समाचार
![](https://aksharang.com/wp-content/uploads/2022/12/03-SATURDAY-01.jpg)
मध्य दिनमा घर फर्किएको उसलाई घरकी सहयोगी अनिता दिदीले खाना दिइन् । ‘बहिनीले खाना तताएर दिनु भन्नुभएको छ बाबु !’ सँगै कसैको सन्देश पनि सुनाइन् र उसको अनुहार पनि पढ्न भ्याइन् ।
ग्याँस चुल्लोमा बसाएको चिसो खानाभित्र तातोको स्पर्शले खानामा भरेको सौन्दर्य र स्वादझैँ यी दुई दम्पत्तीका बीच पे्रमको न्यानो कहिले बढ्ला ? खाना तताइरहँदा दिदी सोचमग्न बन्छिन् । एउटै घर अनि कोठाभित्र चिसिँदै गएका दम्पत्तीलाई देखेर अनिता दिदी भुसको आगोझैँ सल्किरहेकी छिन् भित्रभित्रै । यो घरमा उनी केही समयअघि मात्रै आएकी हुन् । काम गाह्रो छैन । एउटी बच्ची हेर्नु, घर सफा गर्नु, लुगा धुनु र कहिलेकाहीँ ती तीन प्राणीका लागि खाना बनाउनु; यत्ति । यस्ता काम त दुईचार घरकै गर्न सक्छु जस्तो लाग्छ उनलाई । तर अहिले यस घरले उनलाई केही अलमल्याएको छ । दुवै स्वावलम्बी दम्पत्तीका बीचको बेमेलले उनी खुबै दुखेकी छिन् । कमाउनकै लागि परदेसिएको आफ्नो लोग्ने सम्झिन्छिन् र यो खाल्डोमा आफूले बिताइरहेका चिसा रातसँगै खुम्चिन्छिन् । अनि एउटै घरभित्र जम्दै गएको सम्बन्धको बहाव देखेर छक्क पर्छिन् । आफूले झेलेर आएको अभावको पहाडभन्दा अर्को के हुनसक्छ लोग्नेस्वास्नीका बीचमा ? खान, लगाउन दुख नभएका घरका श्रीमान्श्रीमती किन मिल्न सक्दैनन् ? यसको जवाफ कत्ति खोज्दा पनि उनले पाएकी छैनन् ।
र, आज उनले एउटा प्रयोग गरिन् कि कसैले केही नअह्राईकनै आफैँ केही भनिदिइन् । झुटै सही त्यसले राम्रो काम ग¥यो । उनको झुटले तातो खाना खाएर घरको मालिक मुस्कुराएको देखेर उनी दङ्ग परिन् ।
खाना खाएर टीकाराम कोठामा पस्यो । दस दिनको विपश्यना गएर ऊ भर्खर आइपुगेको हो । कोठा सधैँजस्तो थिएन, मिलेको थियो । उसले अनिता दिदीलाई धन्यवाद भन्यो । उसका सामान मिलाउन दिदी अघि सरिन् । तर उसले आफैँ मिलायो ।
बालकैदेखि ऊ वियोग झेलेरै ठूलो भयो । बाबुको मृत्युपछि मावलीमा रहेको ऊ मावली हजुरबुबाको मृत्युपछि आमा र हजुरआमाकै काखमा हुर्कियो । ती दुई सरल स्त्रीका समीपमा उसले सरलता नै सिक्यो । आमाहरूकै प्रेममा पालिएको उसले पनि प्रेम गर्न सिक्यो । जीवनले जति पाठ उसलाई कुनै शिक्षक तथा विद्यालयले सिकाएन । जे हुन्छ ती सबैलाई साक्षी भावले हेर्दै आइरहेछ अहिलेसम्म । जे भइरहेछन् ती सबैलाई स्वीकार गर्नसक्ने क्षमता ऊ भरिरहेछ आफूभित्र । यो दस दिनको बसाइले पनि उसलाई अझै केही सिकाएको हुँदो हो । आज एउटा बेग्लै आभा उसको अनुहारमा छ । अनिता दिदी दोधारमा छिन् कि त्यो कस्तो उज्यालो हो ?!
