• २०७९ असोज १९ बुधबार

बूढो कथाकार

भाउपन्थी

भाउपन्थी

समस्या यो थियो, सम्पादकले ढिलो म्यासेज पठाए । आदर्शले लेखेका सबै कथा ठाउँठाउँ दिइसकेका थिए । एकदुईवटा कथा बाँकी थिए ती कम्प्युटर बिग्रेपछि हराए । डेस्कटपमा थिए, सेभ हुन सकेनन् । एउटा खुसीको कुरो यो थियो, सम्पादकहरू कथा माग्न उसलाई अझै पनि खोजिरहेछन् । कथाप्रति उनी संवेदनशील छन्, कथा लेखनप्रति । अरू लेख्न उनलाई आउँदैन । एकदुईपटक उपन्यास लेख्ने प्रयास गरेका पनि थिए तर व्यर्थ । निष्कर्षतः उनले कथालेखन नै ठीक छ भन्ठाने र यतैतिर सीमित भए । कथा उनीसित थुप्रै छन् । माने थिए तर ती पछि सबै विषयगतरूपमा काम लाग्ने देखिएनन् । पहिलेपहिले त उनले कथा यसरी लेखे मानौँ सानो बच्चाको हातमा रङ्गीन पेन्सिल र कोरा कापी दिएर छाडिएको छ । केही लेख्ला भन्ने आश त थिएन । बच्चोले केरकार गरेर कापी नै बिगारिदियो । कथालेखन पनि उनका लागि त्यस्तै भइदियो । भन्ने हो भने, यो कथा पनि त्यसै कोटीमा पर्ने देखिएको छ । तै, प्रयास जरुरी छ । भनाइ पनि छ, लाटाको खुट्टा बाटोमा कहिलेकाहीँ परिहाल्छ ।
कथाप्रति उनी संवेदनशील छन् । कथालेखनप्रति । संवेदनशीलताले कथा त बन्दैन । नबने नबनोस्, कम्प्युटरको अगाडि बसिएको छ भनेपछाडि केही त लेख्नैपर्यो । केही नभए आफ्नै विषयमा । आदर्श बूढाले यस्तो सोच्नुपर्ने खण्ड थियो । उनी आफैँ कथानायकभन्दा कम थिएनन् । कथानायक भन्नाले ? अहिले जुन ठाउँमा उनी बसेका छन्, उनलाई धेरेले एउटा बूढो मानिसको हैसियत दिन्छन् । बूढो हुनु कम कष्टकर छैन । बूढो भएपछिका कष्टका कुरा उनी गरिरहेछन् । उनी कहिले बूढो भए ? यसको उनलाई हेक्का छैन । उनी आफूलाई बूढो मानिहाल्दैनन् । के गर्न सकिन्छ ? समयलाई उल्टो घु्माउन सकिन्न । टाइम मेसिनको कल्पना त गरेका छन् तर त्यसको आविष्कार हुनसकेको छैन । आदर्श एउटा यस्तो नाम उनका आमाबाबुले दिए । चिनाको नामै अर्कै छ । यसले उनी बूढा हुन् भन्ने जनिँदैन । आदर्श कुनै तन्नेरीको नाम हुनसक्छ । चिरयुवा । उनी स्वयम् यो सोच्छन्- आदर्श ? यो नामले मानिस सदाकाल तरुण ठहरिन सक्छ । नामैमा जादु छ । होइन, नामै काफी छ, यस्तो भनाइ छ विज्ञापनहरूमा । उनको व्यक्तित्वको के विज्ञापन हुनसक्छ ? कौसीमा उभिए भने छेउछाउकाले यो मान्न सक्छन्, जाने यात्राको दूरी नापिरहेछ । आँखा कमजोर छन् । टाढा हेर्ने चस्मा त छ तर हातको ओत लगाएर टाढा हेर्छ । त्यो देखेर मानिसहरू यो भन्ठान्छन्, यो बूढो कौसीमा उभिएर जानु्पर्ने यात्राको अनुमान लगाइरहेछ । अनुमान लगाउनुपर्ने जस्तो केही थिएन । मानिसहरू यो सुनिश्चितिमा थिए, बूढाको नम्बर लागिसकेको छ । तैपनि जीवट छ बूढो, कौसीमा निस्केर यात्रा नापिरहेछ ।
