अदृश्य पक्षी - Aksharang
  • २०७८ कातिर्क १० बुधबार

अदृश्य पक्षी

राममणि सिटौला

राममणि सिटौला

हिँडिरहेछ कछुवाझैँ घिस्रिँदै
तलदेखि माथिसम्मका
सारा यन्त्रहरू

आगोले सारा बस्ती सखाप पारेपछि
आइपुग्छ वारुणयन्त्र
जब पुर्याइन्छ रोगीलाई घाटमा
आइपुग्छ अस्पतालमा
डाक्टर
रोग, भोक, शोकले सिङ्गो बस्ती सखाप भएपछि
हेलिकप्टरबाट झर्छ
रासनका बोरा र औषधीका पुरिया

टुप्पीदेखि पैतालासम्म
ढिलो छ पूरै तन्त्र
बाँकी छन् अझै
ढिलाइ हटाउन
यो अल्छी भूतलाई चिहानमा सुताउन
यही सोच्दासोच्दै
कालो पखेटा फिँजाउदै
अदृश्य पक्षी भने आइपुग्छ
टिप्नलाई
शीघ्रतिशीघ्र ।


(सिटौला चर्चित साहित्यकार हुन् ।)
rammanisitaula9@gmail.com