• २०८१ मंसिर १७ सोमबार

तिर्सना

बाबुराम न्यौपाने

बाबुराम न्यौपाने "उत्स"

आँखाले खोल्यो अतृप्त पोल स्पर्श मुर्झायो
तिर्सना पिउँदै प्रेमले साथी ! हृदय भिजायो
गोधूलि साँझ बास माग्न आए बटुवा आँगन
स्पर्श पलको अधुरो कथा को सक्छ बिर्सन ।

नियाली हेरे प्रियले किन ? चुम्बनको निसानी
निसानीभित्र फूलको केशर मगमग छ जवानी
प्यासको सागर उर्लिए पनि घायल छ तिर्सना
स्पर्श पलको अधुरो कथा को सक्छ बिर्सन ।

राजा नै हो वा देवदूत को हो ज्यानमारा नजर
सल्काए आगो यो दिलको कुना सुरु भो कहर
समीप आई साउती मार्छन् कि आउँछ लगन
स्पर्श पलको अधुरो कथा को सक्छ बिर्सन ।

दिनमा छैन आनन्द चैन रातको एक्लो पल
बग्दछ किन उनैको यादमा आँखामा आँसुभल
मिर्मिरे बिहान उठेर गए सुनसान भो आँगन
स्पर्शपलको अधुरो कथा को सक्छ बिर्सन ।

सपना हो या विपना के हो प्यासको पहेलि
सोधौं रे कसलाई छेउमा कतै देख्दिन सहेली
आउँछन् कि उनै फर्केर फेरि मेरै हात मागन
स्पर्श पलको अधुरो कथा को सक्छ बिर्सन ।

चुम्बनभित्र सिर्जना फुल्छ सृष्टिको रहस्य
कसरी काट्नु तड्पदै साथी बैंसालु यो वय
ठेगाना छैन मसँग उनको कोही त मागन
स्पर्श पलको अधुरो कथा को सक्छ बिर्सन ।

यौवनको अग्नि बलेर किन जलाउँछ मेरेै तन
वेदना वियोग कोमल मनले सहन्छ कहाँ झन्
प्रेमका ईश्वर कहाँ छौ तिमी ? मेरोमन पढन
स्पर्श पलको अधुरो कथा को सक्छ बिर्सन ।

दिलको पर्दा खोलन आउँने बटुवा को थिए
स्पर्श मीठो धड्कन धुनको तरङ्ग क्या दिए
साँझको बत्ती साँझमै निभ्यो बासको बहाना
स्पर्श पलको अधुरो कथा को


बाबुराम न्यौपाने “उत्स”, दमक, झापा