टीकाराम आफ्नो ¥याकबाट डायरी झिक्छ । डायरी लेख्नु उसको पुरानै सोख । केही लेख्न खोज्छ । सक्दैन । लेखिहालुँलाझैँ पनि गर्छ । कलमले अक्षर लेख्न हिच्किचाएपछि ऊ डायरी पल्टाउन थाल्छ । डायरीमा पुराना दिन कैद छन् । ऊ डायरीको कुनै अंशमा पुगेर अडिन्छ । जहाँ उसले आफैँलाई लेखेको छ । ऊ डायरीका पानाभरि सावित्री देख्छ । लेख्न पनि त त्यहाँ उसले सावित्री नै लेखेको छ ।
भर्खरै विवाह गरेको ऊ जागिरे श्रीमती भेट्न यस खाल्डोबाट पुगेको छ चुरेको गर्मीमा । उसले सोचेको थियो आफ्नो आगमनमा सावित्री खुसीले फुरुङ्ग हुँदै पर्खिरहेकी होली । यात्राको थकान र पसिना उसलाई देखेरै त्यसै सुकी हराइजानेछन् । तर त्यसो भइदिएन । डेरामा त सावित्रीकी आमा पो थिइन्; ऊ थिइन । एक्कासि कता गई सावित्री ? उसले केही भनेकी पनि त थिइन । सावित्री कार्यालयको कामले बाहिर गएको र ज्वाँइलाई सत्कार गर्न आफू आएको सासूको जवाफ सुनेर टीकारामको उत्साह यसरी सेलायो कि ऊ त्यही रात रात्रिबसको सिटमा होइन, मुढामा बसेर घर फर्कियो ।
सावित्रीका केही किस्सा उसका कानसम्म आइपुग्छन् । ऊ मतलब गर्दैन । कहिलेकाहीँ आइदिन्छे ऊ । यही आइजाइले सम्बन्ध बाँचेको जस्तो देखिएको छ । कहिलेकाहीँ आइपुगेकी सावित्रीलाई ऊ बाहिर खान जाने आग्रह गर्छ । ऊ यो प्रस्ताव नकार्छे मात्रै होइन कि आफू रेस्टुराँमा एक्लै खान सक्षम रहेको हाँक पनि दिन्छे । ऊ चुपचाप बस्छ ।
उसले आमालाई जहिलेदेखि देख्यो रङ्गहीन देख्यो । सबैका आमाहरूका एकनासे सौन्दर्य र आफ्नी आमाको फिका रङ्गको फरक बुझ्न उसलाई प्रशस्त समय लाग्यो । आमा र हजुरआमाका फिका अनुहारसँगको वैराग्यबाट ऊ विरक्तिएको छ । ऊ रङहरूलाई प्रेम गर्छ । र, उत्तिकै पे्रम गर्छ सावित्रीले कहिल्यै नलगाउने सिन्दूर र पोतेलाई पनि । आफ्नी आमाले दाम्पत्य जीवनको प्रारम्भतिरै गुमाएका रङसँग बडो लोभिन्छ । र, सावित्रीले गर्ने शृङ्गारमा ती पनि थपियून् भन्ने रहर गर्छ । जब आलमारीमा झुन्ड्याइएका पोतेका झुत्ता सफा गर्ने बहानामा मिल्किन्छन् फोहोरको भाँडामा, ऊ चुपचाप बस्छ ।
यसबीचमा केही वर्ष बितेर जान्छन् । अब दुईबाट तीन हुनुप¥यो; बिस्तारै यो स्वरको तीव्रता बढ्दै गइरहेको छ । उसलाई पनि नलागेको होइन । उसले कोसिस नगरेको पनि होइन । एक त सावित्री सँगै थिइन । भए पनि परपरै थिई । जति नजिक थिई, त्यो अवसर उसले तीन बन्नका लागि प्रयास गरिरह्यो । एक दिन उसले सावित्रीका ब्यागमा गर्भनिरोधक चक्की भेट्यो । ऊ चुपचाप बस्यो ।
