• २०८१ माघ ५ शनिवार

तिम्रो प्रेमका नाममा

ज्ञानु अधिकारी

ज्ञानु अधिकारी

आज अप्रत्यासित रूपमा अतीतमा पुगेर भर्खरै फर्किएकी छु । मनभित्र अझैसम्म त्यसकै तरङ्ग सञ्चारित भइरहेछ । त्यहाँ पु¥याउने कारक अरू होइन, तिमी नै थियौ । कसैको फेसबुक स्टाटसमाथि तिम्रो नामबाट लेखिएको कमेन्ट देखेँ । नामले झस्कायो । तिमी हौ वा अरू नै हो, निश्चित गर्न प्रोफाइल खोलेर हेरेँ । मेरो मनोलोकमा भएभन्दा नितान्त फरक तिम्रो तस्बिरसहितको त्यो प्रोफाइल तिम्रै रहेछ । भर्खरै फेसबुकमा प्रवेश गरेका रहेछौ । पूरै प्रोफाइलभरिमा जम्मा चारवटा पोस्ट थिए । तिम्रो र मेरो भेट नभएका यी २० वर्षका जीवनयात्रालाई बुझ्न मलाई ती चारवटा पोस्ट नै काफी भयो । ती चारवटा पोस्टमध्ये सुरुमा थियो तिमीहरू (श्रीमान्–श्रीमती) को आलिङ्गनबद्ध फोटो, दोस्रो थियो तिम्रो विशाल कम्पाउन्डभित्रको आलिसान घरको फोटो, तेस्रो थियो आफ्नै घरअगाडिको स्विमिङ्पुलमा स्विमिङ् गरिरहेका छोरा र छोरीको फोटो अनि चौथोमा थियो, तिम्रो व्यावसायिक संस्थाको विज्ञापन कार्डको फोटो । यी फोटोहरूसँगै राखेर हेरिरहेँ मैले बीस वर्षअगाडिको तिमीलाई । समयको गर्तमा कसरी पुरिएछन् है, नामोनिसान नै नरहने गरी हामीले बिताएका विगत । यतिका वर्षसम्म तिम्रो अवशेष, आहट र सङ्केत कतै पनि पाइनँ मैले र सोधखोज गर्न पनि पटक्कै मन लागेन, मनमा बसेको मान्छेको हालखबर अरूसँग सोधेर तिमीलाई बिरानो बनाउन कसरी सक्थेँ र ?

ती किशोरकालीन दिनहरू सम्झन्छु, तिम्रै सङ्गतले नै त हो मैले बादलको आकार फेरिएजस्तै मनभित्र बदलिरहने विविध किसिमका संवेदनालाई परख गर्न सक्ने भएको अनि कसैले नसिकाईकन नै पहिलोपटक स्वाभिमानको अर्थ बुझेको । जीवनका ससाना अनि नौला अनुभूति पनि मैले तिमै्र सामीप्यमा प्राप्त गरेकी थिएँ । त्यसैले, दोबाटोमा भेटिएका साथीलाई जस्तै स्वाट्टै बिर्सिदिन तिमीलाई कसरी सक्थेँ र मैले ? यी २० वर्षको आरोह–अवरोहमा मैले तिमीलाई हरेक पल यसरी सम्झिरहेँ कि, जसरी यात्रारत यात्रीले साँझमा आफ्नो घर सम्झन्छ ।

