• २०८१ बैशाख १३ बिहीबार

समय

शान्तिप्रिय वन्दना

शान्तिप्रिय वन्दना

समय बाहेक
अरू केही छैन अजम्बरी
अतीतका कन्तुरमा
चाङ लागेर बसेका बेलपत्रहरू समेत
धमिलिँदै जाँदा रहेछन्

दोहोरिन्छ बिहान
हरेक दिन ढल्छ साँझ
ओढेर ताराहरूको बाक्लो बर्को

के मात्रै सिकाएन
समयको पाठशालाले  ?

जीवनमा
गहन अर्थ छ
चम्किरहेका ताराहरूको
उदाँउदो घाम
र, सरसराउँदो हावाको
सुसाइरहेको नदी
दर्किरहेको पानी
र, तप्किरहेको बलेसीको

नवजात शिशुको पहिलो रुवाइ
जननीको प्रसवपछिको पहिलो मुस्कान
आवेग, उल्लास र उमङ्गहरू…

शोकग्रस्त घरको उदास आँगन
बिछोडमा चल्ने नमीठो बतास
दुःख, सुस्केरा र उदासीहरू…

जीवनका अनमोल कडी हुन्
यी सबको आलेख हो समय
धर्ती र मान्छेलाई
सतत नियालिरहन्छ समय

समयसँग खेलबाड गर्नेसँग
समयले पनि खेलबाड गर्छ


शान्तिप्रिय वन्दना
[email protected]