आदर्शलाई यसको खास चासो छैन । कसले के भन्छ, छरछिमेककाले । सय थरीका सय थरी कुरा । होइन कुरा एउटै छ । बूढो । सय थरी पाइला एउटै चाल । त्यस्तैत्यस्तै छ । मानिसहरू उत्सुक छन् बूढो किन छ र के गर्दैछ ?भूमिका लामो भएको छ तर चाहिन्छ । कथा नत्र कसरी लामो बनाउने ? कथा ? बूढा कथा लेख्दैछन्, मस्तले । यो उनी अनाउन्स गर्न चाहन्छन् । अरे भाइ, तपाईंहरू मेरा कथा खोजेर पठन गर्नुहुन्न नत्र जीवनका विविध पक्षका अनुभवको विवरण पढ्न पाउनुहुन्थ्यो । आदर्श बूढा गफ दिइरहेछन् । उनलाई जीवनका के विविध अनुभव हुनु नि । कथा भनेर लेख्छन्, गफ मात्र । गफको पनि आफ्नै स्वाद ह्न्छ । एउटा एड्भेन्चर जस्तो । गफ कहाँ पुग्छ ? त्यसको रोचक पर्खाइ । बूढाका गफमा त्यस्तो केही हुँदेन । कममा पनि प्रेमप्रसङ्गको रोचकता हुनसक्थ्यो । बूढाको प्रेमप्रसङ्ग नै छैन । बूढाले सोझै भन्छन्- पन्ध्र वर्षमा मागिबिहे भयो । बिहेपछि प्रेम गरिएन ? त्यसबारे बूढा मौन बस्छन् । मानौँ कुनै ठूलै रहस्य छातीमा राखेर माथितिर जाने हुन् । छातीमा हालेर केही लैजानु छैन भन्ने भनाइको विरोधमा पथ्र्यो यो । तैपनि । प्रेमप्रसङ्ग थियो भने पनि कुनै गाडधन जसलाई उनी कसैलाई देखोउन चाहन्नन्, त्यस्तो भान पार्थे ।
वास्तवमा अहिले बूढा कम्प्युटरमा बसेका छन् । कम्प्युटरमा कथा नहुनु यो नितान्त असम्भव छ । केही टाइप गरिरहेछन्, लेख्नलाई केही गहिरो कुरो छ भनेझैँ । केही पङ्क्ति टाइप गरेर उनले त्यसलाई सेभ नगरी डिलिट गरिदिन पनि सक्छन् । त्यतिखेरै कतैबाट फोन आयो भने उनले त्यो उठाउँदैनन् । एकपटक ‘माफ गर्नुहोला तपाईंले सम्पर्क गर्न खोज्नु्भएको नम्बर व्यस्त छ’ भन्ने गराएरै छाड्छन् । उनको सिद्धान्त पनि छ, चाहिएकाले अर्कोपटक पनि फोन गर्छ । चाहिए पटकपटक गर्छ । व्यस्त हुनुको एउटा बहाना । यताको फोन नउठाएपछि त्यो स्वतःसिद्ध ह्न्छ, उताको मान्छे व्यस्त छ । पहिलो घन्टीमै फोन उठाएर हेलो गर्नाले मान्छे फोन नै कुरेर बसेको रहेछ भन्ने सन्देश जान्छ भन्छन् बूढा । बूढा आदर्शलाई यो भ्रम छ, फोन नउठाएमा ठूलो मान्छे भइन्छ । बूढो त भइसकियो अझ कति ठूलो मानिस हुने ? उनलाई कसैले ‘बा फोन किन नउठाएको’ भनेर सोधिहालेमा भन्छन्, ‘उठाएर भन्दे घरमा छैनन् ।’ कसैले बूढाको फोन उठाउँदैन । भएर पनि छैन भन्नुको अर्थ सोच्न राम्रो मान्दैनन् उनीहरू । घरैमा भएर पनि छैनन् भनिदिनू ? बूढासँग धेरैहरू असहमत छन् यसमा ।
