आमा - Aksharang
  • २०७८ माघ ६ बिहीबार

आमा

राजन कार्की

राजन कार्की

१. अणु आकारको बीजले आणविक मान्छे अङ्कुराउँछ । भूदेवी, पानी, अग्नि, वायु र आकाश बन्छ । यही पञ्चतत्वमा प्रकृति छ, प्रकृतिको अलौकिक सुन्दरता, सिर्जना र समन्वय छ । समष्टि छ ।
कत्रो आश्चर्य, बीजसँगै व्यापकता बढ्छ । बीजमा सम्पूर्णता अट्छ । अचम्म छ, बच्चा जन्मने बेलामा आमा फक्रिन्छिन्, आमाको छाती रसाउन थाल्छ । जब बच्चा जन्मिन्छ, छातीमा टाँस्नासाथ आमाको छातीबाट दूधको धारा बर्सिन थाल्छ । बीजस्तारै बच्चाका दाँत पलाउन थाल्छन्, ऊ ठोस खाद्य खान सक्ने हुँदैजान्छ, आमाका दूधका धारा सुक्दै जान्छन् । आमा उमेरले नेटो काट्दै जाँदा सन्तान बालकबाट तन्नेरी हुँदै जान्छ । ऊ प्रौढ भएर वृद्धतिर लस्किँदा तिनका पनि नयाँ सन्तान हुँदै जान्छन् । पुराना पात झर्छन्, नयाँ पलाउँछन् ।
सृृष्टि पनि बीज, दृष्टि पनि बीज, सुरू पनि बीज, अन्त पनि बीज । युधिष्ठिर पनि बीज, दुर्योधन पनि बीज । अर्जुन पनि बीज, कृष्ण पनि बीज । आस्तिक पनि बीज, नास्तिक पनि बीज । बल पनि बीज, निर्बल पनि बीज । मानवीय मर्म मार्गको सुुक्ष्म संवेदना आमा । समयको सुई हुन् आमा । आमा छिन् र बीज छ । बीज छ र संसार छ, सिर्जना छ ।

