• २०८१ श्रावाण ११ शुक्रबार

आइ लभ यू भानुभक्त

विधान आचार्य

विधान आचार्य

बिन्ती एक म गर्दछु सुन प्रिये प्रीति निरन्तर् रहोस् ।
ताहाँको मन पिञ्जरा म मुनियाँ यै चाल् सदाकाल् रहोस् ।।
तिम्रो त्यो मुखचन्द्र झल्कि मनमा तेस्ले उज्यालो गरी ।
शीतल् गर्नु उचीत हो अधिक ताप् गर्दो छ सूर्यै सरी ।।

यो श्लोक एउटा प्रेमीले आफ्नी प्रियतमालाई लेखेको पत्र हो । प्रेमी हुन् आदिकवि श्री भानुभक्त आचार्य र प्रेमिका हुन् उनकी पत्नी । यसमा उनले छानेका उदाहरण आजभोलिका मैँ हुँ भन्ने प्रेमीले पनि सायदै प्रयोग गर्छन् होला । तिम्रो मन ‘पिञ्जरा’ र त्यसभित्रको एक मुनियाँ चरा म हुँ । अर्थात् म तिम्रै मनमा कैद छु । हाम्रो यस्तो प्रीति सधैँ रही राखोस् । अझ वियोगको ताप अत्यन्त कठोर छ र तिम्रो मुहारको दर्शन गर्न पाए त्यसले प्रदान गर्ने शीतलताले अहा ! मलाई क्या आनन्द दिन्थ्यो भन्ने भाव आजभोलिका ‘आकाशका तारा तोडेर ल्याउने’ प्रेमीले पनि प्रकट गर्दैनन् ।

आजभन्दा झन्डै ५० वर्षअघिको गण्डकी क्षेत्रको समाजमा पतिपत्नीका बीचमा अरूका अघिल्तिर सामान्य बोलीचाली पनि थिएन । भानुभक्तका पालामा श्रृङ्गाररसको यस्तो पत्र ? यसको समय भानुभक्त काठमाडौँ बस्दा अर्थात् रामायण लेख्न सुरु गरेताका विसं १९०९ का आसपास हुनसक्छ । त्यो भनेको आजका झन्डै एक सय ६८ वर्ष पहिले होला । त्यस समाजको सोच के थियो होला, कति उदार थियो होला र एउटा पतिले आफ्नी प्रियतमा पत्नीलाई कस्ता भाषामा चिठ्ठी लेख्थ्यो होला भनेर हेर्ने हो भने उनी हदैसम्मका (त्यस समयका) आधुनिक प्रेमी थिए भन्ने साबित हुन्छ ।

वास्तवमा भानुभक्तका कविताको रस नै उनको सामाजिक, पारिवारिक वा व्यावहारिक जीवनको वर्णनमा पाइन्छ । रामायण त एक ठूलो महाकाव्य भयो । मोतीराम भट्टले आजभन्दा एक सय ३० वर्षपहिले यसको प्रकाशन गरेपछि नेपाली साहित्यलाई आध्यात्मिक र भक्तिको धारामा लैजान यसले नयाँ उचाइ थप्यो । नेपाली भाषा र संस्कृतिका अनुयायीहरूलाई यसले एकताको सूत्रमा बाँध्ने काम गरेको हो, त्यसमा शङ्का छैन । तर धर्मभीरू समाजले रामायणलाई मात्र काखी च्याप्यो र त्यसकारण भानुभक्तका अन्य फुटकर रचनाका भावचाहिँ ओझेलमा परे । फुटकर रचनामा उनको हासपरिहास गर्ने रूप, प्रेमीस्वरूप तथा एक भुक्तभोगी मानवका विभिन्न अवतारहरू देख्न पाइन्छ । यो माथिको श्लोकजस्तो पत्र पाउने उनकी प्रेमिका, प्रियतमा वा पत्नी आजकी एक पात्र भएकी भए सायद कवितारूपी यो ‘लभ लेटर’ पाएपछि यसलाई दुवै हातले समाती च्याप्प ओठमा लगाएर म्वाइँ खाँदै भन्ने थिइन् होला– ‘ओह आइ लभ यू भानु, आइ मिस् यू मच’ ।