त, कम्प्युटरमा टङ्कण चलिरहेछ । आदर्श कथा लेख्ने प्रयासमा छन् । कथाकारको नाताले यस्तो मानिन्छ, उनीसँग कथाहरू छन् । अहिले उनी कथा त लेखिरहेछन् आफैँलाई पात्र बनाएर । कथा भइरहेको छैन । आफूलाई अचानोमा राखेर गिँड्ने प्रक्रिया जस्तो हो यो । गिँडेर के निस्कने हो र ? घामले पाकेजस्ता छन् बूढा । यो भनाइ उनी आफूप्रति व्यङ्ग्य गर्दा सोच्छन् । तैपनि केही उनको मान्यता त छ । कथा माग्छन्, सम्पादकहरू । दिनको एउटा कथा उनले लेख्न सक्नुपथ्र्यो । औँलाहरू कीबोर्डमा क्द्न सकसकाइरहेका त हुन्छन् तर कुदेर जाने गन्तव्य छैन । अक्षरहरू पिटिरहेछन् केही निस्केला भन्ने आशमा । एक दिन बूढा कीबोर्डमाथि घोप्टिएर रोइरहेथे । घरकाहरूमा खैलाबेला मच्चियो । कममा पनि रोइरहेको त छन् । उनीहरू यो आश गर्दा हुन्, अन्त्यमा कीबोर्डमाथि घोप्टेको घोप्ट्यै हुनेहुन् कि ? रोएको ठीकै छ । रुनु किन पर्यो ? भरापूरा परिवार छ र केही कुराको अभाव छैन । यसरी रुनुको अर्थ के ? नाटक गर्छन् बूढा । उनी कम्प्युटरमाथि घोप्टो परेर रोइरहेको देखेर एउटा अलि प्यारो नातिले सोध्यो-  ‘हजुरबा कम्प्युटर बिग्रियो ?’ कम्प्युटर बिगे्रमा बनाउन उसले लैजान्थ्यो । बिचौलियाझैँ राम्रै रकम कुम्ल्याइहाल्थ्यो । ‘मुलुक बिचौलियाले खाए ।’ ब्ढालाई यो थाहा हुँदैनथ्यो, उनले कटु सत्य बोलिरहेछन् । नाति तर्सन्थ्यो, कतै हजुरबाले थाहा त पाएनन्, उसले कम्प्युटर मर्मत गर्दा निकै ठूलै रकम खाएको । मुलुकै खानेमा नाम दर्ज हुने हो कि ?
बूढा आदर्शका अन्य संस्मरणयोग्य प्रसङ्ग कमै छन् । बुढेसकालको संस्मरणयोग्य घटना यो थियो, कम्प्युटरमाथि घोप्टो परेर रोएको । यही एउटा प्रसङ्गलाई उनी निकै तन्काएर उल्लेख गर्न चाहन्थे । कथाको मुख्य थिम नै यसैलाई बनाउन चाहन्थे । क्वाँक्वाँ रोएका त होइनन् तर एकदुईपटक सुँक्कसुँक्क गरेका हुन् । अरू घटना सोचेर साध्य छैन । बिहान कौसीबाट उनी मर्निङ्वाकमा निस्कने स्त्रीहरूमाथि आँखा गाड्थे । आँखा गाड्थे भन्नुभन्दा हेर्थे भन्नु उपयुक्त हुन्छ । आँखा निष्तेज थिए । ती स्त्री- गृहिणीहरूमा लायककी कोही छ कि भनेर निरीक्षण परीक्षण पनि गर्थे । सबै विशुद्ध गृहिणीजस्ता देखिन्थे । कसैमा लावण्य हुँदैनथ्यो । सबै छोराछोरी हुर्काउनमा तन्मय र पतिको अनवरत सेवा गरि रहनाले लखतरान परेजस्ता । कोही त यस्तो देखियोस् जसलाई हेरेरमन हरियो भइजाओस् । बूढामनमा एउटा भय लिएर कौसीबाट हट्थे । कतै बिहान बिहानै आँखा सेक्ने काम गर्छ बूढो भन्ने आरोप नलागोस् । मर्ने वेलामा यो कलङ्कको कात्रो ओढेर जान नपरोस् ।
आदर्श बूढाले आइमाईका कुरा झिकेर प्रसङ्गान्तर गर्न खोजेनन् । अरू छाडौँ, मुख्य प्रसङ्ग यही थियो- बूढा कम्प्युटरको कीबोर्डमाथि घोप्टो परेर रोइरहेछन् । नाति छेउमा उभिएर सोधिरहेछ- ‘हजुरबा, के भो ? कम्प्युटर बिग्रियो ?’ घरकाहरूलाई यो भय पनि थियो, कम्प्युटर बिग्रैकै रहेछ भने केही रकम खर्चनु पर्नेछ । बूढा छन् कि यो कम्प्युटर छ । त्यो पनि बूढो भइसकेको छ । कम्प्युटरको व्यस्तताले बूढालाई एक ठाउँ जमेर बस्ने गराइदिन्छ नत्र घरभरि डुलेर अनेक फत्तुर थाप्न भ्याउँछन् । त्यसैले ‘चाँडै कम्प्युटर बनाएर ल्याइदेओ’ भनेर घरका जति सबै कराउँछन् । पैसा पनि सहजै उपलब्ध गराउँछन् । बिचरा कम्प्युटर ! बूढाको त्यति चिन्ता गर्नु छैन, जति उनको कम्प्युटरको ।
