कोभिड– १९ र राहत - Aksharang
  • २०७७ फागुन १९ बुधबार

कोभिड– १९ र राहत

ऋषवदेव घिमिरे

ऋषवदेव घिमिरे

‘आहतबाट उन्मुक्ति नै त हुन् हरेक प्रकारका राहतहरू’ । सेवाभावबाट मानवीयता जागृत भै मानवकल्याणमा समर्पित हुन्छन् राहतहरू, जसले घाउमा मलमको काम गर्छन् ।

तिथि, मिति, वेला, गोचर र समय यकिन गरेर लेख्न नसकिने विषय हुन् मानिसका जीवनमा आइपर्ने दुःखहरू । कतिवेला के र कुन विषयले आहत पुर्याउँछ र धरमराउँछ मानवीय सभ्यता भनेर किटानीका साथ भविष्यवाणी गर्न सकिन्न, न त जीवनमा आइपर्ने भवितव्य नै ।

अनेक प्राकृतिक विपत्ति– बाढी, पहिरो, अनावृष्टि, अतिवृष्टिलगायत ठूला महामारीलाई हाम्रा पुस्ता, हामी र हाम्रो समाज तथा विश्व समुदायले व्यतीत गरिसकेका छौँ र गरिरहेका छौँ । प्रकृतिप्रकोपजन्य घटनाहरूले मानवीय जीवन र जीवनयापनलाई तहसनहस पार्छ । त्यही तहसनहस अवस्थाको कठिनाइलाई थोरै भए पनि सहयोगले सान्त्वना दिनु नै राहत हो । भौतिक होस् अथवा भावनात्मक यस्ता सहानभूतिले मानवीय उच्चताको पाठ सिकाउँछ भने पीडितलाई केही सहयोग मिलेको हुन्छ । पीडाको यही आहतपूर्ण अवस्थामा मानिसले खोज्ने राहतस्वरूपको वस्तु भनेको भावनात्मक र भौतिक सहानुभूति हो, जो भोकसँग लड्न चाहिने राहतजन्य वस्तुको अपेक्षा हरेक आहत पुगेकाहरूले गरिरहेका हुन्छन् । बोली, वस्तु र विवेकको राहत नै दुःखीहरूका निमित्त आवश्यकीय सेवा बनेर आओस् भन्दै पर्खिरहेका हुन्छन् मानिसहरू । राहतको रिमझिमे उज्यालो जुन रहर नभई वाध्यता हो ।

