यात्रा त जीवनकै हो
तर मेरो यात्रा
यति सीमित छ
मात्र तिमीदेखि तिमीसम्म
म गन्तव्य खोज्न
गन्तव्य नै चहार्छु
तिमीलाई पाउन
तिमीमै वशीभूत हुन्छु ।
जहाँ तिमी
त्यहीँ मेरो मन्दिर
आफैँलाई भुली
मेरो मन
तिमीमै आराधनारत हुन्छ ।
हो, मन्दिर अगम्य शिखरमा नै हुन्छ
म त्यो अगम्यता चढ्छु
त्यही मेरो सगरमाथा हो
तर म उकालीबाट हैन
ओरालीबाट त्यो सगरमाथा छुन्छु
किनकि
तिम्रो मायाको स्पर्श पाउन
सक्दो झुक्नु नै
मेरो निम्ति
सर्वोच्च शिखर चुम्नु हो ।
साभार: वसन्त (कवितासङ्ग्रह)
[email protected]
(चौधरी विशिष्ट साहित्यकार हुन् ।)