…अँ त आज दशकौँपछि मोबाइलको स्क्रिनमा तिम्रो निर्जीव फोटो देखेर म एकाएक उद्वेलित भएँ । लाग्यो तिमीलाई भन्न बाँकी र सुनाउन बाँकी धेरै कुरा रहेछन् मसँग र ती मेरा अचेतनभित्र अत्यन्त सुरक्षितसाथ बसेका रहेछन् । एकछिन अघिसम्मका यति लामो कालखण्डसम्म तिमी मेरो जीवनमा पवनजस्तै छोइने तर नदेखिने भएर रहेका थियौ । कुनै आख्यानको अति मन परेको पात्रलाई जस्तै अति गहिरो संवेदनासहित तिमीलाई सम्झन्थेँ र सम्झेजत्तिकै प्रेम पनि गर्थें जसरी हरेक मान्छेले आफ्नो विगतलाई प्रेम गर्छ । मैले दुई दशकसम्म पट्ट्याएर मनभित्र राखेका यादका पत्रहरूलाई आज तिम्रो तस्बिरले अचानक तितरबितर पारिदिए । थाहा छैन, किन यो लोभ पनि लागिरहेछ कि, तिमीलाई तिम्रो प्रगतिका लागि धेरै बधाई र शुभकामना पनि दिऊँ र आफ्ना सारा सङ्घर्षका कथा पनि सुनाऊँ । यसअघि मभित्र कहिल्यै जागृत नभएको इच्छा यसरी किन आयो ? कसरी आयो ? किन तिमीलाई अहिले नै भेटिहालूँजस्तो भयो ? मैले धेरैबेर सोचेपछि पत्ता लगाएँ कि, म किन तिमीलाई भेट्न व्यग्र छु ?

हो मैले मौनताको भाषाले तिमीलाई जुन वास्तविकता बताएकी थिएँ त्यो अहिले २० वर्षपछि सार्थक भएको छ र त्यो साक्षात् अगाडि नै देखिएको छ । त्यतिबेला मैले अत्यन्तै कठोर भएर तिमीबाट टाढा हुने र सकेसम्म अगाडि नै नपर्ने जुन निर्णय गरेकी थिएँ, त्यसलाई त्यतिबेला धोका, घात, तिरस्कार… आदि जुन नाम दिन सकिए पनि वास्तवमा त्यो प्रेमप्रतिको त्याग नै थियो । प्रेमकै लागि लिइएको निर्णय थियो । संसारमा टाढा बसेर प्रेम गर्न सकिँदैन भनेर कसले भन्न सक्छ ? नजिकमा बसेर प्रेमको अनुभूतिबाट वञ्चित रहनुभन्दा त टाढा बसेर अजस्र प्रेम खन्याइरहनु नै आनन्द र सन्तुष्टि होइन र ? वास्तवमा अहिले हामी जुन ठाउँमा उभिएका छौँ, त्यो ठाउँमा पुग्नका लागि हामी एकअर्काबाट छुट्टिनु जरुरी नै थियो । तिमीलाई थाहा छ ? अत्यधिक आसक्ति र प्रेमले जीवनको गतिमा अवरोध सिर्जना गर्छ र यसले कहिलेकाहीँ गर्तमा पनि पु-याउँछ । यस किसिमको प्रेमिल सम्बन्ध आत्मिक आनन्दका लागि मात्र हुन् । व्यावहारिक सफलताका लागि त परिस्थितिगत तालमेल मिल्नुपर्छ ।

मैले धेरै गीतहरूमा सुनेको छु, किताबहरूमा पढेको छु र सिनेमाहरूमा देखेको छु, प्रेमी–पे्रमिकाको विवाह नहुनु भनेको प्रेमको दुर्घटना हुनु् हो, प्रेम टुट्नु हो र असफल हुनु हो । तर, किनकिन यस्ता तथाकथित सत्यहरूसँग म भने कहिल्यै सहमत हुन सकिनँँ । के प्रेम टुट्ने, भाँचिने, छुट्ने अनि नासिने वस्तु हो र ? भर्खर किशोरकालीन दिन पार गर्दै गरेकी मैले तिमीभित्र अथाह प्रेम त देखेकी थिएँ तर त्यो प्रेमले पारिवारिक, व्यावहारिक, सामाजिक र परिस्थितिलाई सहज र अनुकूल बनाउने सम्भावना भने देखेकी थिइनँ । त्यसैले आज किन यस्तो लागिरहेको छ कि, हामीबीचको दूरी नै हाम्रो सफलताको कारक तत्व हो । जसरी जङ्गलका तीता टर्रा वनस्पतिहरू हाम्रो स्वास्थ्यका लागि उपयोगी हुन्छन् त्यसैगरी तत्समयका कतिपय कठोर र पीडादायी लाग्ने निर्णयहरू पनि जीवनका लागि हितकर हुने रहेछन् भन्ने उदाहरणलाई तिमीसमक्ष पेस गर्न पनि सायद ! आज यो मन आतुर भइरहेछ ।