विश्वलाई आक्रान्त पार्दै रमाइरहेको कोरोनाले संसारमा महिनौँ राज गरिसकेको छ । २०१९ डिसेम्बर ३१ का दिन चीनको उहानबाट सङ्क्रमणीय चक्रको रूप धारण गरेर कोभिड– १९ वैज्ञानिक नाम पाएको रोगले यतिवेला पूरै विश्व त्रसित र आतङ्कित बनेको छ । कल्पनै नगरेको सङ्ख्यामा मानिसहरू आहत भएका छन् र दिनानुदिन सङ्क्रमितहरूको सङ्ख्या उच्च सूचाङ्कमा छ । विश्वका प्रायः सम्पूर्ण राष्ट्रहरू कम तथा बढी कुनै न कुनै रूपमा प्रभावित छन् । अल्पविकसित र गरिब राष्ट्र र त्यसका जनता नै यसको मारमा पर्ने नै भए । हामी अन्योलमा छाँै । गृहबन्दीमा जीवनलाई सुरक्षित राख्ने उपायमा सारा संसार लकडाउनमा प्रयासरत छ । विश्व नै यतिवेला त्राहिमामको स्थितिबाट गुज्रिरहेको छ । सबै थाती राखेर मानिसहरू आफ्नो जीवन रक्षामै केन्द्रित रहन वाध्य यस समयले जीवनभन्दा ठूलो अरू केही हुँदो रहेनछ भन्ने पाठ सिकाउँदैछ । तर दैनिक ज्यालादारी गरेर खाने भुइँमान्छेलाई बढी सास्ती पाइरहेका छन्, जसको परिश्रम र मजदुरी नै जिउने माध्यम थियो । सामान्यतया आममानिसलाई पिरोल्ने भनेको आफ्नै मनोविज्ञान र भयले रहेछ । अनुशासनका नियमहरू अवलम्बन नगर्दा, प्रकृतिलाई दुरुपयोग गर्दा, जीवनलाई अति कृक्रिम बनाउँदा मानवजीवनले दुःख पाइरहेका छन् । कोरोनाको उद्गम र फैलावटका अनेकौँ टिप्पणीहरू अपुष्ट र अडकलहरू आइरहेछन् । कारण जे भए पनि यसले मानिसलाई दुःखको घनघोर सागरमा डुबाइरहेछ र प्रतिपल मृत्युको आभास गर्न बाध्य पारिरहेको यथार्थ छ । मानिसलाई आफ्नो औकात चिन्न बाध्य पारिरहेको यस समयले घमण्डीलाई शालीन, क्रूरलाई दयालु र स्वार्थीलाई दिनहीनप्रति सेवाभाव र बलवानलाई मृत्युचेत जागृत गराएर पीडाप्रति करुणा उत्पन्न गराइरहेको छ । जस्तो– देवकोटाले आफ्नो पहिलो कवितामा ‘घनघोर दुखः सागर संसार जान भाइ, नगरे घमण्ड कहिले मर्नु छ हामीलाई’ भनेझैँ कोभिड– १९ ले २०२० मा उत्पात मच्चाइरहेछ र जीवन र मृत्युको मध्यमा कति दिन अन्योल बहोर्नुपर्ने हो थाहा छैन ।

हुनेखानेलाई विपत्ले थोरै अत्याउला तर हुँदा खाने, कमाएर खानेलाई विपत्ले पीडा दिन्छ । विपत्को घडीमा सुखानभूतिको सानो झिल्को नै राहत हो । सर्दीबाट उन्मुक्तिको लागि न्यानो, प्रचण्ड गर्मीमा शीतलता, त्रासको अपेक्षा अनुराग, अभावमा मिल्ने सम्पत्ति हो भने भोकका लागि भोजन । हरेक जीवले आफ्नो अवस्थाअनुरूपको जीवनयापन गरि नै रहेका हुन्छन्, कतिलाई गराइरहेको हुन्छ । हाम्रो इतिहास परोपकारमय छ । हाम्रा शास्त्रीय मान्यताहरूलाई हेर्ने हो भने पनि मानिसले आफू भोजन गर्नुपूर्व भूमि, देवता, गाई, काग, कुकुर आदिलाई खुवाउने र छुट्याउने प्रचलन अझै छँदैछ । साधु, गरिब र दीनदुःखीलाई भोजन गराउनु, सतपात्रलाई दान दिनु आदि कर्म हाम्रा सनातनीय कर्म मात्र होइनन्, अपितु यो सेवा हो र प्राणी मात्रको पूजा हो भन्ने कुरा चेतनशील प्राणी मानिसले बुझेका छन् । यिनै मान्यता र चेतनाका कारण मानिसहरू सेवा, परोपकार र पुण्यका कर्ममा कुनै न कुनै रूपमा जोडिएर खटिएका भेटिन्छन् र मानवीय उच्च संवेदनालाई प्रमाणित गरिरहेका छन् । सबैभन्दा ठूलो परोपकारमयी त प्रकृति छ– प्रकोप, अपवाद छोडेर । प्रकृतिका हरेक कणमा नै जीवनको अस्तित्व छ, त्यो मानवीय जीवनका लागि प्रकृतिको निःस्वार्थ परोपकार हो । सेवा र परोपकारका थुप्रै शाश्वत चिन्तनद्वारा नै मानिसको शरीर पनि परोपकार र सेवाको निमित्त हो भन्ने भावना कुनै न कुनै प्रकारले मानिसभित्र कहीँ जागृत त कहीँ सुषुप्त भएर रहेकै हुन्छ । उल्लिखित दृष्टान्त भन्नुको तात्पर्यसँग वर्तमान समय र प्रकृतिले निम्त्याएको नियति र कोरोना कहर त्यसको जहरले दिएको पीडासँग जोडिएको छ जो मृत्युसँग भन्दा भोकसँग त्रसित छन् ।

