२०२० मा अष्ट्रेलियाको जंगलमा आगलागी भएको समयको चित्रित कविता
महिनौँ देखि अष्ट्रेलियाको जंगलमा आगो सल्किरहेछ
निभ्दैन त !
अनि सोध्न मन लागिरहेछ
अन्तरिक्ष विजेताहरूलाई
एकै छिनमा संसार धवस्त बनाउने आणविक हतियार
र यसका ठेकेदारहरूलाई
प्राणी भित्रको आत्मा
र यसको अमरत्वको व्याख्या गर्नेहरूलाई
साझा पृथ्वीको अवधारणा ल्याउने ती सुन्दर मनहरूलाई
युद्धको दम्भ उचालेर रण कौसल देखाउनेहरूलाई
केमिकलको प्रयोग गरि पानी बनाउनेलाई
केमिकलकै प्रयोग गरि आगो निभाउनेलाई,
हो साँच्चै मलाई सोध्न मन छ
यो आगो अष्ट्रेलियाको मात्र हो ?
यी १०० करोड आत्माहरू अब त्यहीं मात्र घुम्छन ?
प्रदुषित मन र अस्वस्थ शरीर बोकेर
पृथ्वी घुमिरहेछ
करोडौं आत्माको मलामी बनेको खबर सूर्य सम्म पुर्याईरहेछ
भागवत गीता, बाईबल जताततै आत्माको कुरा छ
यति धेरै आत्माको क्रन्दनले पृथ्वी रूवाउंदैन होला ?
स्वर्गबाट धरतीमा आगो ल्याउने ए प्रमिथस !
धरतीमा पानीको ठेक्का लिएर बसेका देवेन्द्र
यो के तमासा हो ?
किन झमझम बर्षा भएन त्यहाँ ?
दुईतिहाई पानी भएको पृथ्वीमा
अष्ट्रेलिया जलिरहेछ
करोडौं आत्माहरू जलिरहेछन्
त्यो सुन्दर हरियाली जलिरहेछ
मानव सभ्यता त्राहिमाम छ
संसार रूवाउने यो त्रासदी
यी आँखाबाट अनयास पीडा बगिरहेछन्
मान्छेले खोतलेको खोतल्यै छ यो धरती
मान्छेले निरन्तर प्रताडन दिईरहेको छ यसलाई
मान्छेको क्रिडाभूमि मात्र हो यो धरती ?
के हो त यो धरती ?
डार्बिनले साझा मानेर गए
यी पशु प्राणी बिनाको कविता कस्तो होला ?
चरा बिनाको संगीत कस्तो होला ?
जंगल बिनाको नांगो धर्तीमा
पानी कसरी पर्छ ?
जलवायु परिवर्तनका नाममा
आईएनजीओहरू सेमिनार गरिरहेछन्
तर धरतीमा उदण्डता र ताण्डव नृत्य गरेर मान्छे
सभ्यता बाटै निरन्तर झरिरहेछन्
त्यत्रो समुद्र छ त्यहां
आगो निभेन खै ?
यत्रा प्रविधि छन् यहाँ
आगो निभेन खै ?
सोध्न मन छ
एउटै हतियारले संसार खत्तम पार्छु भन्ने लाई
आगो किन निभेन ?
वरूणास्त्र बनाउनेलाई सोध्न मन छ
आगो किन निभेन ?
सृष्टिकर्ता लाई सोध्न मन छ
के यो सृष्टि यस्तै हो ?
सूर्यदेवलाई सोध्न मन छ
कति ताप चाहियो दिवाकर ?
पृथ्वीलाई सोध्न मन छ
धरती माता ! तपाईंका सन्तानहरू जलेका जल्यै छन् त !
आफ्ना स्रोत र साधनले मात्र नपुग्दा
बाह्य सहयोग पनि बढेको छ
आगो निभ्दैन कतिनै प्रयासमा पनि
विविध सौन्दर्यको फूलबारी अष्ट्रेलियामा आज
अव्यक्त पीडा गढेको छ,
जलवायु परिवर्तनको डँका पिटेर के गर्नु
संसारका बलशालीहरूको महिमा सुनेर के गर्नु
आणविक हतियारको नालीबेली पढेर के गर्नु
जरत्कारूले पितृहरूको उध्दार गरेको कथा पनि सुनेकै हो
आत्माको अमरत्व र भागवत गीता पनि पढेकै हो,
अनेकौं प्राणी र हरियालीले सुन्दर बनाएको
पृथ्वीमा दावानल सल्किए पछि
खग्रास ग्रहण लागेको आकासमा
डढेको माया मठ बोकेर देवगणहरू डुल्न निक्लिए पछि
आंसुहरूको सागर कस्तो होला ?
