• २०८२ असार ३१ मङ्गलबार

साविती बयान !

धनराज गिरी

धनराज गिरी

हो श्रीमान, हो, सत्य हो, म गुण्डा थिएँ, साना गुण्डा तह लगाउने, म फटाहा थिएँ, बाहिर भलाद्मी देखिएर भित्र भित्र अनेक पाप गर्ने वास्तविक फटाहा खुराफातीहरू तह लगाउने, धेरैलाई पिटेकै हुँ, कानून हातमा लिएर सामन्तीहरूलाई साथ दिने वकील, लेखक, प्रहरी, सबैलाई गोदेकै हुँ । अचम्म मी लर्ड, जबसम्म बदमास थिएँ, कसैले पनि छुन आएनन्  कानून दूर दूर, म अजेय, तर श्रीमान, मी लर्ड, मेरो जमीर जाग्यो, मलाई मेरो आदरणीय गुरुदेव, हाम्रो तीन पुस्ताको गुरु, प्रोफेसर धनेन्द्रराज बादशाह आशुतोष गिरिजालोपाध्याय रुचाङश्री गौरीकान्तले सम्झाएपछि, म रुद्रपुर छोडी, यो बुद्धहरूको पनि बुद्ध रमाउने पवित्रधाममा आई आफ्नो कारोबार गरेर जिउँन खोज्दा, सज्जन हुन खोज्दा, यो समाजलाई हजम भएन ।

कायाकल्पको अठोट गरेको म हिजोको रत्नाकर आज वाल्मीकि बन्न नपाउने ? यही हो न्याय ? मलाई थाहा छ मेरो जीवनको शकुनि र दुर्योधन, । मी लर्ड, म बाट गल्तीहरू भए, तर पाप र अपराध भएको छैन, ग्यारेन्टी ! मेरो भन्नु यत्ति हो । गायिका एलिनाहरूलाई त दुःख दिने यो समाज, मेरो अर्को गुरु, सज्जन, इमानको पहाड प्रोफेसर जगमोहन आजादलाई नबुझ्ने यो समाज, यो अन्धकार, अझ २०० वसन्त केही हुन्न । बागीहरू उत्पादन गर्ने समाज अभागी हुन्छ प्रभु । मेरो भनाइ सकियो । अभियुक्त महेशकान्त हुर्मतोपाध्याय बज्रसिंह कनकश्री, पहिलेको दादा, अहिले सोझो, अति सज्जन, नौ बर्षपछि एक पात्र, भित्री गब्बरलालले मुद्दा हालेछ । आज सुनुवाइ । अदालतमा भीड । न्यायाधीश दीपेन्द्रकान्ता ज्वालादेवी गार्गी उनी मुसुमुसु, भीडमा, यो मान्छे निर्दोष हो माइकल डिसुजा । पक्का, सम्पूर्णलाई थाहा छ, तर कोही पनि बोल्दैन !  लेखराम सापकोटा । हो हो, म पनि चिन्दछु ! सुमन भागीरथी नन्दन गजलश्री । गब्बरलाललाई हाल्नुपर्ने हो जेल प्रेम सिग्देल । अनेक मुख, अनेक कुरा । न्यायाधीशको निर्णय:

अदालतको आफ्नो मर्यादा हुन्छ । कानून साहित्य होइन । कानून सिनेमा होइन । कानून जज्बाती हुन्न । यसलाई सवुत चाहिन्छ । सवुतले जे भन्छ कानूनले त्यही फैसला गर्दछ । कानून अन्धो हुन्न । तमाम तहकतीकातपछि प्राप्त सवुतहरू अति नै फितला, यो रीसइबी हो, पूरानो खीस हो, यस्तोको आधारमा अदालतले सजाय दिन्न । अभियुक्तजी, तपाईं अभियुक्त होइन, यो समाज अभियुक्त हो, तपाईंलाई ससम्मान वरी गरिन्छ, तपाईं निर्दोष जीवनको आफ्नै भिनाजुजस्तै निर्दोष हो । ढुक्क भएर मानवताको पक्षमा उभिनुहोला । अलिअलि ज्याद्रो बन्नुहोला । तपाईंको जोर गुरुलाई मेरो पनि सलाम !! अदालत आजलाई बन्द हुन्छ । परररर ताली । सबैको अनुहार उज्यालो भयो । न्याय छ ! प्रेमस्वरूप कमलोपाध्याय । यो देश नै नारीहरूलाई जिम्मा लगाए हुन्छ । राजेन्द्र घायलोपाध्याय । हो त, पुरुषहरू खत्तम ! यमुना न्यौपाने । आजको फैसला भाइरल भयो ।


धनराज गिरी