जन्मदाता आमा, जन्मभूमि आमा । बीजहान-साँझको आरती आमा, मन्दिरमा पूजा र प्रार्थना आमा । मानवीय संसारको सारथी आमा । जहाँ आमा उहीँ श्री ।
दिन आमा, रात आमा । सूर्योदय आमा, चन्द्रोदय आमा । अँध्यारो जीवनको जुनकिरी आमा । मन, वचन र कर्म आमा । घरदेखि घाटसम्म आमा ।
बाँचुञ्जेल आमा भनेर बाँच्न पाइयोस् । मर्दा आमा भनेर मर्न पाइयोस् ।
माटो आमा, ढुङ्गा आमा । हिमाल आमा, झरना, नदी आमा । पहाड आमा, तराई आमा । निर्मलता आमा, पवित्रता आमा । जीवनद्वार आमा, बागद्वार आमा, संसार आमा, स्वर्ग आमा । पारिजात आमा, सयपत्री आमा, दुबो आमा, मखमली आमा ।
हरेक व्यक्तिका भ्रूण आमा, अंकुराउने कोख आमा, जीवनको नयाँ किरण आमा । हरेक सवालको जवाफ आमा । अपूर्णतामा सम्पूर्णता आमा ।
हरेक किहानको चुल्हो आमा, हरेक रातको मीठो निन्द्रा आमा ।
उध्रिएको चोली आमा, फाटेको फरिया आमा । नाङ्गो पैताला आमा, प्राणीभित्रको रगत आमा । रगतभित्रको जीवन आमा । सर्वकालिक आशीर्वाद आमा ।
हामीले जन्मदाता, जन्मभूमिको मुहारमा खुशी दियौं कि दिएनौं ? आमालाई घोचेका घाउहरू का पीडा लियौं कि लिएनौं ? मरेपछि मातातीर्थ वा कुनै तीर्थ जानु, तर्पण, श्राद्ध, पिण्ड र सम्झना गर्नु भन्दा आमा बाँच्दैमा स्याहार गर्यौ कि गरेनौं, आमासँग मुखले मीठो दुई शव्द बोल्यौं कि बोलेनौंं ? आमासँग मन खोल्यौं कि खोलेनौं ? किनकि आमा पूजा सामग्री, आमा सप्ताह, आमा चारधाम, कोटिहोम आमा ।
सन्तानको खुशी आमाको कामना । सन्तानको सुख आमाको चाहना । भोक वा कुनै पनि पीडाले आमालाई असर गर्दैन, जब सन्तान दुःखी हुन्छ । सन्तानको सन्तुष्टि आमाको तृप्तता । पृथ्वीमा जीवित दैव छ भने ती आमा हुन् ।
मानिसका पहिलो गुरू आमा नै हुन् । आमाले जन्माउँछिन्, खान सिकाउँछिन्, बोल्न सिकाउँछिन् । उभिन सिकाउँछिन्, लडे आमाले उठाउँछिन् । हाम्रो आदि र अन्त्य सबै आमा नै हुन् । यसकारण आमा स्तुत्य छिन्, वन्दनीय छिन् ।
सन्तान घरबाट निस्किए चिन्ता गर्ने आमा हुन् । कहिले फर्कन्छ भनेर आँखा तानीतानी पर्खने आमा । बीजरामी पर्दा निको पार्न अहोरात्र खट्ने आमा हुन् । आमा गाँस हुन्, आमा वास हुन्, आमा जुनसुकै दुःख निवारणकी आश हुन् । हामीलाई ठेसलाग्दा समेत आमा भन्छौं, जीवनको सर्वस्व आमा हुन् । आमा के होइनन् ? सांसारिक जीवनको प्राण हुन्, उच्चाटित भावना र भावनाभित्रको भवानी आमा ।
जन्मदात्री र जन्मभूमि दुवै माताहरू सकसमा छन् । पीडित छन् । घरघरमा जन्मदाता माताहरूको अपमान भइरहेछ । बोक्सीको आरोप लागिरहेछ, चारपाटे मुडेर मलमूत्र ख्वाएर रूवाउने अपराध बढेका छन् । महिला हिंसा त यतिसम्मको भयावह कि श्रीमतीलाई टुक्रा टुक्रा पारेको पनि देखिन्छ । बालबालिका बलात्कार र तिनको हत्याले हाम्रो समाज ढुङ्गे युगतिर फर्कन लागेको आभास दिइरहेको छ । आमा त निर्मला पन्तकी पनि आमा हुन्, कृष्णप्रसाद अधिकारीकी आमा गंगामायाँ पनि आमा हुन् । मेची कालीभित्रको भूमि पनि आमा हुन् । आमाका अनेक रूप स्वरूप छन् । सबै आमाहरूलाई सादर प्रणाम । तर पूजनीय जन्म दिने र जन्मभूमि आमाहरू रोइरहेछन् । आमाहरूको अस्तित्वमाथि बलात्कारी र अतिक्रमणकारी धावा बोलिरहेछन् ।
मान्छेका विपना आमा, सपना आमा हुनुपर्ने हो । आमाहरू घरबाट फालिएका छन्, मानौं फोहर हुन् आमा । आमाहरू बृद्धाश्रम पुरयाइएका छन्, मानौं अनावश्यक वस्तु हुन् आमा । आमाहरू सीमा, सरकार, समाज यत तत्र सर्वत्र गाली बनेकी छिन्, मानौं आमा भनेको लुट्नकै लागि सिर्जना भएकी हुन् । आमाहरूले यसरी रूनुपर्ने ?
आमा-सन्तान भन्छिन्, आमाको भोक, तिर्खा, तपस्या नै सन्तान हुन् । सन्तान आमाको मान मर्दन गरिरहेका छन् । अचम्म छ हाम्रो समाज, तैपनि आमा रिसाउन्नन्, सराप दिन्नन्, सन्तानलाई सुख मिलोस्, चिरञ्जीवी हुनु भनिरहेकी देखिन्छिन् ।

