जाने बेला उसले भनेको थियो
आउछु
अवश्य आउछु ।
मेरो बाटो कुरि रहेको
आधा सुकि सकेको
वर पिपललाई भन्दिनु
म आउदा सम्म नसुके है
भनेको थियो ।
त्यस्तै मेरो पुस्तौ पुस्तालाई
सञ्जीवनी दिने नोलालाई
म नफर्किदा सम्म नसुके है
भनेको थियो ।
मेरो पुर्खाको बिर्ता बाझै छ
चौकी, कोइरालपातल, नयातल
बुङा, काणे, थपला
एक दिन हलो, कुटो, कोदालो
बोकेर अवश्य आउनेछु
बाज, बुराउज, किर्मडाको ठाउमा
समृद्धि फलाउने छु ।
युगौ देखि भोकको साक्षी बसेको
बाइस ओखल
ओखल कि दिदि आलि खाजा ल्यालि
भनि कुरे है
खाजा ल्याएर आउने छु ।
औथा, गैरी, बोकट्याल,
किमौरा, बाटुलीबाटाको
बाझो टुटाई सहकाल आउनेछ ।
मेरा पुर्खाले पुजेका
सिद्धनाथ, वैजनाथ, समैजी
मेरालागि पुजनिय, बन्दनिय छन
पुजा लगाउन
कुल देवता नौलो
कुलदेवी भुवनेश्वरी
कुल पुजा गर्न
अवश्य आउनेछु ।
जहान परिवारका लागी
यतै कतै मेलो मेसो पाइन्थ्यो नै
तर सामाजिक दायित्व पनि छ
केही गर्नु पर्ने छ
सबै जिम्मेवारीले
सिमा कटायो ।
बिदेशीने लहर नै छ
यहाँ केही छैन
केही हुदैन भन्ने
नकारात्मक भाव मात्र छ
जसले बिदेशीन बाध्य पार्यो ।
उसले यहाँ
भुमि हारेको होइन
छोडेर गएको पनि होइन
जे छ यहीँ छ उसको
बाध्यता हो जानुपर्ने ।
जाने बेला उसले भनेको थियो
आउछु
अवश्य आउछु ।
कैलासकुमार पाण्डेय
परशुराम ३ थपला औथा, डडेल्धुरा