• २०८१ श्रावाण ११ शुक्रबार

आमा तिम्रो नाम के हो ?

लक्ष्मी माली

लक्ष्मी माली

आमा तिम्रो नाम के हो ?
हजुरबा छोरी भन्नु हुन्छ
मामा दिदी भन्नु हुन्छ
बाबा श्रीमती भन्नु हुन्छ
म आमा भन्छु
आमा तिम्रो नाम के हो ?

म विद्यालय गएँ
महाविद्यालय गएँ
त्यहाँ तिम्रो नाम चाहिएन
धेरैलाई परिचय दिएँ
कसैबाट तिम्रो नाम सोधिएन

म बालिग भएँ
मताधिकार पाएँ
मेरो परिचयपत्रमा तिम्रो नाम लेखिएन
म नागरिक भएँ
बाबुकै नामबाट
म जागिरे भएँ
बाबुकै नामबाट
म बेनाम आमाकी छोरी
भन आमा तिम्रो नाम के हो ?

कसैबाट सोधनी नभएको
कतै उच्चारण गर्न नपरेको
तिम्रो नाम
सार्वजनिक गर्न चाहन्छु म
धर्ती भन्ने उपनाम होइन आमा
मलाई तिम्रै नाम चाहिन्छ
भन आमा
तिम्रो नाम के हो ?

(माली स्थापित कवि हुन्)

[email protected]