सावित्री अब यतै सरुवा मिलाएर आई । उसलाई खबर पनि गरिन आउँदैछु भनेर । यसलाई मीठो सरप्राइज मानेर उसले ग्रहण ग¥यो । गृहस्थीमा पत्नीलाई पे्रमिल स्वागत ग¥यो । उसले थाहै नपाई दुईबाट तीन बन्ने सिलसिला सुरु भइसकेछ । ऊ खुसीले बुरुक्कै उफ्रियो । साँझबिहान खाने पौष्टिक खानाको थप जोहो ग¥यो । ऊ अझै सावित्रीको विशेष ख्याल गर्न थाल्यो । बाबु बन्ने अभिलाषाले पलपल मुस्कुराउन थालेको जो थियो । महिना पुगेपछि आफूले बिहान तिरेर आएको दूधको पैसा सावित्रीले साँझ उसलाई थमाइदिई । उसको प्रश्नमा सावित्री बोलिन । लेखेर दिई कि ‘म आफ्नो केयर गर्न र आफूलाई पाल्न सक्षम छु । मलाई कसैको सहयोग चाहिदैन ।’ ऊ फेरि चुपचाप बस्यो ।
सावित्री पीडाले छटपटाई । बिहानै अस्पताल पुगे पनि दिनभरि ऊ त्यसरी नै छटपटाइरही । सावित्रीसँगै ऊ पनि छटपटायो । अन्ततः शल्यक्रियाबाट छोरी जन्मिई । छोरीलाई काखमा लिएर ऊ मुस्कुरायो । अस्पतालभरि मिठाई बाँडेर बाबु बनेको खुसी बाँड्यो । पीडाले थलिएकी सावित्रीले अर्धबेहोसी अवस्थामै भनी कि– ‘यो बच्चा मेरो मात्रै हो …. मात्र मेरो …. मैले मेरो लागि जन्माएको …. यसलाई आफ्नो भन्ने र बनाउने कोसिस नगर्नू …’ बाबु बन्नुको खुसीमा मुस्कुराइरहेको टीकाराम स्तब्ध बन्यो । किंकर्तव्यविमूढ भएर निःशब्द उभिइरह्यो । सावित्रीका वचनवाणले हतप्रभ भएको उसको रक्तचाप यसरी बढ्यो कि उसलाई तत्काल अस्पताल भर्ना गर्नुप¥यो । दुईबाट तीन बनेर घर त फर्कियो । तर ऊ फेरि चुपचाप बस्यो ।
सावित्रीको दराजको एकातर्फको भागबाट बिस्तारै सामान घट्न थाले । एकदिन त घर फर्किंदा पलङको साइड बक्स कोठा बाहिर उभिइरहेको थियो । जसमा टीकारामका सामान थिए । कोठाका भित्तामा सावित्रीका आँखा पुगेकै थिएनन् । अन्ततः टीकारामको बाल्यकालको फोटो पनि भित्तामा रहेन । यसरी सावित्रीको कोठाबाट ऊ पूर्णतः विस्थापित भयो । अनि पनि ऊ चुपचाप बस्यो ।
छोरी बढ्दै गई । एउटै घरमा शुक्ल पक्षको चन्द्रमाजस्तै पलपल बढिरहेकी छोरी हेर्न, छुन, खेलाउन केही गर्नै उसले सकेन । सावित्रीको वचन, व्यवहार पनि फेरिएन । यो पछिल्लो समयमा भने अनिता दिदीले गरिरहेकी थिइन् केही कोसिस । उनी सरक्क टीकारामका कोठामा छोरी छोडेर आइदिन्थिन् । बोली फुट्दै गरेकी छोरी बामे सर्दै आएर ‘बाबा’ भन्दा उसको कलेजो बटारिएर आउँथ्यो । सावित्रीको अनुपस्थितिमा बल्ल उसलाई सन्तानको सामीप्य प्राप्त हुनथालेको थियो । जसमा कसैको भूमिका थियो भने उनै अनिता दिदीको थियो । सावित्री कहिले बिहानै हिँडिदिन्थी । कहिले रातमा पनि आउँदिनथिई । कहिलेकाहीँ अरू नै कसैका साथमा आउँथी । टीकाराम ढोका खोलिदिन्थ्यो । रातभरि छोरी रुन्थी । न सावित्रीले टीकारामलाई सुनाउँथी, न उसले छोरीको रुवाइको कारण सोध्थ्यो । यी यावत् परिघटनाका बीच बस् ! सावित्रीले आफ्नो कोठाको चुकुलचाहिँ लगाइन । मनमा लागेको चुकुलले सारा ढोका बन्द गरिदिन्छ भन्ने सावित्रीलाई सायद थाहा थिएन । तर पनि ऊ चुपचाप बस्यो ।
