• २०८१ माघ २७ आइतबार

झापाका पाँच स्रष्टालाई दीर्घ साधना सम्मान

बिर्तामोड ।

साहित्य, संगीत र कलाको संगम साहित्य चौतारी झापाले मासिक सांगीतिक काव्य सभा र राष्ट्रिय बाल दिवसको अवसर पारेर झापाका विभिन्न पाँचजना अग्रज स्रष्टालाई दीर्घ साधना सम्मान प्रदान गरेको छ । साहित्य चौतारीको श्रीवृद्धिमा सहयोग गरी अभिभावकीय भूमिका निर्वाह गर्ने स्रष्टा सर्जकहरुलाई राष्ट्रिय बालदिवसको अवसरमा शुक्रवार आयोजनागरिएको सांगीतिक काव्य सभामा दीर्घ साधना सम्मान प्रदान गरिएको हो ।

साहित्य चौतारीका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठले स्थापनाकालदेखि जोडिएर साहित्य चौतारीको संस्थागत विकासमा अनरवत उल्लेखनीय योगदान दिएवापत स्रष्टाहरुलाई दीर्घ साधना सम्मान प्रदान गरिएको बताए ।
प्राज्ञसभा सदस्य सुमित्रा वाङ्देल चेलीको प्रमुख आतिथ्यर साहित्य चौतारीका अध्यक्ष हस्त परियारको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा प्राज्ञ यज्ञराज प्रसाईसहित स्रष्टाहरू डिल्लीराज नेपाल, पून्यप्रसाद खरेल, जयनारायण ढुङ्गाना र हरिनारायण भट्टराईलाई सम्मान प्रदान गरिएको हो ।

यसअघि अघिल्ला मासिक सांगीतिक काव्य सभाको अवसरमा साहित्य चौतारीले अग्रज स्रष्टाहरू विजय खरेल, लीला उदासी, भवानी क्षेत्री र हरिचरण बानियाँलाई दीर्घ साधना सम्मान प्रदान गरेको थियो । गतसाता मात्रै साहित्य चौतारीको टोलीले इलामस्थित निजी निवासमा पुगेर गायक तथा संगीतकार कुबेर राईलाई दीर्घ साधना सम्मान प्रदान गरेको थियो । अस्वस्थ भएर घरमा स्वास्थ्य लाभ गरिरहेका बेला आर्थिक सहयोगसहित राईलाई उक्त सम्मान प्रदान गरिएको साहित्य चौतारीका संस्थापक श्रेष्ठले बताए ।

कार्यक्रममा उपाध्यक्ष कृष्ण सुवेदी निराकारले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन मासिक काव्यसभाकी संयोजक सुनिता तामाङले गरेकी थिइन् । कार्यक्रममा सम्मानित प्रतिभासहित साहित्य अच्युत घिमिरेले लगायतले बोलेका थिए ।