समाचार

डेब्यु काव्यकृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’का लागि उत्कृष्ट नौ काव्यकृतिहरूको नामावली सार्वजनिक गरेका छौँ । यो पुरस्कारको राशि ५० हजार रुपैँया रहेको छ । यो नामावली नयाँ लेखकहरूले २०७८ सालमा प्रकाशन भएका २४ काव्यसङ्ग्रहबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आवद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भीक निर्णायकहरूको टीमले छानेको हो ।
पुस्तक प्रकाशनबारे सोध खोज गरेर नयाँ लेखकका २४ पुस्तक फेला पारेको र अरु नयाँ पुस्तक हुन सक्ने तर तिनका बारेका जानकारी नआएको ।’ र ‘यो सूची तिनै नयाँ डेब्यु कृतिहरूबाट छानिएको हो ।’ पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधान सम्पादक अश्विनी कोइरालाले भने, ।
कोइरालाका अनुसार यी नौ वटा कृतिले नयाँ लेखकहरू के लेख्दैछन् र नेपाली साहित्य कता जाँदैछ, त्यसको सङ्केत गरेको छ ।
पहिलो पुस्तक लेखेर नेपालीभाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्धेश्यले अघिल्लो वर्ष (वि.स. २०७७) बाट सुरु भएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’मा ०७८ मा आइपुग्दा ‘साहित्यपोस्ट उत्तमकाव्य पुरस्कार’ पनि थपिएको हो । ‘साहित्यपोस्ट उत्तमकाव्य पुरस्कार’ वर्षभरिमा प्रकाशित डेब्यु काव्यकृतिलाई प्रदान गरिन्छ भने ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ डेब्यु गैर- काव्यकृतिलाई प्रदान गरिन्छ । ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का लागि छनोट भएका गैर- काव्य विधाका कृतिहरूको भोलि साँझ सार्वजनिक गरिनेछ ।
‘वर्षभरि प्रकाशन गरिएका नयाँ लेखकको पहिलो कृतिलाई सम्मानगर्ने योजना अनुरूप यसपटक २ वटा कृतिलाई ५०-५० हजार रुपैयाँ नगद र ताम्रपत्रले सम्मान गर्ने योजना बनाएका हौँ ।’ प्रधान सम्पादक कोइरालाले भने, ‘अघिल्लो वर्ष हामीले एक जनालाई मात्र सम्मान गर्न सक्यौँ । त्यो बेला अत्यन्तै थोरै अङ्कले युवापुस्ताका लेखक छुटेको अनुभव गरेपछि यसपटकदेखि दुई लेखकलाई सम्मान गर्ने योजना बनाएका हौँ ।’
छानिएका डेब्यु काव्यकृतिहरूमा रोशन तिमिल्सिनाको कविता कृति“चिरिएका पैताला”, शरद पोखरेलको कविताकृति “मरूभूमिका डुङ्गा”, पेशलकुमार लुइटेलको कविताकृति “पोल्टाभित्र डिही”, केवल बिनाबीको कविताकृति “यादहरूको सङ्ग्रहालय”, हरिमाया अधिकारीको गजलकृति “छोपिएको भाग्य रेखा”, शान्तिप्रिया वन्दनाको कविताकृति “जिल खाइरहेकी एक्काइसौँ शताब्दी”, डा. वीरेन्द्र केसीको कविताकृति “आमाको काखमा दुखेको देश”, अजित उत्सवको कविताकृति “आकाश गङ्गाको किनार” र शशी भट्टराइ श्रेष्ठको “निर्मल तलाउमा तरङ्ग” रहेका छन् ।
‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादकहरू, स्तम्भकार एवं समीक्षक गरी १५ जनाको जिम्मा लगाइने छ । उहाँहरूले दिएका नम्बरहरूलाई जोडेर १५ ले भागगर्दा जुन कृतिले बढी नम्बर प्राप्त गर्छ, त्यही कृतिलाई हामीले वर्षको उत्कृष्ट डेब्यु पुस्तकका रूपमा पुरस्कृत गर्नेछौँ ।’, साहित्यपोस्टका संयोजक कृष्ण ढुङ्गेलले भने, ‘हाम्रा निर्णायकहरू लेखकको पहिलो पुस्तक नै गतिलो जन्मनु पर्छ भन्ने कुरामा सहमत हुनुहुन्छ । यही कारण यी नौ वटा कृतिहरू मध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट टिम विस्वस्त छ ।’