के म आत्माको बखान मात्र गरिरहु्ं ?
निरो जस्तै बांसुरी बजाएर जलेको रोम हेर्नै ईच्छा कसैलाई नहोस्….
यो चन्द्रमा डढिरहेको समय,
आतङ्कित विश्व,
करोडौंँ बर्षदेखि पृथ्वीले जोगाएका सन्तानहरू
तिमीहरू डडिरहँदा पनि मैले केही गर्न सकिन…
छल्केको समुन्द्र पनि बोल्दैन
अग्लेको हिमाल पनि केही भन्दैन
अरू त के भगवान पनि बोल्दैनन्
समुन्द्रै समुन्द्र भएको पृथ्वीमा
भष्मासुर बलियो भएर आयो
रक्तवीजले आगो बनेर ती प्राणीलाई चपायो
आगो निभाउने प्रयास जारी छ…..
तर भष्मासुर प्राणीको मासुमा रमायो
संचार माध्यम कराका कराई छन्….
ब्रम्हाण्डको अन्वेषणमा जुटेका ए वैज्ञानिकहरू !
चन्द्र धरातलमा बस्ती बसाउन हिम्मत गर्नेहरू हो !
यति सुन्दर महादेश जोगाउन अहिले
यति सुन्दर चराचर बचाउन सबैले
चन्द्रमाको बसाई त सफल होला, नहोला ?
भगवानले दिएको यो धरती जोगाउ पहिले
धरती जोगिए मात्र हबल टेलिष्कोपको काम आउला,
अनि ग्रह, नक्षत्रको अन्वेषणमा रमाउँला
नासाको कृति सुवास जगमगाउला,
जलिरहेको धरती देखेर बिचलित म
त्यहां जस्तै मेरो मन पनि जलेको छ,
यो डरलाग्दो कालखण्डमा,
अष्ट्रेलिया जल्दा हामी जलिरहेछौंँ
जिजीविषाहरूमा दरार पैदा हुँदा
हामी गलिरहेछौं ।
विज्ञानले
पृथ्वी विजय गरेको यहीँ हो ?
बचाउने त धरती माता हुन्
न्यानोपन मिलेर आएको छ माथिबाट
प्रगतिको नाममा थाङथिलो पारिएको छ धरतीको मुटु
हाम्रै उत्ताउलोपनले पर्यावरण गिजोलिएको छ
आमालाई झुकाईरहे
सृष्टिकर्तालाई दुखाईरहे
खै अरू के के हुने हो ?
दुईतिहाई खण्ड पानीले भरिएको पृथ्वीमा
करोडौंँ प्राणी डडेर मरे
कयौँ प्राणी आगोको भीषण रापले रोएर मरे
कयौँ डराएर मरे
अत्तालिएर मरे
विचलित भएर मरे
दर्जनौं उध्दार कर्मीहरू मरे
दर्जनौ सुन्दर मनहरू मरे
दर्जनौ सुन्दर आत्माहरू मरे
कठै ! यो प्यारो धरती
कठै ! त्यो सुन्दर महादेश
प्यारो अष्ट्रेलिया
तिम्रा आँसु संगै यी आंसु बगिरहेछन्
यो क्रुर खेल प्रकृतिको
संसार आफ्नै धुनमा छ
प्रकृतिको ताण्डव नृत्यमा
तन्त्रमन्त्रहरूको पनि काम आएन,
के लेख्नु र कविता खै ?
त्यो विनासकारी आगोले करोडौं जीवहरू जलिरहेछन्
असीम हरियालीहरू जलिरहेछन्
मानव मूर्छना र सुन्दर सपनाहरू जलिरहेछन्
सिंगो पृथ्वी र यसका अपार सौन्दर्यहरू जलिरहेछन् !!!
गोपीकृष्ण प्रसाईं, काठमाडौं
[email protected]