• २०८१ श्रावाण ११ शुक्रबार

निशा शर्मा

...र शलभ

...र शलभ

हामी पाँच जना दिदीबहिनी
म काइँली
जेठी र कान्छीबाहेक
तीनै जना अभिनय कर्ममा लाग्यौँ ।
तर म नाट्यकर्ममा लाग्न
मलाई मेरा दिदीहरूले सघाएनन्,
बरु रिसाए ।
उनीहरूलाई फकाउने
र मलाई मञ्चमा उतार्ने श्रेय
बद्री अधिकारी र सुनील पोखरेललाई जान्छ ।
पहिलो नाटक २०३९ सालमा
बद्री अधिकारीको– ‘प्रतिभा आकाश माग्छे’
बाट नाट्ययात्रा प्रारम्भ गरेँ ।
त्यसपछि अनवरत यही यात्रामा छु ।


२०२६ सालको भदौमा जन्मिएकी हूँ
अमर आदर्शबाट एसएलसी गरेँ
नाटकमा लागेँ– पढाइ छुट्यो
पछि मात्र डेनमार्क र नर्वेबाट
थिएटरमा ग्रेजुएसन गरेँ– सन् २००२ मा ।
नाटककै कुरा गरौँ है–
‘प्रतिभा आकाश माग्छे’ पछि
धेरैवटा नाटक गरेँ– ३५÷४० वटा
त्यसमध्ये अहिले सम्झिँदा
असारको एक दिन, जिउँदो लास,
सेन्जुआको असल मान्छे, कुमारी,
न्यायप्रेमी, मायादेवीको सपना,
पुतलीको घर, अग्निको कथा,
४.४८ साइकोसिस, एन्टिगोनी,
याज्ञसेनी र सपनाको साबिती
अहिले पनि सम्झिन्छु ।
सबैभन्दा मनपरेको त
‘पुतलीको घर’ नै हो ।
४.४८ र एन्टिगोनी पनि मनपर्नेमध्ये हुन् ।
मैले बद्री दाइ र मह जोडीसँग
एउटा–एउटा नाटक गरेँ होला
त्यसबाहेक सबै सुनीलजीकै निर्देशनमा गरेँ


सुनीलजीलाई चित्त बुझाउन साह्रै्र गाह्रो
पहिलेपहिले त रिहर्सलमा
कत्ति गाली खान्थेँ, रून्थेँ
तर गरेर देखाउँछु भनेर लागेँ र सकेँ पनि ।
म कुरा घुमाएर बोल्न जान्दिनँ
फ्याट्ट भन्छु र मलाई सबैले छुच्ची भन्छन् ।
म जस्ती छु ठीकै छु
अब आएर चेन्ज पनि हुन्न ।
राम्रो काम गरिनँ, मेहनत गरिनँ भने
मलाई कसैले काम दिँदैनन्,
इभन सुनीलजीले नै लात हानेर निकाली दिन्छन् ।
एक दिन सुनीलजीले मन पराउँछु भने
बिहा गर्ने कुरा आएपछि
मैले घरमा कुरा गर्न भनेँ
हरिहर शर्मा र बद्री दाइहरू
घरमा माग्न आएपछि
आमाले हुन्छ भन्नु भो
केही वर्षपछि गर्ने सहमतिले
तीन वर्षपछि, २०४७ मा बिहा भो ।
सुनीलजी राम्रो निर्देशक कि लोग्ने ?
कठिन प्रश्न हो,
तैपनि जवाफ दिनैपर्छ भने
उनी राम्रो निर्देशक हुन् ।
छोरो निशान्ससँग खुसी छु
कुनै गलत सङ्गत छैन
पढाको छु– भोलि के गर्छ, थाहा छैन !


प्राज्ञको कुरा यस्तो हो–
पहिले सुनीलजीलाई अफर थियो
उनले नाइ भनेपछि अचानक मेरो नाम आएको हो
पहिलो दिन बायोडाटा मागे
भोलिपल्ट शपथग्रहणको लागि लिन आए
र म प्राज्ञ भएँ ।
यहाँ बसेर पनि
केही गर्न सकेजस्तो लाग्दैन ।
सरकारी तरिका– बजेट कम
फैलिएर आफ्नो हिसाबले काम गर्न पाइँदैन
यहाँ बसेर झारो टार्नेजस्तो मात्रै हो,
तर पनि राम्रै गरेजस्तो लाग्छ ।


पहिलो नाटक २०३९ मा
पछिल्लो नाटक ‘माक्र्स फर्किए’ २०७६ मा
यी ३८ वर्षमा दुःख–सुख धेरै आए
अहिले पछाडि फर्केर हेर्दा
आफ्नो एउटा पहिचान बनेको छ
त्यसैमा खुसी छु ।
तथापि, गुरूकुल भत्किएको क्षण सम्झिँदा
अझै पनि मन भक्कानिन्छ
कति कोसिस ग¥यौँ–
सरकारले जग्गा दिएन
सरकारको प्राथमिकतामा
कला र संस्कृति कहिल्यै परेन
र हामी पनि सधैँ
दुई नम्बरको नागरिकजस्तै भयौँ ।
दर्शकको मायाले नै हो
अरू केही नभनेर यही बाटो हिँडिरह्यौँ
अझै पनि एउटै सपना छ
नाटकघर होइन, नाटकस्कुल खोल्ने
जुन पछिसम्म रहोस्
र हामी पनि त्यसैसँग बाँच्न सकौँ ।