नातिले घचघच्याएर सोधिराखे पछि बूढाले कीबोर्ड माथिबाट टाउको उठाए । आँखा राता भएका थिए । बूढाको बायाँ आँखा बढी रातो हुन्छ । रोए पनि नरोए पनि । आफैँ भन्छन्- ‘कम्प्युटरले आँखा खाने भो ।’ बायाँ कि दायाँ ? उनले त्यो खुलस्त गरेनन् । कसैले यसमा खासै यसो उसो भन्दैन । यति चाँडै आँखा गइहाल्ला ? राता आँखा भए पनि काला आँखा भए पनि कम्प्युटर चलिरहोस् । घरमा शान्ति रहन्छ । बूढाले अन्यमनस्क हुँदै भने- ‘केही होइन, म किन रोएछु आफैँ लाई थाहा छैन ।’ बूढाको यो जबाफ अस्वाभाविक थियो । आफूले टाइप गरेको एकएक अक्षर केलाएर प्रुफिङ् गर्नसक्नेले किन रोएछु भन्ने थाहा नपाउनु, यो त भएन । प्रुफ रिडिङ् सकिएपछि बूढा खितित्त हाँस्छन् । लडाइँ जितेझैँ । अहिले म किन रोएको भन्ने थाहा छैन भन्नु सरासर ठगी थियो । रुनुको भित्री कारण केही हुनसक्थ्यो । नभनेसम्म थाहा पाउन सकिन्न । कोरानाको भयले सताएदेखि मनोविमर्श गर्न सकिन्छ भनेर प्रचारमा त छ । बूढालाई कोरोनाले छोपेकै छैन । कोरानाको भय पनि छैन, स्टे होम, स्टे सेफ । कोरोनाको महामारीबीचमा बसोबास भएझैँ ‘मनोबल उच्च राख्नोस् बाबा’ भनेर जेठो छोरोले भनेकोभन्यै गर्छ । बूढा केही जबाफ दिन्नन् । ‘यति वर्षसम्म मनोबल उच्च राखेर तिमीहरूलाई हुुर्काएँ- बढाएँ’ भिनिदिऊँ भन्ने झोँक पनि नचल्ने होइन । आफ्नै सन्तानले वक्र मानसिकताका रहेछन् हाम्रा बा भन्ने हुन् कि ? यस कोरोनाको महामारी त उति वेला हाम्रा पालामा थिएन । के जबाफ दिनु ? ‘हुन्छ हुन्छ । मलाई थाहा छ’ भन्दैबूढा जानिफकारले झैँ टाउको मात्र हल्लाउँछन् ।
त, यो रुनु जो छ, त्यसको कारण उनले खोलेनन्, बायाँ आँखा बढी रातो भए पनि। त्यस आँखाले बढी रातो भएर यो देखाइरहेथ्यो, बूढा अवश्य रोएका हुन् । रोएर मात्र कारण खुल्दैन । बच्चो नरोई आमाले दूध पनि चुसाउन्नन् भन्ने बूढालाई थाहा थियो । यति वेला आमा सम्झेर पनि साध्य थिएन । आमाले चुसाएको दूधको कुरो त परै । नातिले पनि ढिपी कसेजस्तो थियो । हातमा आउन लागेको धेरथोर रकम फुत्किने डर भएको छ । सोधेको सोध्यै गर्न पनि सकिरहेको छैन । बूढाभन्न अबेर लाउँदैनन्- ‘तेरा बाको खप्पर देख्दैनस् !’ भनेर । निम्नकोटीको भाषा प्रयुक्त नगरे पनि टार्न ‘अरे यार, हेरिलेन, तेरै अगाडि त छ’ भनेर भनिदिन सक्छन् । यसो भनेर बूढा चुप लाग्न सक्छन् । अनि उठेर बाहिर कौसीमा उभिन जान सक्छन् । उनीबाट वेलावेलामा स्पष्ट जबाफ आउने गर्दैन । खान बसेर थालमा भात थपिदिने हो कि होइन भनेर भान्सेले सोधिराखेको हुन्छ तर बूढा जबाफ दिन अनकनाइरहेका हुन्छन् । यो तय गर्न सकिरहेका हुँदैनन् भात थपेपछि तुर्न सकिने हो कि होइन, भात नथपुँ भने आफू अघाए जस्तो लागिरहेको पनि छैन । यस्तो दुबिधाले उनलाई गाँजेको हुन्छ । गाउँबाट पढाइदिने भनेर ल्याइएको ठिटो जो पढेर हुर्केर ठूलै भए पनि घर छाडेर जान सकेको छैन, त्यो भान्से पन्युँमा भात लिएर जबाफ पर्खिबसेको हुन्छ ।
कम्प्युटर बिगे्रका ठहर हुँदैन । बूढाले कम्प्युटर बिग्रेको भए तीनचारचोटि त के कहिलेकाहीँ कीबोर्डमाथि मुड्की नै बजार्दै चिच्च्याएर भन्ने थिए- ‘ब्रान्डेड कम्प्युटर ल्याइदेओ भनेको टेरे पो । यो थोत्रो…’ बूढाचिच्याएको तिखो हुँँदैहुँदैन । एउटा याचनाजस्तो केही टिठ त्यसमा मिसिएको हुन्छ । ब्रान्डेड ल्याइदिने त थिए । बूढाले जेजे टाइप गरेर कताकता पठाउँछन् त्यो कसैले देख्न- पढ्न पाउँदैन न त्यसबापत केही रिटर्न पनि आउँछ । त्यसैले यै थोत्रो ठीक छ । माथिबाट यो नाति पनि छ, जसले ब्रान्डेड कम्प्युटर ल्याएमा आफैँले हजुरबालाई फकाइवरि अधीनस्थ गराउने विचार गरेको छ । ब्रान्डेडतिर कसैको सोच गएको छैन । बूढा रोए । बान्डेड नलाइदिएकोले ?यो अनिष्ट हुने लक्षण हो कि भनेर सबैको मनमा त्रासले ठाउँ लियो । बूढा हेर्नमा सिँगाने वा लुरे अशक्त थिएनन्, सुकिला फूर्तिला थिए । त्यति भए पनि आज उनका आँखामा आँसु थिए । आँसुसिक्त आँखाले उनलाई कोही मलाई बचाओ भन्ने याचना गरिरहेको तुल्याइरहेथ्यो । कसैले अगि सरेर केही भनेन । नाति पनि अलि तर्सियो । बूढा आँखामा आँसु लिएरै हाँसे । दाँत छिद्रा परेको थिए । बूढा साँझबिहान नियमित मन्जन गर्थे यद्यपि उनको सास गनाउँथ्यो, जति मन्जन गरे पनि । मात्र कति राहतको विषय थियो भने, बूढा कसैको छेउ पर्दैनथे । फोनैमा पनि धेरै बोल्दैनथे । नातिलाई थाहा थियो । कहिलेकाहीँ भनिदिन्थ्यो- ‘हजुरबा, हजुरको सास आज बढी गनाएको छ ।’ बूढाअलि सतर्क हुन्थे । गर्न केही सकिँदैनथ्यो । साँझ यो गनाउने सास सम्झेर अलि बढी च्यापेर दाँतमाथि ब्रस दल्थे ।
बूढा कम्प्युटर छाडेर उठे । बाहिर कौसीमा राखेको मेचमा गएर बसे । मन अलि खिन्न थियो । अवसाद उनी पाल्दैनथे । आज केहीबेर उनलाई अवसादले पनि च्याप्यो । यति वर्षसम्म उनले यो सत्य अनुभूत गर्नसकेका रहेनछन् । आज एकाएक भयो । एउटा दुर्घटना जस्तो । अकस्मात् उनले त्यो साक्षात्कार गरे । बूढाले स्वयम्लाई भने- ‘यो विषयलाई अतिरञ्जित गर्नु छैन ।’ विषय के थियो ? उनले कसैलाई भनेकै छैनन् । अरूले पनि धेरै कोट्ट्याएर सोधेनन् । बूढाहरू कहिलेकाहीँ मानसिक तनावमा हुन्छन्, स्वतः रुन थाल्छन् । यस्तो धारणा लिए सबैले । यो सोचेर बूढा अलिकति फिस्स हाँसे । उनी रुनुको विषय भन्नलायक पनि थिएन । अप्ठ्यारो ठाउँमा घिउकमिलाले चिलेको पनि होइन । बूढाले आफूलाई सम्हाले । कथा आफ्नै थियो । कथामा पात्र पनि उनै थिए । तसर्थ उनले कथा धेरै लम्ब्याउन चाहेनन् । अरू लम्ब्याइरहन उनलाई जाँगर पनि चलेन । आफ्नै दुखेसो कति लेख्नु  ? विषय र पात्र उनै थिए ।