भनिन्छ, चरित्रको मूल्य बराबर कुनै वस्तुको मूल्य छैन । हामीले आफैँभित्र आफ्नो चरित्र खोज्न सकेनौं भने जीवनको मूल्य कसरी प्राप्त गर्नसक्छौं ? जन्मदाता र जन्मभूमि चिन्न सक्ने छैनौं ।
कस्तूरी आफ्नै नाभिमा रहेको बीणाको सुवास खोज्दै यत्रतत्र दौडिरहन्छ । हामी पनि सुख, स्वर्ग खोज्न आमा छाडेर भौँतारिइहेका छौं । आमाको सेवामा सन्तुष्टि छ, आमाको पैतालामुनि सुखस्वर्ग छ भन्ने नबुझेर गल्तीपछि गल्ती गरिरहेका छौं ।
स्वर्ग टपक्क टिपेर थपक्क राखेजस्तो यति रसिलो धर्ती, विश्वले शान्ति र शिखर भएको अनुपम भूमि भनिरहेको छ, हामी नारीचुलीको महिमा भुलिरहेछौं ।

हामीभित्रको मैलो मनको कारणले हरेक विहान सूर्यको लालिमासँगै उदाउने र साँझ बत्ती जगाएर शान्त निदाउने हाम्रो मगमगाउँदो जन्मभूमि हाम्रै अन्धोपनले रोगाउँदै जाँदो छ । स्वयम्भूका त्रिनेत्र शान्ति भनिरहेछन्, परेवा शान्तिको सन्देश छरिरहेछ, क्रान्तिको कुराले भ्रान्तिका कुहिरो र तुवाँलो बाक्लिैदै जाँदो छ । हिमाल आमा आफैं पग्लेर निरन्तरको आशीर्वाद बगिरहेको मुलुकका सन्तान आमासँग टाढिंदै छन् । आमा, सरापमोचन हुन्, शवरी बनेर मर्यादापुरूषोत्तम रामको प्रतीक्षा गरिरहे जस्तो लाग्छ । आमा शवरी र सन्तान हामी, हे पूर्ण प्रमात्मा, दोष हामीमा छ, हामीलाई दोषमुक्त हुने सद्बुद्धि देऊ ।

साक्षात् देवी भनेको एउटै छिन्- जन्म आमा र जन्मभूमि आमा । माटो बाँचेको छ, माटो बाँचे आमा बाच्छिन् । आमा सन्तान सुखमा बाँच्छिन् । माटोवादका नाममा बीरबलको खिचडी पकाइरहनु जरूरी छैन । प्रत्येक सन्तानले नेपाल आमा बुझेका छन् । आमालाई मुटुमा पनि राखेका छन् । मात्र आमाको खुशी खोज्न र सुरक्षामा लाग्न घण्टाघरले सन्तानहरूलाई घच-घच्याइरहेको छ ।
महाभारतमा भीमका नाति, घटोत्कचका छोरा बर्बरिक यस्ता महाबली पात्र थिए जसले कमजोर पक्षबाट युद्ध लड्ने बचन दिएका कारण श्रीकृष्णले बर्बरिकलाई चण्डीलाई आत्मबलि दिन प्रेरित गरे । उनका दुई इच्छा थिए- उनको शवलाई श्रीकृष्णले जलाउनु पर्ने र महाभारत युद्ध प्रत्यक्ष हेर्ने । त्यसपछि उनको शिरलाई पहाडको चुचुरोमा राखेर श्रीकृष्णले १८ दिने महाभारत युद्धको प्रत्यक्षदर्शी बन्ने सौभाग्य दिएका थिए । युद्ध समाप्तिपछि उसलाई सोधियो-यो युद्ध जित्नुमा पञ्चपाण्डवमध्ये कसलाई श्रेय जान्छ । बर्बरिकको जवाफ थियो-अहंकार सबै पाँचै पितामहमा थियो । नियम सबैले तोडेकै हुन् । महाभारतमा निर्णायक कोही थियो भने श्रीकृष्ण र श्रीकृष्णको सुदर्शनचक्र मात्र थियो ।
अर्थात् भगवती पनि आमा, भगवान पनि आमा । सर्वशक्ति आमा । आमाको सेवाभन्दा अर्को ठूलो धर्म छैन । किनकि, झुत्री, मैली जस्ती भए पनि आमा भनेकी आमा नै हुन् । प्रश्न यत्ति मात्र हो कि हामीले आमाको महत्व बुझ्ने कहिले ?

