समाचार
काठमाडौं ।
नेपाली गीत–सङ्गीत क्षेत्रको प्रतिष्ठित ‘छिन्नलता गीत पुरस्कार’ बाट यस वर्ष वरिष्ठ हास्यकलाकार एवं गायक मदनकृष्ण श्रेष्ठसहित पाँच जना स्रष्टा पुरस्कृत हुने भएका छन् । छिन्नलता गीत पुरस्कार गुठीको हालै सम्पन्न साधारणसभाले नेपाली कला र सङ्गीतको श्रीवृद्धिमा विशिष्ट योगदान पु¥याउने विभिन्न विधाका स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । गुठीका अध्यक्ष प्रा. डा. वासुदेव त्रिपाठीको सभापतित्वमा बसेको बैठकले सुमधुर स्वरका धनी एवं वरिष्ठ गायक मदनकृष्ण श्रेष्ठलाई यस वर्षको विशेष सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
बहुमुखी प्रतिभाका धनी श्रेष्ठले गायनका माध्यमबाट नेपाली साङ्गीतिक क्षेत्रमा पु¥याएको अतुलनीय योगदानको कदर गर्दै गुठीले उनलाई पुरस्कृत गर्न लागेको हो । बैठकले गीत, सङ्गीत र गायनतर्फको पुरस्कारका लागि पनि स्रष्टाहरूको नाम सार्वजनिक गरेको छ । गुठीका सचिव एवं वरिष्ठ गीतकार दिनेश अधिकारीका अनुसार यस वर्षको गीत रचनातर्फको पुरस्कार नवराज लम्साललाई प्रदान गरिनेछ । त्यस्तै, सङ्गीत रचनातर्फ किरण कँडेल र गायनतर्फ विमला राईलाई पुरस्कृत गर्ने निर्णय भएको सचिव अधिकारीले जानकारी दिए ।
गुठीले युवा पुस्ताका प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गर्दै आएको ‘लोकप्रिय युवा प्रतिभा पुरस्कार’ यस वर्ष सारिका घिमिरेलाई दिने निर्णय गरेको छ । घिमिरेलाई उनले रचना, सङ्गीत र गायन गरेको चर्चित गीत ‘गुन भुल्यौ, पित्तलको सुन पायौँ होला’ का लागि उक्त पुरस्कार प्रदान गर्न लागिएको हो। यो गीत पछिल्लो समय स्रोता र दर्शकमाझ निकै लोकप्रिय बनेको थियो । यी सबै पुरस्कार र सम्मान गुठीकी संस्थापिका एवं विशिष्ट गीतकार स्व. रमोलादेवी शाह ‘छिन्नलता’ को जन्मदिनको अवसर पारेर आगामी साउन ९ गते एक विशेष समारोहका बीच वितरण गरिनेछ । गुठीले हरेक वर्ष उनको स्मृतिमा नेपाली सङ्गीतका साधकहरूलाई पुरस्कृत गर्दै आएको छ ।