०००
काठमाडौँमा उनी मुद्दाका सिलसिलामा बसे । उनका बाबु धनञ्जय पाल्पामा खरिदार थिए । बीचमा उनको मृत्यु भयो, तर जागिरमा केही सरकारी हिसाबकिताब मिलेन । अहिलेको अख्तियारजस्तै त्यतिवेला कुमारीचोक अड्डा थियो, त्यसले समात्यो । तथ्य के हो थाहा छैन, तर कविराज नरनाथ आचार्यको ‘आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र’ मा समेत समेटिएका सूचनाले के भन्छन् भने भानुभक्तका बाजे श्रीकृष्णका विभिन्न गोठहरूमा पालिएका २५०० (पच्चीस सय) हल (वा ५०००) गोरू थिए । यति गोरूलाई काम पुग्ने जग्गा जमिन कति थियो होला ? अहिलेसम्म श्रीकृष्णका छ भाइ छोराका चुँदीरम्घाका आचार्य वंशका यी सन्ततिले तिनै जग्गा जमिनलाई बेची वा अन्य व्यवस्थापन गरी खाई आएकै छ्न् । तिनमध्ये कसैले पनि ठूलो औद्योगिक या व्यावसायिक उन्नति गरेर विपुल अतिरिक्त सम्पत्ति आर्जन गरेको देखिन्न ।

जागिर त सायद प्रतिष्ठाका लागि खाए होलान्, तर लोभ–लालचमा भानुभक्तका बाबु खरिदार धनञ्जय परे होलान् भन्ने उसवेलाको अवस्थाले बताउँदैन । पिताको देहान्तपछि सरकारी बाँकीले समात्दा पनि भानुभक्तको मनोविज्ञान अविचलित देखिएको छ । एक निर्दोष व्यक्तिमा हुने दृढता र मनको एकाग्रताका कारण नै उनले झ्यालखानामा बसेरै रामायण सिर्जना गरे । उनलाई समयले किञ्चित पनि गलाएन, बरु कैले अत्यन्त विनोदी र मनोरञ्जनप्रिय तथा कैले तत्कालीन व्यवस्थाको निर्भीक आलोचकका रूपमा उनी देखिए ।

०००
काठमाडौँ बस्दा त्यसबखत सरकारी सेवामा र राणाहरूका चाकरीमा रहेका सुब्बा धर्मदत्त (ज्ञवाली) उनका हितैषी थिए । ती धर्मदत्तका कुनै साथी पाल्पामै थिए । उनीसित धर्मदत्तको पत्रमै हासपरिहास पनि चल्थ्यो र उनले कवि भानुभक्तलाई आफ्ना साथीलाई दिने उत्तरका लागि कविता लेखिदिन आग्रह गर्थे । एउटा घटना के भएछ भने ती साथीले– दाङ् गएर विवाह गरेर आइयो भनेर धर्मदत्तलाई पत्र लेखेछन् अनि त्यै पत्रमा आफ्नो जन्ममिति, राशि आदि लेखेर ज्योतिषको सेवाका लागि आफ्नो आयु तथा अन्य फलादेशका कुरा सोधेर पठाए होलान् । लौ न यिनलाई जवाफ दिन प¥यो भन्ने सुब्बा धर्मदत्तका आग्रहमा भानुभक्तले लेखिदिएका रमाइला श्लोक यस्ता छन्–

ऐले दाङ् गइ यो विवाह गरियो भन्न्या पनि लेखियो ।
फेर् तेसै चिठीमा म मर्छु कहिले भन्न्या पनि देखियो ।।
आयूको त विचार विवाह नगरी पैल्यै उचित् हो लिन्या ।
उल्लू हौ तिमि उल्लूलाई अहिले कुन उत्तरा हो दिन्या ?

कुरो ठीक हो । विवाह गरिसकेपछि म कति बाँच्छु होला भनेर ज्योतिषीसित सोध्ने कि, पहिले नै चिना टिप्पन देखाएर आफ्नो आयु र स्वास्थ्यको ख्याल गरेर विवाह गर्ने ? उल्लू नै रहेछन् ती । भानुभक्तले कवितामा सटिक उत्तर दिएर पठाइदिए । यो व्यङ्ग्यात्मक र विनोदप्रिय उत्तर थियो ।

