• २०८३ कार्तिक २, आईतवार

वसन्त खनालको ‘वेध’ लोकार्पण, स्रष्टा सम्मान तथा सिर्जना उत्सव सम्पन्न

वालिङ ।

युवा स्रष्टा वसन्त खनालको पहिलो साहित्यिक कृति निर्बन्ध–आख्यान सङ्ग्रह ‘वेध’ लोकार्पण गरिएको छ । २६ वटा समसामयिक निर्बन्ध–आख्यान समेटिएको कृतिसँगै स्रष्टा सम्मान तथा ‘वेध सिर्जना उत्सव–२०८३’ वालिङमा सम्पन्न भएको हो । वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको आयोजना, साकिरा प्रतिष्ठानको व्यवस्थापन तथा वालिङ नगरपालिकाको सहयोगमा वालिङ उद्योग वाणिज्य सङ्घको सभाकक्षमा आयोजित कार्यक्रम सूर्यप्रसाद खनालको अध्यक्षता तथा गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति प्रा.डा. कुसुमाकर न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कृति लोकार्पणपछि डा. शङ्करप्रसाद गैरे र शान्ता थापाले ‘वेध’ तथा लेखक खनालको व्यक्तित्व र निर्बन्ध–आख्यान लेखनका विविध पक्षमाथि समीक्षात्मक मन्तव्य राखेका थिए। स्रष्टा खनालले आफ्नो सिर्जनायात्राबारे निर्बन्धीय मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा वालिङ नगरपालिका–१४ का वडाध्यक्ष बोधराज कुँवर ‘राजु’, लक्ष्मीप्रसाद रेग्मी, डा. टङ्कप्रसाद पन्थ र सहप्राध्यापक कृष्णप्रसाद पौडेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समारोहमा प्रा.डा. कुसुमाकर न्यौपाने, सहप्राध्यापकद्वय कृष्णप्रसाद पौडेल र डा. पुण्यप्रसाद शर्मा, लक्ष्मीप्रसाद रेग्मी, डा. शङ्करप्रसाद गैरे, शान्ता थापा, डा.टङ्कप्रसाद पन्थ तथा स्याङ्जाका अग्रज स्रष्टा देवीप्रसाद वनवासी, देवेन्द्र लम्साल, लेखनाथ काफ्ले र चक्रबहादुर पराजुलीलगायत साहित्यिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो। त्यसैगरी साहित्यिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका चण्डिकाप्रसाद भट्टराई, अनन्त अर्याल, हिमालयजङ्ग बानियाँ, श्यामप्रसाद ढुङ्गाना, रिमबाबू राना र लक्ष्मी काफ्ले तथा युवा स्रष्टा शम्भु अर्याल र गुरुङ चलचित्रकर्मी ताराबहादुर गुरुङ पनि सम्मानित भएका थिए ।

स्याङ्जाको वालिङ नगरपालिका–१४, गाएडाँडामा २०४६ साउन ३० गते जन्मिएका खनाल हाल भीरकोट–५, स्वरेक मैदानस्थित राजेन्द्र–भवानी माध्यमिक विद्यालयमा कार्यरत छन्। नेपाली साहित्य सिर्जनामा सक्रिय उनी वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६ का संस्थापक अभियन्तासमेत हुन्। पृथ्वीनारायण क्याम्पस, पोखराबाट स्नातकोत्तर गरेका खनालको ‘वेध’ पहिलो साहित्यिक कृति हो। साकिरा प्रतिष्ठानद्वारा प्रकाशित यस कृतिको सम्पादन निर्बन्ध–आख्यान तथा काव्य सिर्जनाका प्रणेता मिलन समीरले गरेका हुन् ।

कार्यक्रममा सिजन अर्याल, सिर्जना खनाल, दिलीप तिवारी, डोलराज डुम्रे ‘विकल्प’, लक्ष्मी काफ्ले, विष्णु पङ्गेनी पाण्डे, लीलाम्बर ढुङ्गाना, रिमबाबू राना, प्रेमबन्धु सुवेदी, गुरु ढकाल, शान्ता बास्तोला र टुकादेवी आचार्यलगायत स्रष्टाले आफ्ना सिर्जना प्रस्तुत गरेका थिए। सागर खनालले स्वागत मन्तव्य राखेको कार्यक्रममा ताराबहादुर गुरुङले स्वागत नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रमको संयोजन अभियानका संस्थापक संयोजक तथा साहित्यिक अभियन्ता मिलन समीरले गरेका थिए ।