चितवनबाट पढ्न
डाक्टर बन्न काठमाडौँ आएँ
मेडिकल साइन्स
स्टेज साइन्समा रूपान्तरित भयो ।
पहिलो नाटक
बद्री अधिकारीको निर्देशनमा
‘भस्मासुरको नलीहाड’
नाटककै क्रममा ‘आरोहण’ सँग जोडिएँ
‘आरोहण शनिबार’
त्यस बेलाको नियमित नाटक गर्ने
एउटा नौलो अभियान ।
सुनील सर, निशा, सूर्यमाला
शलभ दाइ संयोजक हुनुहुन्थ्यो ।
०००
नाटकसँगै सूर्यसँग पनि प्रेम बस्यो
त्यो प्रेम विवाहमा परिणत भयो ।
नाटकको भन्दा बढी लोकप्रियता
मैले टेलिनाटकबाट पाएँ
त्यत्तिबेला भर्खर सुरु भएको
नेपाल टेलिभिजन
एक मात्र टिभी च्यानल थियो
र हरेक साता सबैको घर–घरमा
पुग्नु र आफ्नो अभिनयले प्रिय बन्नु
यही नै दिनचर्या बन्यो ।
०००
नाटकमा सबैले रुचाएकै बेला
मैले टेलिशृङ्खलाहरूमा
अभिनय गर्न थालेँ
र टिभीमा सारै लोकप्रिय भएकै बेला
२०४६ सालमा ठूलो पर्दामा
अभिनय गर्न थालेँ
मेरो पहिलो चलचित्र हो
‘विजय–पराजय’ ।
त्यसपछि त रङ्गमञ्च पछि छुट्यो
रजतपटले नै अँगालिरह्यो
फुर्सद नै थिएन
दिनरात सुटिङ्–सुटिङ्
३१ वटा चलचित्रमा मुख्य भूमिका
निर्वाह गरिसकेपछि
अचानक एकदिन अमेरिका उडेँ ।
०००
हो ! मेरो जीवनमा
योजनावद्घ आजसम्म
केही पनि भएको छैन ।
पढाइ, काम, विवाह
सबै अचानक नै भएका छन् ।
२०५३ मा अमेरिका पुगेँ
करिब दुई दशक बसेँ
खै !
किन गएँ ? किन बसेँ ?
पैसा–नाम दुबै
यहाँ छँदैथियो
अझै अनुत्तरित छन्–
यी प्रश्नहरू !
०००
हुन त त्यहाँ बस्दा पनि
अभिनय छुटेन
‘युनाइटेड नेपाल’ भन्ने
एउटा संस्था बनायौँ
र त्यसैबाट स्टेज कार्यक्रमहरू
एकल अभिनयहरू गरि नै रहन्थेँ
तर धीत मरेन
कतै अपुरो नै छु– जस्तो लाग्थ्यो
कसैलाई दोष दिन सक्दिनँथेँ
भित्रभित्रै छटपटिन्थेँ
र मौका मिल्नासाथ त्यो छटपटी
कुनै स्टेजमा पोख्थेँ
न फर्किन सकेँ
न रमाएर त्यहाँ बस्न नै सकेँ ।
०००
यही छटपटीले हो
वा आफन्त÷देशको मायाले हो
(भुइँचालोले मलाई सोच्न बाध्य बनायो )
२०७२ को फागुनमा म नेपाल फर्के ।
धेरैले धेरैथरी टिप्पणी गरे
आफ्नै घर फर्किंदा पनि
कुनै अपराध गरेजस्तो
कसैको भाग खोस्न आएजस्तो
सबै सुनेँ÷सहेँ
र चुपचाप आफ्नो काममा
तल्लीन भएँ ।
०००
पोल्ट्रीको पारिवारिक व्यवसाय
छँदैथियो– त्यसैमा लागेँ
तर मलाई नेपाल फर्काएको
यही अभिनय–मोहले नै हो
फेरि चलचित्रमा फर्किएँ
आएर पनि एक दर्जन बढी
सिनेमामा अभिनय गरिसकेको छु
त्यसका साथै अभिनयमा
सक्षम पुस्ता तयार गर्ने उद्देश्यले
माला आर्ट्स् एकेडेमीमा
प्रबन्ध–निर्देशक भएर बसेको छु
सुटिङ्बाहेकको मेरो समय
अचेल यहीँ बित्छ ।
भन्नेले त यसलाई पनि
पारिवारिक व्यवसाय भन्छन्
के गर्नु परिवारका सबै सदस्य नै
कलाकारितामा लागेपछि ।
०००
अब पनि यही गर्छु भन्ने
निश्चित कुनै योजना छैन
योजनाअनुसार कहिल्यै केही गरिएन
जे पर्छ त्यही गर्ने बानी छ
डाक्टर पढ्न आएको कलाकार भइयो
हिट भएका बेला अमेरिका गइयो
त्यहाँ स्थापित भएर मोज गर्ने बेलामा
फेरि फर्केर यहाँ आइपुगियो
सायद दुःख गर्नु नै
मेरो स्वभाव हो ।
पछुतो भनूँ भने– छैन पनि, छ पनि
अलिकति पछुतो छ–
पढ्न नपाएकोमा
अमेरिका गएर बसेकोमा;
आफूभन्दा पनि सूर्यलाई
अभिनयबाट टाढा पु¥याएकोमा ।
०००
असन्तुष्टि भनौैँ
कि अझै काम गर्ने जाँगर
यत्रो काम गरियो
तर के मिल्या छैन–छैन
चाहेजस्तो काम– अझै गर्न सक्या छैन
र यही असन्तुष्टिले
अभैm काम गर्ने जाँगर थप्छ
तर सन्तुष्ट छु–
अधिकांश नेपालीले माया गर्छन् ।