• २०८१ मंसिर २९ शनिवार

सोझो मान्छे

कैलासकुमार पाण्डेय

कैलासकुमार पाण्डेय

”विनोद सर तपाईं अति सोझो हुनुभयो । सोझो मान्छे जाँ पनि पछाडि पारिन्छन । तपाईंलाई हेड टिचर बनाउने हार्दिक इच्छा हो ।” आदर्श मा.वि.का अध्यक्षले बैठकपछि एकान्तमा भनेका कुराले विनोदलाई पटकपटक झस्काइरहन्छ । विनोद सरल स्वभावको मिजासिलो, पढेलेखेको नयाँ नियुक्त शिक्षक थियो । अंग्रेजीमा त्रि.वि.बाट स्नातकोत्तर गरेको आयोगको परीक्षा पास गरेर आएको शिक्षकको गाउँबस्तीतिर मानसम्मान छुट्टै किसिमको हुन्थ्यो । अरूहरू निजि स्रोत कै पनि माबिको शिक्षक भनी गफ दिन्थे तर विनोदको स्वभाव त्यस्तो थिएन । विषयवस्तुमा दखल र विद्यार्थीलाई सरलरूपमा सम्झाउनसक्ने भएकाले विनोद सरको छवि राम्रै बनेको थियो । विद्यालयमा सबैसँग सुमधुर सम्बन्ध बनेको थियो । बिरानो गाउँ भए पनि छोटो समयमा नै आफ्नै गाउँ जस्तै सबै चिर परिचित र सहयोगी बनिसकेका थिए ।

प्रायः आफ्नै कोठामा खाना बनाउँथे । कहिलेकाहीँ घरपट्टीकोमा पनि खाना खाने गर्थे । घरपट्टी आमाले खाना पस्किँदै भनेकी थिइन्, ”बाबु निकै सोझो हुनुहुँदो रैछ । अहिलेको जमना चारचौध गर्नेको छ ।” अभिभावकको सुझावजस्तै सुनिरहे मात्र । सोझो पनको सबै ठाउँ कुरा हुन्थ्यो । घरमा बज्यैको सान्निध्य थियो । बज्यैबाट परिवार, समाज, संस्कृति, सभ्यता बुझेका थिए । कुराको मेसो मिल्यो भने घरव्यवहार, सामाजिक परिवेश, देश, काल, परिस्थितिको बज्यै चर्चा गर्नुहुन्थ्यो । ”पढाइ लेखाइसँगै चार लाख विद्या, चौध लाख चतुर्याई जान्नुपर्छ । सोझो मान्छेलाई ठगेर खाइदिन्छन् ।”

बज्यैले भनेका यी कुरा अमिट रूपमा मनमस्तिष्कमा बसेका थिए । इजाले त सोझो मात्र होइन यो लाटो हो भनेर लाटोको संज्ञा दिनु भएको थियो । ”कति चलाख हुन्छन् केटाकेटी त, यस्तो सिघा मान्छेले कसरी गुजारा गर्ला” इजाले मेरा बिषयमा चिन्ता ब्यक्त गर्नु भएको थियो । ”कस्ता कस्ताले पनि जीवन निर्वाह गरेका छन् । यो सोझो भएर के भो, इमानदार, नैतिकवान र असल मान्छे भयो भने समाजमा आदरपूर्वक बसिन्छ ।” बुबाले उत्साह थपिदिनु भएको थियो । सोझोपनको फाइदा साथीहरू पनि उठाउँथे । गाउँका चारपाँचजना केटाहरू आँप खान भनि निस्किए । आँप निकै फलेको । यसो यताउति विचार गरे घरमा कोही थिएन । आँप टिप्ने सल्लाह भयो । विनोदले प्रतिवाद गरे । ”आएको बेला आँप टिपेर खानु भन्या थियो मेरो इष्ट नाता लाग्नेको घर हो” लछुवाले भने ।

”खानु भन्या छ भने त खानुपर्यो” मदनले थप्यो ।
विनोदले प्रतिवाद गरिरहे । प्रतिवाद गर्दागर्दै साथीहरूको लहलहैमा आँप टिप्न तयार भए । रुखमा चढी आँप टिप्दा टिप्दै आँपका मालिक आएछन् । अरू साथीहरू भाग्न सफल भए तर विनोद रुखमै रहेको अवस्थामा फेला परे । निकै गाली खाए । फटाह केटाहरूको पछि लागेर आफ्नो भविष्य बिगार्नु भएन भनेर सम्झाएर पठाए । यस्ता कैयौं घटना घटेका थिए विनोद सरका । सबै स्मरण मै थिए घटनाहरू जो सोझो भएका कारणले झमेलामा पारिएका । आफन्त शुभचिन्तक सबै तिमी सोझो छौ भन्थे । त्यही सोझोको कुरा विद्यालयमा पनि उठ्यो ।

