घरको छानाबाट देश देखिन्न साहिँला !
देश देख्न श्री अन्तुमा उभिनु पर्दछ
र सोध्नु पर्छ जङ्गे पिल्लरहरूलाई-
देश जोगाउँदा तिमी कति चोटि ढल्यौ,
पुरियौ र बेपत्ता भयौ ?
कालापानीलाई सोध्नुपर्छ-
कहाँ बगेको थियो आदिवासी रगत ?
माने भन्ज्याङ्लाई सोध्नुपर्छ-
कहाँ खोसिएको थियो पुङ्बाजा ?’
माइतीघरमा उभिएर तिमी
राष्ट्रियताको कुरा गर्छौ
वालुवामा त हुटिट्याउँ पनि उभिन्छ
तर देश बचाउन सुस्तामा उभिनुपर्छ
किमाथाङ्कामा उभिनुपर्छ
जङ्गे पिल्लर जस्तै
आँखामा देश अनि मुटुमा राष्ट्रियता बोकेर ।
तिमी गुगलमा इतिहास खोज्छौ
फेसबुकमा वीरता बाँड्छौ
तर यी जङ्गे पिल्लरहरूमा
अमरसिंहहरूको डी.एन.ए. भेट्दैनौ ?
जङ्गे पिल्लरको रङ
देशको रङ जस्तै हुन्छ
फरक भाषामा एउटै देश बोल्छ
फरक जातमा पनि एउटै जात बन्छ
फरक स्थानमा उभिएर
एउटै नक्सा बोक्छ
देशको नक्सा !
सिमानामा हेर
जङ्गे पिल्लरहरू देउडा गाउँछन्
होली खेल्छन्
बजाउँदै ढोलक
धान नाच नाच्छन्
लौरौ बजाउँदै होरिया गाउँछन्
पालम गाउँछन्
तुङ्गा बजाउँछन्
सनाही बजाउँदै
देश गाउँछन्
साहिँला !
अब ढिलो नगरी
खाडीमा उभिएका पिल्लरहरू पनि
देश भित्रै उभिनुपर्छ
हरेक नेपाली एउटा जङ्गे पिल्लर बन्नुपर्छ ।
टी. एन भट्ट विश्वामित्र, फलेवास-५, पर्वत, फोन ९८५१०६६८६४
[email protected]