• २०८१ भाद्र २४ सोमबार

यो दशैँ

प्रभा भट्टराई आचार्य

प्रभा भट्टराई आचार्य

सुरम्य चाड हो दशैँ, खुशी- बहाड हो दशैँ
कि कण्ठभित्र अड्किने कठोर हाड हो दशैँ  !
अनादि कालदेखिको विशिष्ट मोहनी छ यो,
गरीव छन् अरू कठै ! छ एकलो धनी दशैँ  !!

पखालिएर यी धरा, सफा चिटिक्क छिन् जहाँ
कराल मेघ त्यो घना, बिलाउँदै गयो कहाँ ?
झुलाउँदै छ शानले, सुवर्ण खेत- खेतमा,
कहाँ छ खर्चको कमी ? चहार्छ विश्व यो दशैँ  !!

उही छ सभ्य स्वादिलो, उही सुरम्य सुन्दर
जुटाउँदै जहान ती, सिँगार्छ स्वर्ग झैँ घर !
उही समान फूर्तिलो र तेजिलो त को छ खै ?
सँघारमा छ स्वागतम्, फरासिलो हिरो दशैँ !!

पहाड भै नठोकियोस् र हाडझैँ  नअड्कियोस्
“हिरो” भई नफुर्कियोस्, यता- उता नभड्कियोस् ।
खुशी रहोस् स्वयं, यहाँ खुशी दिलाउँदै रहोस्,
हरेक बर्ष हर्षको प्रकर्ष भैरहोस् दशैँ  !!!


प्रभा भट्टराई आचार्य
[email protected]