(क) मैले खोली नै दिनुपर्ने हो
आफ्नो मुटु
कि तिमी हेर्न सकौ- मेरा घाउहरूको दराज !
म किन भागेँ
किन अहिले पनि भागि नै रहेछु
तिमीले देख्ने छौ
म भित्रको सन्त्रास ।
(ख) म चिम्लिन्छु आफ्ना आँखाहरू
तर पनि जे देखिन्छ- सबै रातो- रातो
जस्तो कि रगत
या फेरि अफिम
कसैगरी मैले बिर्से पनि
तिनीहरू जलि नै रहन्छन्
रातो- रातो ।
(ग) एउटा मर्मान्तक ब्लेडजस्तो
तीक्ष्ण वेदनाले
मलाई चिरिरहेछ- भित्रभित्र
बुझ्नै सक्दिनँ
किन ?
दुख्ने मुटु
चहराउने घाउ
शब्द, अन्तराल, विचार
शब्दघाउ ।
अनुवाद: राजेन्द्र शलभ