फेरि हामीले जे कुरालाई प्रेम सम्झिरहेका थियौँ त्यो के साच्चै प्रेम थियो ? अथवा आकर्षण, आसक्ति वा अनुराग थियो ? हामी यी सबै कुरा बुझ्न र परख गर्न सक्ने परिपक्व पनि त भइसकेका थिएनौँ । तर के मात्रै थाहा थियो भने हामी एकअर्कालाई अतिसारै मन पराउँथ्यौँ । तिमी मान या नमान म दावीका साथ भन्नसक्छु कि, म तिम्रो सहयात्री भएर जीवनपथमा हिँडेको भए तिम्रो भौतिक प्रगतिको उडानले यति ठूलो उचाइ लिन कुनै हालतमा पनि सक्ने थिएन र तिम्रो ओठको मुस्कान यतिसारो गाढा हुनै सक्ने थिएन । जिरोबाट प्रारम्भ भएको तिम्रो वैवाहिक जीवनले छोटो अवधिमा नै अबौँको मालिक बन्ने हैसियतमा जसरी पुग्यो र जसरी देशकै सफल व्यवसायी बन्न सक्यो यो मेरो साथमा रहेर प्राप्त गर्नसक्ने सफलता नै थिएन ।

स्वभाव र प्रवृत्ति मान्छेको निजी पहिचान हो र यसलाई बदल्न निकै गाह्रो हुन्छ । धन, सम्पत्ति र विलासिताप्रति एकरति पनि आकर्षण नभएको मान्छे म । स्वतन्त्रता र स्वाभिमानमा कहिल्यै पनि सम्झौता गर्न नसक्ने म के तिमीलाई रातारात अरबपति बन्नका लागि साथ दिन सक्थेँ होला ? के तिमीलाई देशकै धनी मानिस बन्नुपर्छ भनेर प्रोत्साहित गर्थे होला ? बिहान–बेलुकी दुई गाँस जाउलो खाएर किताबकै पानामा हराउन मन पराउने मलाई के तिमीले बुझ्न सक्थ्यौ होला त ? न त म तिमीलाई आर्थिक सहयोग नै गर्न सक्थेँ न त तिमीले धेरै पैसा कमाएकोमा नै गर्व गर्न सक्थेँ । अनि कसरी चल्थ्यो होला हाम्रो मायाप्रेमको संसार ?

तिमीले व्यापार व्यवसायको कुरा गरिरहँदा म विश्वमा घट्दै गएको मानवीय संवेदनाको कुरा जोड्थेँ होला । तिमी प्रतिस्पर्धाको बाटोमा दौडिरहँदा म जीवनको निस्सारता र क्षणभङ्गुरताको कुरा गरेर अल्मल्याइदिन्थेँ होला । तिमीले आफ्नो बैंकव्यालेन्सको हिसाब गर्दैगर्दा म कुनै किताबको अद्भुत पात्रसँग हराइरहेको हुन्थेँ होला । अनि मैले गरेका कुरा तिमीलाई बेतुकको गफ पनि त लाग्न सक्थ्यो नि, अनि मलाई तिम्रो जीवन, मेरो प्रेमीको होइन, कुनै हृदयविहीन यन्त्रमानवको जस्तै लाग्थ्यो कि ! के थाहा मेरा कविताका सन्दर्भ र कथाका पात्रलाई लिएर तिमी शङ्काको आगो ओकल्न पनि त सक्थ्यौ नि । परिस्थिति जे पनि त हुनसक्थ्यो ।