हामी उभिएको धर्तीमाता, हाम्रो पहिचान यही हो । हामी बाँचेको भूमि हाम्रो परिचय हो । जे छ, हामीसँग यही छ । जे गर्नु छ, हामीले गर्ने हो । जुन आमाले जन्माइन्, जुन बाबुले कीर्तिको रचना गरे, हामी आमाको काखमा छौं, बाबुको संरचनामा छौं, हामी भाग्यमानी छौं । आफ्नो संस्कार र संस्कृति जोगाउँदै गाउँलाई सहरसँग, कारोवारलाई सहरसँग, आधुनिकतालाई सभ्यतासँग जोड्नु छ । अझ हामीले मान्छेसँग सम्बन्ध गाँस्नु छ । हाम्रो प्रतिस्पर्धा हामीसँगै छ, हामीले आफैलाई जित्नु छ । यत्ति गर्न सक्यौं भने हामी हामीले जित्यौं, आमाको मुहारमा मुस्कान ल्यायौं ।

जन्मदाताले जन्म दिन्छिन्, बितेर जान्छिन् । तर आमाको रूपमा जन्मभूमिले हरेक सन्तानलाई जीवनभरि छातीमा टाँसिरहन्छिन् । हरेक पुस्ताले गर्ने कर्म आमा र आमारूपी जन्मभूमिकै सेवा हो । पाउने आमाकै आशीर्वाद हो । जन्म दिने आमाको गर्भदेखि चितासम्म लम्पसार पर्ने भ्रुण र भुइँ आमाकै हो । नबिर्सौं, यही सेरोफेरो हो मान्छेको इहलीला ।
यो जीवनलीलालाई कसरी र कति सुन्दर, शान्त, शुभ्र र सुकिलो बनाउने त्यसको शिरोभारो सन्तानको काँधमा हुन्छ । मान्छे जन्मन्छ र मर्छ, हावामा बिलाउँछ, माटोमा मिल्छ । मान्छेका असल कर्म अमर हुन्छन्, इतिहासमा बाँच्छन् र सम्झनामा नाच्छन् ।
कति रहरलाग्दो जीवनलीला हुन्छ तिनको, जो भूमिपुत्रपुत्री हुनसक्छन् । त्यस्तो रहरलाग्दो जीवन खोज्ने संवेगको खाँचो छ वर्तमानलाई । जति आधुनिकता बढ्दै गयो, नयाँ नयाँ समस्या र संक्रमणहरू त्यत्ति नै बढेका छन् । जत्ति समृद्धितिर लम्केका छौं, संकट त्यत्ति उर्लेका छन् । माझी त्यही हो, जसले जीवनडुङ्गालाई जन्मदातादेखि जन्मभूमिको बहाना खियाएर सकुशल जीवन नदीपारि पुरयाउँछ । हामी माझीकै भूमिकामा छौं ।
जो आफैप्रति इमानदार छ, ऊ आमाको होनहार सन्तान हो । त्यो अनमोल रत्न हो । आमाले छातीमा टाँसेर दशधारा दूध चुसाएको उसले ऋण तिर्यो । जो आफैप्रति बेइमानी गर्छ, ऊ हाँसीखुसी देखिए पनि कपुत कुपुत्री हो ।

‘मित्राणि धनधान्यानिप्रजानां सम्मतानिव ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।’
यो संस्कृत श्लोक वाल्मीकी रामायणमा पढ्न पाइन्छ । यसमा ऋषि भारद्वाजले मर्यादापुरूषोत्तम रामलाई सम्बोधन गर्दै भनेका हुन्- एक प्रसिद्ध संस्कृत श्लोक हो यो । यो हाम्रो समाजमा आदर्श वाक्यका रूपमा पनि स्थापित छ । यस वाक्यको अर्थ हुन्छ-
‘मित्र, धन, धान्य आदिको संसारमा उच्च सम्मान गरिन्छ । तर आमा र मातृभूमिको स्थान स्वर्गभन्दा पनि माथि छ ।’
रामले लक्ष्मणलाई भनेका छन्-
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।
‘लक्ष्मण ! यो लङ्का सुनैसुनले बनेको भए पनि मलाई यसमा कुनै रूचि छैन । किनकि जननी र जन्मभूमि स्वर्गभन्दा पनि महान छन् ।


राजन कार्की
rajan2012karki@yahoo.com