जलुकाको पातमा लेखेर
स्वर्णअक्षर
तिमीले मलाई
सम्झनामा बाँच्ने दिनहरू छोडेर जानू
कतै रुखको हाँगामा अल्झेछ मुटु भने
चरा उडेर बस्न
पखेँटाहरू छोडेर जानू
उदासीमा बचेको समयलाई
गाउँसँगै रमाउने मन र
ऋतुहरूसँग बद्लिने रङ छोडेर जानू
पर्दैन अरू केही
नसम्झे हुन्छ मलाई
छ एउटा मुटु भने
मुटु छोडेर जानू
मुटुजस्तै भइदिनू
आकाशजस्तै छाती छ भने
टाँगिनू आकाशसम्मै
आकाशजस्तै भइदिनू
पर्दैन अरू केही मलाई
जलुकाको पातमा लेखेर
स्वर्णअक्षर
तिमीले मलाई
सम्झनामा बाँच्ने दिनहरू छोडेर जानू ।
गीता कार्की