रहेको चुलीबाट अग्ला/होचा पहाड, खोंच र नदीनालासहितको सुन्दर भूदृश्य हेरेर रमाउन सकिन्छ । कतिपय तीर्थयात्रीले फेसबुकमा यहाँ खिचिएका तस्वीरहरू पोस्ट गर्दै फोटाको साथमा ‘स्वर्ग टाढा छैन’ लेखेर आफ्नो व्यक्तिगत आस्था, यहाँको पवित्रता, प्राकृतिक सौन्दर्यलाई अलौकिक स्तरमा हेरेको पनि देखियो ।

हामी आठ बजेको आसपासमा फर्किने तयारीमा लाग्यौं । यस बीचमा हामीले चकलेट र केही स्याउ खाइसकेका थियौं । ओरालो झर्न सहज हुन्छ भन्ने हाम्रो अनुमान थियो; त्यस्तो हुँदोरहेनछ; ओरालोमा खुट्टा खाँदिदोरहेछ । पाइला बाङ्गो टेक्ने हो भने ओरालो झर्न सजिलो हुन्छ भनेर अनुभवीहरू सुझाउँदै पनि थिए । उकालाको थकान देवीस्थलमा पुगेपछि सकिएको थियो; ओरालो हिड्दाको थकाइ भने दुईतीन दिनसम्म रह्यो । विशेषतः पिडौला र तिघ्रा फतक्क गलेका थिए । हामी फर्किदा तेह्रथुमको बाटो हुँदै फर्कियौं । हामीले यो रुट पक्रिदा साँझ परिसकेको थियो । घनीभूत अन्धकारका कारणले हामी यस नयाँ रुटमा फरक भौतिक एवम् प्राकृतिक दृश्यावलोकनको लाभबाट भने बन्चित रह्यौं । यो छोटो बाटोको रूपमा चिनिदोरहेछ । तर यो बाटो निर्माणाधीन अवस्थामा रहेछ । तमोर नदीको करिडोरैकरिडोरको धुले सडक । गाडी कमै हिड्ने । बाटामा बजार पनि नाइँ । गाडीमा कुनै प्रकारको प्राविधिक समस्या आयो भने हाम्रो अवस्था के हुने होला भन्ने आशङ्काले हामीलाई भेडेटारसम्म पछ्याई रह्यो ।

फुङ्लिङबाट १ः३० मा हिडेको हाम्रो मोटर । भेडेटारमा आइपुग्दा साढेँ आठ बजेको थियो । साढेँ दश बजे बाँसबारीमा मोटरबाट उत्रिएर हामीले गाडी मालिक ड्राइभर फणीन्द्र दाहाल र उनको स्कार्पियोलाई बाई बाई गरयौँ ।


ईश्वर पोखरेल
महालक्ष्मी- ३, बोझेपोखरी; ललितपुर
[email protected]


गजल

एक्लो

संवेदनाएँ