तर विषय के थियो ? यो थाहा भयो, पात्र त उनी आफैँ थिए । तर विषय ?कौसीमा बसैकोबस्यै उनले यताउता हेरे । चारैतिर हेर्न उपयुक्त मानेनन् । यताउति हेरे मात्रै पनि उनलाई घरका कसैले चियो गरेर हेरिरहेको त छैन भन्ने थाहा हुन्थ्यो । उनी नै घरको मुख्य पात्र थिए । अझ आज रोएको देखेर त उनलाई हिरोको दर्जा दिएका थिए कि ? हिरोहरू कमै रुन्छन् तर भिलेनहरू बढी रुवाउँछन् । यसरी रोएकोमा नातिले कहिले कुरीकुरी भनेर गिज्याउने छ भन्ने उनलाई लागिरहेथ्यो । विषय के थियो रुनुको त्यो उसलाई पनि थाहा हुने थिएन । उनी भन्नै चाहँदैनथे । भनेर पनि फाइदा छैन । लाभहानिभन्दा पनि त्यो नितान्त व्यक्तिगत कुरो थियो । कसैलाई भने पनि उनीहरू बुझ्न सक्छन् भन्ने उनलाई किमार्थ विश्वास थिएन । घरकाहरू उनलाई माया गर्थे र आदर पनि । ‘सम्मान’ उनले यसमा जोड्न आवश्यक ठानेनन् । तर उनको यो समस्या बुझ्ने समझ घरकाहरू राख्न सक्दैनथे, आवश्यक पनि थिएन । यो सोचेर उनी अलि हल्का भए । मन हलुङ्गो भयो । आफूलाई धेरै महत्त्व दिएका कारणले त्यसरी रुनु परेको पो हो कि भन्ने उनमा विचार आयो । बूढा त्यसमाथि पनि घोइरिए । धेरै महत्त्वाकाङ्क्षी भएर पो हो कि ? सबै कुरा हुनसक्छ । हुननसक्ने केही छैन । मानिसको मन न हो । उनले सोचे-  यसरी म कथालाई तन्काउँदै छु । एकपटक एकजना सम्पादकले भनेको थिए- ‘कथा छोटोमा लेख्नोस्, धेरै तन्काउने होइन ।’ कथा चाहियो भनेपछि अलि तन्काएर लेखिदिए उपयोग गर्न सजिलो हुन्छ । बूढाको धारणामा कथा भनेपछि अलि लामो गरी तन्काइएको हुन्छ भन्ने छ र त्यसैलाई सम्पादकहरू मान्यता दिन्छन् । गाँस हाल्नुहाल्नु अलि ठूलै गाँस हाल्नु ।
बाहिर पानी परिदियो । यो वर्ष मनसुनले बढी समय लिएको छ । बाढीपहिरो, धनजनको क्षति । यो अर्कै विषय हो तापनि यसले समाचार हेरपिच्छे मन खिन्न बनाइरहन्छ । बूढाले सोचे, उनी रोए किन ? बाढीपहिरोमा परेर स्वजन र तिनका घर बगाएकाले पनि होइन । संवेदनशीलता त्यसका लागि पनि चाहिन्छ । उनी किन रोए ? उनलाई सम्झन अलि लाज पनि लाग्यो । तर मनमा एउटा कुरीकुरी पनि भइरह्यो, कथा लेख्न सकिएन भनेर त्यसरी एक्कासि रुनु किन ? कथा न हो । आज नआए भोलि आउँछ । बूढाको मनमा यो डर थियो, कथा अब लेख्न सकिन्न कि ?


(भाउपन्थी स्थापित साहित्यकार हुन्)
[email protected]