०००
तिनताका बिर्केटोपीको चलन थियो । विभिन्न कारणवश, आजभोलि पनि छ । भानु नगरपालिकाले आफ्ना कर्मचारीका लागि बिर्केटोपी अनिवार्य गरेको छ । राम्रा बिर्केटोपी काठमाडौँमा बन्थे । सुब्बा धर्मदत्तका साथी बाठा रहेछन् । पहिले किशोर अवस्थाको छोराका लागि भनी यसै अनुसारको बिर्केटोपी पठाइदिनुहोला भनेर एउटा नापो पठाए । त्यसअनुसारको टोपी पठाइयो । केही समयपछि त्यो टोपी त सानो भयो त्यसभन्दा ठूलो अर्को पठाइदिनुहोस् भन्ने आग्रह आयो । अवस्थाको अनुमान गर्दा ठूलोचाहिँ आफँैलाई वा अरू कोहीलाई पनि मगाएको हुनसक्ने देखियो । तर साथीले भने बच्चाकै लागि हो भनेर टोपीप्रतिको आफ्नो लालच लुकाए । यस प्रसङ्गलाई पनि माथि उल्लिखित नरनाथ आचार्यको ‘आदिकवि भानुभक्त आचार्यको सच्चा जीवनचरित्र’ ले सटिक वर्णन गरेको छ ।

कविजीको पालो यस्तो उत्तर ठोकिदिए–

बिर्केटोपी पठाऊ भनि खबर हुँदा भेजियाको त टोपी ।
माथ्मा राख्दा त सानै भइगयछ अहो क्या भयो टूपि छोपी ।।
तस्मात् त्यो टोपि हाम्रा घर दिनु बढिया टोपि आर्को पठाई ।
नानी खूसी गरम्ला मुख गरि हँसिलो लाउला माथ् अटाई ।।

ए ! त्यसो भए त्यो पुरानो सानो भएको टोपीचाहिँ यता फिर्ता पठाइदेऊ, सानै भएको हो भने जाबो टुप्पी मात्र छोप्ने टोपी लगाएर पनि के काम ? ठीक छ, अर्को मिल्दो टोपी फेरि पठाइदिऊँला र बच्चोले हँसिलो मुख गरेर टाउकामा मिल्दो अर्को टोपी लगाओस् । तर यस्ता बहानामा दुइटै टोपी पच् पार्न पाउँदैनौ ।

उत्तरको सारको ‘आइडिया’ जोसुकैको होस्, कविता त भानुभक्तकै हो । यस्ता तत्काल आइपर्ने विषयमा परिहास (सेन्स अफ् ह्युमर) सहित उत्तर दिन आदिकवि भानुभक्त माहिर थिए । अझ, उनले यस्ता कविता कसकसलाई लेखे, कति पछि पाइए, कति पाइएनन्, थाहै छैन । अनगिन्ती फुटकर रचनाहरू थिए होलान् । कतिले पाए, पढे, कतै राखे ती नष्ट भए या च्यातिदिए होलान् । तिनमा व्यङ्ग्य थिए, कतिका हकमा जसले पायो उसका लागि घोचपेच अवश्य थियो होला, अनि किन सम्हालेर राख्थे ?
विसं १९२५ मा ५४ वर्ष पूरा भई ५५ मा टेकेका वेला उनको मृत्यु भएको मानिन्छ । मोतीरामले खोजबिन गरी उनलाई बाहिर ल्याउँदा विसं १९४८ भएको थियो । त्यतिवेलासम्म जसलाई उनले लेखेका थिए त्यो पुस्ता नै अवसानतिर जाँदै थियो होला र सायद पछिल्लो पुस्ताले राम्ररी संरक्षाण गर्न पनि सकेन वा जानेन होला पनि । तिनले त्यसबखत भानुभक्तका त्यस्ता फुटकर रचनाको महत्त्व पो कति बुझ्यो होला ? अहिले जति पाइएका छन्, तिनका आधारमा मात्र तिनको विश्लेषण भएको छ । मेरा विचारमा अहिले पाइएका फुटकर रचना भानुभक्तका हुनसक्ने फुटकर रचनाको विशाल भण्डारको एक सानो अंश मात्र हो ।
धेरै वर्णन गरिएका ‘चपला अबला’ या भानुभक्तको ‘भोलि भोलि’ को व्याख्या गर्ने ‘बिन्ती डिठ्ठा बिचारी’ र अरू यस अलेखमा उल्लेख नगरेकै हो । तिनमाथि प्रशस्त लेखिएका छन् । खालि भन्न के खोजिएको भने उनको दैनिक जीवनको असली कविअवतार यिनै फुटकर कवितामा देखिन्छ । हुन त रामायणमा पनि उनले अनुवाद गरेको अध्यात्म रामायणका मूल भावलाई नबिथोली मौलिकपन दिएका सयौँ उदाहरण छन् ।

