• २०८१ मंसिर १७ सोमबार

म कहाँनेर छु ?

कात्यायन

कात्यायन

म कहाँनेर छु ?
हो कहाँनेर छु !
आगो भित्र छु कि,
खरानी भित्र ?
कमलको बिस्तरामा लक्ष्मी सङ्ग ?
या, विणाभित्रको सरस्वतीको झङ्कारमा ?
या, पार्वतीको शैल ओढारमा ?
पूर्वको उजेलीमा वा पश्चिमको गोधुलीमा ?
विचारको द्विविधामा कि,
अन्तरमनको सङँघारमा ?
म जहाँ छु, त्यहाँबाट उद्वेगको बबण्डर मच्चिएको छ
उफानले चट्टान फोड्दैछ
अग्निका ज्वालाले अपराधका लिङ्गो सल्काउँदै छ
एउटा कथा
रूखको हाँगा झाङ्गिएको छ
झ्याङ्गले ओस बढाएको छ, र
ओसले विनाश
अर्को कथा
माटोले सूर्य खोजिरहेछ
सूर्यले पानी
अन्तिमकथा
भोकले फल खोजिरहेछ
फलले मल
आऊ एकछिन आगोमा मन सेकाऊ
मनलाई बाँझो पार
बिज मास
समाधिस्थमा लिन हौ
तिमीले मलाई बुझ्ने छौ
मैले तिमी बुझ्ने छु
तिमीले म कहाँ छु, देख्ने छौ
मैले तिमीकहाँ छौ बुझ्ने छु
न तिमीले आफू कहाँ छु बुझ्ने छौ
न म आफू कहाँ छु भेउपाउने छु
हो, त्यहीँनेर
हो, त्यहीँनेर
म आफूलाई, कहाँ छु खोजिरहेछु ।


कात्यायन, चाबहिल, काठमाडौं