विनोदलाई लाग्थ्यो कसैको केही बिराएको छैन तै पनि ईष्र्या गर्ने निस्कन्छ भने अलि केही तलमाथि गरे सिध्याउँछन् । आफ्नो जिम्मेवारीको कार्य इमानदारीका साथ गर्ने बाँकी दुनियादारीको पछि नलाग्ने मान्यता थियो उनको । तर समाजको चलनचल्ती अवस्था चहलपहलको अगाडी सत्यलाई आत्मसात गर्नु पर्छ भन्ने अटल मान्यता थियो । सत्यमा नै पृथ्वी अडेको छ, सत्यमा नै सूर्य प्रकाशित छ, सत्यमा नै वायु निरन्तर बहिरहेको छ । सबै सत्य प्रतिष्ठित हुन्छ । भगवानले पनि सत्य देख्छन् तर कुर्नुपर्छ भनी पढेको थियो । पढेको सबै व्यवहारमा आउँछ भन्ने छैन तर सत्यकाप्रति उ अडिग छ । त्यही कारण सोझो छ, लाटो कहलिन्छ ।

क्याम्पस पढ्दा विद्यार्थी राजनीतिमा उसको सक्रियता कम थिएन । आफ्नो संगठनको हरेक गतिविधिमा अग्रमोर्चामा पुगेको हुन्थ्यो । पदीय जिम्मेवारी पाउँदा पहुँच आवश्यक हुँदो रहेछ । कसैको हाम्रो हुनुपर्ने रहेछ । हाम्रो प्रवृत्तिले राम्रो ओझेल पर्दो रहेछ । जिम्मेवारी प्रदान गर्नेसम्म पहुँच भएन । नेताको अगाडिपछाडि रहेर जीहजुरी गरिएन । स्ववियुमा टिकट पाइएन । संगठनको कुनै तहमा पनि महत्वपुर्ण जिम्मेवारीबाट अलग रहनु पर्ने अवस्था आयो । एउटा नेताले सान्त्वना दिँदै भनेका थिए ”विनोद तिमी साह्रै सोझो भयौ । यो पदका लागि योग्य र उपयुक्त व्यक्ति पनि हौ तर तिम्रो सोझोपनले अरूले अवसर पाउने भए ।” उक्साउने पनि धेरै आए ”के पाउँछौ निष्ठाको पाठ पढेर । कम्मर कस स्वतन्त्र लडनुपर्यो ।” दुईचारजना विद्यार्थी सदस्य रहेको संगठनका साथी आएर ”हाम्रो संगठनबाट चुनाव लडनुपर्यो ।” भने ।

विनोद आफू जे छु ठिकै छु भन्नेमा विश्वस्त थियो । पढाइ सकेर शिक्षक आयोग खुल्दा आयोगमा नाम निकालेर आदर्श माबिमा पोष्टिङ्ग भएर गए । इजा, बुबामा खुसीको सिमा नै रहेन । छोरो मा.बि. तहको शिक्षक भयो । सबै तिर खुशी नै खुशी छाएको थियो । घर परिवारको हार्दिक इच्छा छोराको बिबाह गर्न पाए हुन्थ्यो भन्ने थियो । चिनजान सम्पर्क सबै ठाउँमा मेरो छोराका लागि भनी हाल्थे । गाउँघर तिर दौँतरी साथीभाइ सबै बिहा गर है भन्ने सल्लाह दिन्थे । जयदेवी काकीले आफ्नो माइतीतिरकी असल कन्या छ कुरा चलाऊँ कि भनेर सोधिन् पनि । त्यस्तै हरिदत्त दाइले आफ्नो साली ल्याउने सल्लाह दिए । जन्तरी भाउजूले आफ्नी भदैको कुरा गर्ने कि भनी सोधिन् । हुन त समयअनुसारको कुरा पनि हो चौबीसपच्चीस टेक्दै गर्दा सरकारी जागिरमा प्रवेश गरेको घरजम गर्ने उपयुक्त समय पनि हो । शिक्षक स्टाप कोहि दौँतरीका थिए भने कोहि बुढाबुढा अवकाशको नजिक पुगेका पनि थिए । प्रमोद सर भनी सबै जान्ने प्रेमप्रसाद प्रमोदले आफ्नो छोरीको विषयमा विनोदसँग कुरा चलाउन सुरु गरे । विनोदले घरमा कुरा गर्छु भनी टारी दिए ।