म अहिले तिम्रो आलिसान महल र सुशोभित बगैँचामा टहलिँदै हुन्थेँ भने कस्तो महसुस गर्थें होला ? मलाई घरका नोकरचाकरले मालिक्नी भनेर सम्बोधन गरिरहँदा, ठूलो पर्खालभित्रको सुविधासम्पन्न भवनभित्र थुनिएर बस्दा साँच्चै म, म नै हुन्थेँ होला कि तिम्री बन्दिनी मात्र बन्थेँ होला ? के यस्तो जीवन मलाई स्वीकार्य हुन्थ्यो ? मलाई बोलाउने नाम तिमीसँग जोडिएर आउँदा, म रेसमी लेहङ्गामा सजिएर भित्रबाहिर गरिरहँदा मेरो अन्तर्यको स्वअस्तित्वचेतले मलाई कसरी भतभती पोल्थ्यो होला । साँच्चि म सुनको पिञ्जडाको बन्दी बनेर तिमीसँग खुसी हुनसक्ने मान्छे नै थिइनँ । अनि सोच त हामी हिँड्दाहिँड्दैको बाटो बीचमा नै मोडिएको भए, निकै भरोसाका साथ एकअर्कालाई समातेको हात एकाएक छोडिएको भए अनि विश्वास र प्रेम तोडिएको भए आज मैले तिमीलाई यसरी प्रेमपूर्वक र सम्मानका साथ सम्झन कसरी सक्थेँ र ? कतै पाइतालाको खिल दुखेजस्तै हाम्रो सम्बन्ध जीवनभरि नै दुखिरहन्थ्यो कि ? यसरी हामीले नै रोजेको सम्बन्धले अन्ततः हामीलाई नै दुखाउनु र यातना दिनु, अहो ! सम्झ त, कस्तो कष्टकर हुन्थ्यो होला ?
जीवनका कतिपय प्रश्न र जिज्ञासाहरू यस्ता दुरुह पनि हुन्छन् जसको उत्तर हामीले चाहेर पनि तत्समयमा दिन सक्दैनौँ । त्यसको उत्तर दिने र त्यसलाई बुझाउने समाथ्र्य केवल समयसँग मात्र हुन्छ । जस्तो कि, २० वर्षअघिका तिम्रा हरेक प्रश्नको जवाफ केवल मौनता थियो तर अहिले समयले कति राम्ररी उत्तर दिएको छ, कतै सन्देह नै नरहने गरी । के तिमी अनुभूति गर्न सक्छौ ? यही समयले नै बताइदिएको छ कि, हामीले त त्यसबेला हाम्रो किशोरकालीन सपनालाई प्रेम गरेका थियौँ । हाम्रो सहज सामीप्यलाई प्रेम गरेका थियौँ र हामीले एकअर्काको मुस्कानलाई प्रेम गरेका थियाँै । वास्तवमा हामीले जे कुरालाई प्रेम भनिठानेका थियौँ त्यो प्रेम थिएन, त्यो रहरलाग्दो आकर्षण मात्र थियो र हामी भ्रममा रमाइरहेका थियौँ । हामीलाई त्यतिबेला हामीभित्र फरक स्वभाव, फरक विचार र फरक रुचि छ भन्ने हेक्का नै थिएन । सुदूर भविष्यमा हामी पुग्नुपर्ने गन्तव्य र त्यो गन्तव्यमा पुग्नका लागि हामीले हिँड्नुपर्ने बाटो अलगअलग छ भन्ने कुरा पनि हामीलाई थाहा नै थिएन । यसरी केही थाहा नपाएकै कारणले हामीले एक–अर्कालाई मन पराएका थियौँ । तिमीले यसलाई आफ्नो नायकत्व सावित गर्ने अवसरका रूपमा लिन चाहेका पनि थियौ तर मेरो मौनता र पलायनले जुन दिन बाटो मोड्यो त्यसै दिनदेखि हाम्रो जिन्दगीको वास्तविक यात्रा सुरु भयो ।
सायद ! जिन्दगीमा कहिल्यै तिमीसँग भेट होला वा नहोला ! मेरो हृदयमा तिमीलाई भन्नुपर्ने जम्माजम्मी कुरा यत्ति नै हुन् । यसलाई मैले आज खुला पानामा लेखिदिएकी छु र आफ्नो आत्मामा बल्झिरहने घाउलाई उकुच हुनबाट बचाएकी छु ।