यस्तै दैनिकीबाट गुज्रिरहँदा ऊ पुग्छ आफ्नो सुदूर अतीतमा; जहाँ एउटी सरल, अलिक चञ्चल, थोरै गम्भीर, अलिअलि छुच्ची र बडो प्रेमिल युवती उसका अघि उभिदिन्छे । ऊ आसक्ति देखाउँछ । ऊ माया भन्छे । ऊ एकान्त खोज्छ । ऊ सामीप्य अनि साथ खोज्छे । उसलाई लाग्थ्यो कि पे्रमको मूर्तता एकअर्काको सम्मिलनमा मात्रै प्राप्त हुन्छ । र, ऊ त्यही चाहन्थ्यो । माया भनेकै शरीरसम्मको यात्रा हो भन्ने ठानेको उसले उक्त रमणीबाट त्यही मात्रै चाहिरह्यो । तर ऊ टसको मस भइन । घुम्न जाने, सँगै बस्ने, एउटै ओछ्यानमा सँगै भए पनि शारीरिक सीमा नकाट्ने उसको प्रस्तावलाई टीकारामले भने स्वीकार्न सकेन । उसलाई यो सीमामा बाँधिन सक्छु भन्ने पटक्कै लागेन । त्यस बखत उसलाई के थाहा ? कि पे्रमको यात्रा शरीरसम्म मात्रै हुँदैन । होइन । यो यात्रा मनदेखि मनसम्मको हो । शरीर त प्रेममा नआए पनि हुन्छ; मनचाहिँ आउनैपर्छ । त्यहाँ मन थियो । उसले शरीर मात्रै देख्यो । शरीर मात्रै भएका मानिससँगको बचाइमा मात्र सास फेर्छ मान्छे; जीवन बाँच्दैन भन्ने सायद त्यसबेला उसलाई पनि थाहा थिएन ।
र, फेरि जीवनमा त्यो मौका कहिल्यै आएन । ऊ सम्झिन्छ, सम्झिरहन्छ त्यो छुटेको र फेरि कहिल्यै नआउने प्रेमिल सामीप्य । नाकको टुप्पोमै रिस बोकेर हिँड्ने, हाँस्दाहाँस्दै रिसाउने र रिसाउँदारिसाउँदै हाँसो फुस्किने त्यो अतीतकी रमणी उसको वरपर, दूरदूरसम्म कहीँ भेटेन उसले फेरि । एउटै ओछ्यानमा एकअर्कालाई नछोएरै, एउटै कोठामा एकअर्कालाई महसुस नगरेरै, एउटै घरमा एकअर्कालाई नदेखेरै ऊ बाँच्न अभ्यस्त बन्दै गयो; अभिशप्त बन्दै गयो । सावित्रीसँगको संवादहीनतासँग थाकेर पलपल जम्दै गएको ऊ पटरपटर बोलिरहने त्यही जीवनले भरिएकी युवतीको गनगन, रिस, झगडा, आक्रोश, चकचक, घुर्की, माया सम्झिन्छ । र, चुपचाप बस्छ ।
ऊ आफूभित्र केही सलबलाएको महसुस गर्छ । वाफजस्तै त्यो माथिमाथि आइरहेछ; त्यो वाफले निस्कने बाटो पाउँदैन । अन्ततः नाकबाट पीरो धूवाँजस्तो केही बाहिरिन्छ र त्यही पीरोले उसका आँखा भिजाउँछन् । अनिता दिदी यो सब हेरिरहेकी छिन् । लोग्नेमानिसको यस हदसम्मको निरीहताले उनलाई छक्क पार्छ । उनले आफ्नोवरिपरि देखेका पुरुषहरू यस्ता छैनन् । तीभन्दा असाध्य फरक लाग्छ उनलाई टीकाराम । उसलाई बोलीले मात्रै पनि खुसी पार्न सकिनेरहेछ भन्ने त उनले भर्खरै थाहा पाएकी छिन् । सावित्रीले नभनेकै कुरा भनिदिँदा पनि ऊ कस्तरी खुसी भइरहेछ । यति प्रयास सावित्री आफैं भन्दी हो र गर्दी हो भने यो घर एकैछिनमा समेटिनेरहेछ अनिता दिदीलाई यस्तै लागिरहेछ ।
