• २०८१ असार १२ मङ्गलबार

तीन साना प्रेम कविता

विश्वबिमोहन श्रेष्ठ

विश्वबिमोहन श्रेष्ठ

पहिलो –

देखे नदेखे पनि, भेटे नभेटे पनि
यस्तो होस कि तिम्रो मुहारमा
सधैं सूर्यको दर्शन मिलोस्
हृदयको भित्री तहमा म छूँ भने कतै
त्यहाँ देशको एउटा सुन्दर चित्र बनोस्
आज प्रणय–दिवस
टीपेर ल्याएको छु एक थुँगा फूल
मन परोस नपरोस्
त्यो तिम्रो शीरमा सँधै फूलोस्
त्यो तिम्रो शीरमा सँधै फूलोस् ।

दोस्रो –

यो रङ्ग रातो
तिम्रो मुहारमा सधैं देख्न पाए हुन्थ्यो
यो रङ्ग नीलो
तिम्रो आँखामा सधैं डुबन पाए हुन्थ्यो
यो रङ्ग पहेलो
तिम्रो गलामा सधैं झुलन पाए हुन्थ्यो
बाँकी रङ्गहरू समेटेर
म आई रहेछु
आज प्रणय–दिवस
त्यो ओठलाई यो ओठले चुमन पाए हुन्थ्यो ।

अंतिम –

मलाई छोएर जाने त्यो चिसो हावाले
तिमीलाई स्पर्श गर्ला नगर्ला
मैले पिएको यो मूलको पानी
तिमीसम्म पुग्ला नपुग्ला
तिम्रो प्रेमले म आक्रांत छु
यो देह जलेर खरानी हुनुअघि
हाम्रो भेट होला नहोला
हाम्रो भेट होला नहोला ।


विश्वबिमोहन श्रेष्ठ
[email protected]


सम्पादकीय

विवशता