आदर्शका हेडसर निकै कुटनीतिक पाराका एउटाको कुरा अर्कोलाई लगाई एक आपसमा सकेसम्म त झग्डा नै गराउने भएन छ भने पनि एक अर्कामा सन्शय फैलाई राख्ने । रक्सी, गाँजा, चुरोट पिउनमा शिक्षक कर्मचारीहरूलाई प्रेरित गरिराख्थे । आज त बिदा छ रमाइलो गरौ भन्दै तास खेल्न बस्ने त्यहीँ माछा, मासु खाने । बसाइ झन् रमाइलोको कुरा उठदा रक्सी मगाइ हाल्ने ।
”लिउँ लिउँ सर केही हुँदैन” त्यो क्लबमा सरिक सबैलाई गिलास थमाउँदै हेडसरले विनोदलाई प्रेरित गरे । ”नामुद जड्याहा हामी पनि कहाँ हो कहिलेकाहीँ साथीहरूसंग मनोरञ्जन गरिन्छ ”मनोज सरले जोडे ।

सबैले आ–आफ्ना किसिमको जोडवल पछि विनोद पनि गिलास समातेर तयार भए । एकै साथ चेयर्स भन्दै रमाइलो गर्न लागे । रङ्गिलो वातावरण हुँदै गर्दा हेडसरले कुरा अन्तै मोडेर ”विनोदसर अब बिहा गर्नु पर्यो ”जीवन उपयोगी सुझाव दिए । अधिकांश अर्धचेतको अवस्थामा पुगेका थिए । विभिन्न प्रस्ताव पेस भए । तमाम प्रसंग उठे । राम्रा नराम्रा कुरा भए । पिएको तालमा । पिउने मनोविज्ञान नै त्यस्तो अन्तरमनका कुरा ओकल्न पिउने, हल्ला गर्न पिउने ,गाँठी कुरामा केन्द्रीत रहन पिउने । पिउनेले छुट पनि पाउँदा रहेछन् । पिएको बेलाको कुरा त्यति महत्व दिनु भएन भन्न पनि मिल्ने रहेछ । ऊ त पिएको थियोे सद्दे मान्छे त्योसँग किन लागेको सम्म भन्न भ्याउँछन् । शिक्षकको शुक्रवारे जमघटमा अन्तरंङ्गका कुरा समेत हुन्थे । विनोदलाई मन पर्थेन तर साथीसंग साथी जस्तै बन्नु परेको थियो । विनोद चाहन्थे आदर्श माविलाई नमुना बनाउन । भएको विद्यमान अवस्थामा आमूल परिवर्तन गर्न सके मात्र नमुना बनाउन सकिन्छ भन्ने मत थियो ।

लगनशील विद्यार्थी, समर्पित शिक्षक, प्रतिवद्ध अभिभावक भए मात्र गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने कुरामा विनोदको बिश्वास थियो । त्यसका लागि बिद्यालय परिवार तयार थिएन । एउटा असल शिक्षकको भूमिकाबाहेक धेरै गर्न सकिने केही थिएन ।
”विनोद सर उमेर पनि भैसक्यो बिहे गर्नु पर्यो” हेडसरले कुरा बढाए ।
”हुन्छ सर गर्नु पर्ला” सामान्य रुपमा विनोदले उत्तर दिए ।
”मेरो साली छिन् पढे लेखेकी पनि राम्रो परेवा जोडी बन्छ”
हेडसरले प्रस्ताव अघि सारे । विनोद मौन रहे । हेडसरले मौनम स्वीकृत लक्षणम् भनी बुझे । कुरा चलाए । हेडसरका ससुरा बा कुरा छिन्न पुगि हाले ।
निकै लामो छलफल भयो । अन्ततः हेडसरकि साली रमितासंग विनोदको बिहा हुने भयो । विनोदले घरमा खवर गरे परिवारको इच्छा दुलही घरमै भित्र्याउन पाए हुन्थ्यो भन्ने तर ब्यवस्थापन सबै हेडसरको भएकाले डेरा रहेको घरमै बिबाह हुने भयो । निन्याउरो अनुहार लगाउँदै छोराको बिहामा विनोदका इजा, बुवा ,काकाकाकी पुगे ।