जस्तो कि:  अध्यात्म रामयणको किष्किन्धाकाण्डको पहिलो सर्गको
मासादूर्ध्वं गुहाद्वारान्निर्गतं रुधिरं बहु ।
तद्दृष्ट्वा परितप्ताङ्गो मृतो वालीति दुःखितः ।। ।५१ ।
गुहाद्वारि शिलामेकां निधाय गृहमागतः ।
ततोकब्रवं मृतो वाली गुहायां रक्षसा हतः ।। ।५२ ।

भानुभक्तले गरेका अनुवाद–

‘मैन्हा दिन् बिति गै गयो त पनि त्यो फर्केन बाली जसै ।
सारै दिक् म थियाँ कसो गरुँ भनी आयो रगत् पो तसै ।। १५ ।
लौ वाली त मरेछ हेरि रगतै आयो गुफा देखि ता ।
मैलाई पनि फर्कि मार्छ रिसले गूफा थुनी जां म ता ।।
यस्तो बुद्धि भयो र पत्थर ठुलो ल्यायाँ र गूफा थुन्याँ ।
फर्की आउन मन् ग-या पनि सहज् निस्की न सक्नू हुन्या ।। १६ ।
यस्ता पाठ् सित खुप् थुन्या र म फि-याँ वाली म-या लौ भनी ।’

०००
माथिको अनुवादमा वालि र मायावी नाम गरेको राक्षसको द्वन्द्वमा ढोकामा सुग्रीवलाई राखेर राक्षसको पछिपछि एउटा गुफामा वालि गएको प्रसङ्ग छ । हुन त भानुभक्तको अनुवादमा गुफाबाट रगत आयो भन्ने कुरा दोहोरिएको छ, तर ‘सारै दिक् म थियाँ कसो गरुँ भनी’ तथा ‘फर्की आउन मन् ग¥या पनि सहज् निस्की न सक्नू हुन्या’ भन्ने सुग्रीवका मनमा चलेको मानसिक द्वन्द्व अध्यात्म रामायणले बताउँदैन । भानुभक्तको रामायणले भने ठ्याक्कै मानिसका मनमा खेल्ने अन्तद्र्वन्द्व पनि विभिन्न प्रसङ्गमा जस्ताको तस्तै राखेका छन् ।
हो, रामायणका कारण उनी भक्तिरसका प्रणेता, धार्मिक भावनाका संवाहक तथा आध्यात्मिक चेतनाका अग्रणी कवि भए । अनुवादक मात्र हैनन् कि, मूल भावको अनुवादमा आफ्नो मौलिकता दिने ‘आदि’ कवि भए । तर उनको यस विराट् व्यक्तित्वका पछिल्तिर लुकेको विनोदप्रियता तथा व्यङ्ग्यचेतनाको हासपरिहासपूर्ण कविको पाटो भने हामीले खोतल्नु बाँकी नै छ ।
अन्तमा, झ्यालखानामा बस्दा उनको कवित्व शक्ति बुझेका कमान्डर इन् चीफ कृष्णबहादुर राणालाई उनले लेखेको व्यङ्ग्यात्मक कविताचिठ्ठीको अंश–

रोज् रोज् दर्शन पाउँछु चरणको ताप् छैन मन्मा कछू ।
रातभर् नाच् पनि हेर्छु खर्च नगरी ठूला चइन्मा म छू ।।
लामखुट्टे उपियाँ उडूस् इ सँगि छन् इन्कै लहड्मा बसी ।
लामखुट्टेहरू गाउँछन् यि उपियाँ नाच्छन् म हेर्छु बसी ।।

०००
राज्यसत्ताले कविका व्यङ्ग्यबाट सुधारको शिक्षा लिनुपर्छ भन्ने नै त हो नि भानुभक्तको मूल सन्देश ।
जय भानुभक्त !

………………………………..
(आचार्य स्थापित स्रष्टा हुन् ।)

Bidhan Acharya