तर सावित्री भने अनिता दिदीका डेरामा छोरी छोडेर घन्टौँ हराउँछे । ‘कता गएर आउनुभयो बैनी ?’ भन्दा कुनै निश्चित जवाफ दिन्न । घरमा पाकेको खाना ती दम्पत्तीले एकैसाथ बसेर खाएकै छैनन् । कहिले पस्किएरै दिइहाली भने फेरि दोस्रोपटक भान्सामा पस्दिन सावित्री । अनिता दिदी आएदेखि नै टीकारामले तातो र पेटभर खान पाएको हो ।
प्रेसर कुकरको सिटीले सुतेकी छोरी ब्यूँझिई । अनिता दिदी जाउलोको ग्याँस निभाएर रुन लागेकी नानी सम्हाल्न थालिन् । ऊ छोरीका छेउमा गयो । केही दिनदेखि हराएको बाबुलाई देखेर रुँदै गरेकी छोरी हाँस्दै झ्यामिदै आई । अनिता दिदीबाट छोरी लिएर ऊ उक्लियो कौसीतिर । उसले केही दिन पहिले छोडेर गएका गमलामा जीवन बढ्दै रहेछ । जीवन त उसको अँगालोमै पनि बढ्दैछ । ऊ छोरीतिर फर्किन्छ । बिस्तारै छोरीलाई कसिलो गरी चेप्छ छातीमा । छोरीका हातका औँला उसको अनुहारभरि सलबलाउँछन् । बाबुको नाक समाउन ऊ खुबै मन पराउँछे । अहिले ऊ त्यही कोसिस गरिरहेकी छे ।
कौसीमा छरिएका कनिका टिप्न भँगेरा आइपुगेका छन् । छोरी भँगेरा समात्न तिनका पछि कुद्न खोज्छे । छोरी र भँगेराको क्रीडा हेरेर ऊ मग्न भइरहेछ । त्यही समय सावित्री देखापर्छे कौसीमा । ऊ एउटा प्रेमिल मुस्कान फ्याँक्छ ऊतिर । सावित्री खेलिरहेकी छोरीलाई झड्कार्दै आँखा तरेर त्यहाँबाट ओझेल हुन्छे । सावित्रीका पछिपछि देखिन्छिन् अनिता दिदी । जसलाई टीकारामसँग आँखा जुधाउन असाध्यै गाह्रो भएको छ यतिबेला । उनी तारमा हल्लिरहेका केही थान लुगा बोकेर चुपचाप फर्किन्छिन् । छोरी कोकोहोलो मच्चाएर रुँदैछे । उसको रुवाइ निकैबेरसम्म थामिदैन ।
सानै कुरामा चसक्क हुने ऊ अहिले भने यथाभावमा रहेको छ । आकाशमा एक हुल चरा उसको शिरैमाथिबाट उडेर जान्छन् । एक झोक्का हावा उसको निधारसम्म झरेको कपाल फरफराएर जान्छ ।
ऊ अहिले बिरुवाको स्याहारमा लागेको छ । विपश्यना जानुअघि रोपेर गएका फर्सीका केही बोट त उम्रिसकेछन् । बडो जतनले कौसीमा सानो बारी लगाएको छ उसले । कलिला फर्सीका बिरुवा हातले सहलाउँछ । माटो कोट्याउँछ । सायद अरू अब उम्रिदैनन् पनि । रोपिएका सबै चीज उम्रिदैनन् । उम्रिएका सबै बाँच्दैनन् । बाँचेका सबै सप्रिदैनन् । सप्रिएका केहीले मात्रै यो संसारमा आफ्नो पूर्ण जीवन बाँच्छन् । मानिसका हकमा पनि यही हो सायद । संसारमा आफ्नो पूर्ण जीवन बाँच्न सबैले सक्दैनन्, न मानिस न बिरुवा न सम्बन्ध !?
र, सायद ऊ पनि यतिखेर यी सबैलाई ‘लेट् गो’ भनिरहेको हुँदो हो ।