हराउँदै गएका आमाहरू - Aksharang
  • २०७७ मंसिर १९ शुक्रबार

हराउँदै गएका आमाहरू

कमला न्यौपाने

कमला न्यौपाने

आमाहरू हराउँदा,
आमाहरू मात्र हराउँछन्  कि अरू पनि  ?
आजकल आमाहरू हराउँदै छन्

छोरी, थाहा छ तिमीलाई
समयको कलमा राखेर
उध्रेको लुगा कसरी सिलाउने  ?

जिन्दगीको ओदानमा बसालेर
भात कसरी पकाउने  ?

बगैँचाको फूलसँग सिकेर
घर कसरी फुलाउने  ?

छोरी,
के थाहा छ तिमीलाई
जीवनको पर्व कसरी मनाउने  ?

छोरी भन्छिन्-
‘आमा, मलाई सबै थाह छ
जानेकी छु सबै, सबै बुझेकी छु ।’

म चकित छु, छोरी
म आमा, मैले सिकाउँदै नसिकाई
कसरी जान्यौ सबथोक तिमीले  ?

यी हातहरू यिनै हुन्,
जसले तिम्रा कोमल शरीरमा तेल दले
तिम्रो रुवाइमा मेरा आँसु झरे
तिम्रो मुस्कानमा मेरा खुसी अग्लिए ।

तर जब ठूली हुँदैगयौ तिमी
तब सबथोक कसरी आफैँ जान्ने भयौ  ?

छोरी
मेरो जीवनभरि आर्जेको सीप र ज्ञान
तिमीलाई हस्तान्तरण गर्न मन थियो
जसरी मेरी आमाले मलाई बाँडिन्,
त्यसैगरी तिमीले
तिम्रा सन्तानलाई बाँडेको
संस्कार हेर्न मन थियो ।

जसरी सिकेँ मैले आमासँग
जीवनका अक्षर र बाह्रखरीहरू
बायुपङ्खी घोडा चढ्ने
राजकुमार र राजकुमारीका कथाहरू
उध्रिने सम्बन्धका धागाहरू,
र प्रेमले सिलाउने सियोहरू

यो मौलिक संस्कार खै आज  ?
जो पुस्तौँ  देखि चलिरहेथ्यो निरन्तर

किन यहीँ  निर आएर धाँजा फाट्यो  ?
बा-आमाका लागि
यो पुण्य अवसर कसरी गुम्यो  ?

छोरी म अचम्भित छु,
आखिर के कुराले लखेटिरहेछ तिमीलाई
र बनाइरहेछ तिम्रो पुस्ता अर्कै भर्चुअल विश्व  ?

र किन तोकिरहेको छ हरेक कुराको मोल  ?
के बा-आमाको कुनै मोल हुन्छ र  ?

आमाले दिने ममताको मूल्य तिर्न गाह्रो छ
बाबाले दिने शिक्षाको मूल्य तिर्न गाह्रो छ

यति वेला बाबा-आमा हार्दैछन्

खासमा
भावनाको संसारबाट बिस्तारै बाहिरिँदै छन् सन्तानहरू
र छिर्दैछन्, यन्त्रहरूको संसारमा

म देख्दैछु, भोलिको समाजलाई
जहाँ प्रयोगशालाका यन्त्रहरूले
हुर्काउँदै छन् सन्तान
र आमाहरू बिस्तारै हराउँदैछन् ।


(पेसाले स्वास्थ्यकर्मी न्यौपाने अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) क्यान्सस (अमेरिका) च्याप्टरकी अध्यक्ष हुन्)
pranpriya716@gmail.com