धुमधामसंग विवाह भयो । विनोद, रमिता, बिबाहमा शिक्षक विद्यार्थी समेत रमाए । बिहा कार्यक्रमको बिदा वादीमा काकीले भनिन ” विनोद दुलही कडा मिजास कि छन राम्ररी सम्हाले है” । विनोद केही बोलेनन् । बिबाहको दिन नै खटपट सुरु भैसकेको थियो । पाखे भनेर जन्तीलाई जिस्याएको घटनाबाट रमिता विनोद वादविवाद चलेको थियो । लोग्ने स्वास्नीको झगडा परालको आगो भन्थे तर यहाँ भुसको आगो बनिसकेको रहेछ । हरेक दिन ससाना कुरामा खटपट भैरहने । रमिताको हेराइ, बुझाइमा हेय ,घृणा थियो । आत्मीयता प्रेमको बिकास हुन सकेन । छुट्टीको समय मिलाएर गाउँमा रहेको आफ्नो घरमा पुगे विनोद दम्पतिको भब्य स्वागत भयो । बन्धुवान्धव,इष्टमित्र,आफन्तको निकै जमघट थियो ।

गाउँमा रहेको घर रमिताका लागि भूतबंगला जस्तो लाग्यो । आफन्त कोहि देखिएनन् सबै पाखे देखिए ।
अन्तरद्वन्दले सिमा नै नाघ्यो ।
”मेरो शरीरसंग खेल्ने हो तिम्रो मनसाय जति सक्छौ खेल । मलाई तिम्रो भैरहने रत्तिभर मन छैन” रमिताले भित्री कुरा खोली ।
”बाध्य कसले पारेको छ र ?” इटका जवाफ पत्थरले फर्काए ।
”यो भन्दा त बम्बैको कोठि नै ठिक हुन्थ्यो होला” रमिताले कालिकाको रुप देखाउली जस्ती भई । रातीको तनावसंगै बिहानै बस चढेर रमिता माइतीघर लागि विनोद बिद्यालय तिर । हेडसर रमिताका कुरा सुनेर विनोदलाई पटकपटक रमिताको अभिभावकको रुपमा सम्झाई रहन्थे । विनोद निकै तनावमा रहन्थे । रमिता माइती गएको खवर हेडसरलाई थियो । विनोद स्कुल पुग्ने बित्तिकै बाघले झम्टुला झै गर्जना गरि पडकिए ”एउटा पत्नी सम्हाल्न नसक्नेले ठुला कुरा गर्ने”।

आक्रमणलाई प्रतिआक्रमणमा बदल्दै जवाफ फर्काए ”पत्नी पत्नी जस्तो हुनु पर्यो । घर गोमन पालेर बस्न सकिँदैन । स्नेह बिहिन सम्बन्ध निरर्थक हुन्छ ।” झण्डै हात हालाहालको अवस्था आयो । सबै शिक्षक कर्मचारी लागेर स्थिति नियन्त्रणमा लिए । विद्यालय दिनभर त्यही बिषयमा तनावग्रस्त रह्यो । स्कुलबाट फर्केपछि विनोद एक्लै टोलाएर बसे । मनोविनोद सुरु भयो । सायद म साह्रै सोझो रहेछु । मेरो सोझो पनले सधैँ समस्यामा पारी रह्यो । म साह्रै सोझो र उनी निकै बाठी भएकाले होला हामीबीच फाटो उत्पन्न भएको । हुन त उसका इच्छा आकांक्षा आकाशिदै गएका छन् । मेरो क्षमताले असहज, असिमित आवश्यकतालाई सम्बोधन गर्न सकेन । म भन्दा पनि अरू नै उसका सम्पर्कका मान्छे थिए । अरूहरू नै उसका स्नेहयुक्त थिए । सम्बन्ध बलियो बिश्वासले हुन्छ । विश्वासको बाटो पैरोले भत्काएको छ ।अनायास जोडिएको डोरी विश्वासको संकट चुडिएको छ । दील टुटै पत्थर फुटैको अवस्था छ । यस्तै भावमा रुमल्लिदै रात बिताए ।

बिहान बाहिर निस्कँदा रमिताको रमिता चली रहेको थियो । ”विनोद सर त सोझो मान्छे हुन । निकै बाठी श्रीमती फेला परिन बिचल्ली पारेर गई ।”
बिहा पछिका हरेक दिन तनावमा रहे । नव दम्पतिको सुखद दाम्पत्य कहिले बनेन । हेय, कुण्ठा र घृणाको नजर रह्यो रमिताको । विनोदको प्रयास असफल साबित भयो । हरेक दिन पारपाचुकेको कुरा हुन्थ्यो । माना चावल लिने कहिले नफर्कने जाने सुर रमिताको थियो । पारिवारिक सम्बन्धमा बाहिरी प्रभाव निकै रहन्छ । शुभचिन्तक साच्चिकै शुभभावना राख्ने भए सम्बन्ध बलियो बनाउन लाग्थे । बनिसकेको सुन्दर घर बाढीले बगाएर लग्यो । सजिएका सुन्दर सपना बिलाएर गए ।


कैलासकुमार पाण्डेय, परशुराम १२, डडेल्धुरा