गुडान, उडान र जलायान सबैसबैले विश्राम लिन बाध्य यो समयमा अस्पताल र स्वास्थ्यकर्मीलाई चर्को व्यस्तता छ । जीवनलाई दाउमा राखेर मानवीय सेवाको नाउँमा खटिइरहेका छन् । त्यो सेवा नै हो । सम्पन्न मुलुकले गरिब मुलुकलाई औषधी, परीक्षण–सामग्री उपलब्ध गराएको छ त्यो पनि सेवा अथवा राहत हो । बन्दाबन्दमिा टाढाटाढासम्म हिँडेर गइरहेकालाई गाँस, वास र यातायात सेवा, त्यो पनि राहत हो । एक किसिमले भन्दा अप्ठ्यारोमा परेकालाई सुगम पार्न सहयोग गर्नु नै त राहत हो । यो नितान्त सेवाभावसँग जोडिएको छ । आज कोरोनालाई मानव विनाशको प्रादुर्भाव नै भन्दा पनि फरक नपर्ने यो पट्यारलाग्दो समय गृहबन्दीमा छ । मानिसले उपभोग गर्ने वस्तु या नगदको सञ्चय वा मौज्दात निश्चित समयका लागि गरेका हुन्छन् । दैनिक या मासिक आयका भरमा जीवनयापन गर्ने परिपाटीका मान्छेहरू थुप्रै छन् यस विश्वमा । दैनिक ज्याला–मजदुरी गर्नेको अवस्थालाई चित्रित गरेर लेख्ने हो भने यही विषय मात्र थुप्रै अध्यायहरू बन्छन् । कोरोनाले अस्तव्यस्त यस समयमा, गृहबन्दीको विवशतामा आममानिसले भोगिरहेको अभावलाई हरेक देशले आफ्नो हैसियतअनुसार राहत वितरण गर्दैछन् त्यो पनि सेवा हो । राहत दिनसक्ने धनीमनहरूले आफूले सक्ने सेवा गरिरहेका छन् । दिन नसक्नेले सान्त्वना र श्रमले सेवा पु-याइरहको यस्तो पुनीत कार्यको प्रशांसा जति गरे पनि कम हुन्छ ।

अन्योल समयको मध्यमा म स्वयं कोरोनाका विविध समाचार श्रव्य र दृश्यका खैरा, फुस्रा, काला, ध्वाँसे र मलिन रङहरूमा रङ्गिएको छु । कतै समाचारमा, कहिले सामाजिक सञ्जालमा, कहिले मानवीय सेवा र सद्भावमा त कहिले आफ्ना र आफन्तका दूरभाष संवादमा मेरो सहभागिता हुनेगर्छ । यति वेला कोरोनासँग हारिरहेको वैज्ञानिक युगको सामना गर्दैछ संसार । जीवन ठप्प छ र रोग मात्र समयकै हाराहारी भएर दौडिरहेको छ । मानिसहरू भुसुनासरह मरिरहेको यस दुःखद घडीमा पुर्याएको सेवा, सुविधा, सम्वेदनशीलता, तदारुकता र राहत सम्झन्छु, सम्झँदासम्झँदै नाटकको एउटा पात्रका रूपमा धिक्कार्नुको भूमिकामा आफू उभिएको अनुभूति गर्छु र केही गरौँ न भन्ने अभिप्रायले पे्ररित हुन्छु ।

सबैभन्दा ठुलो दुःख गरिब हुनु, त्यसमाथि विपत्ति आइलाग्नु । गरिबका विवशताले सधैँ चिमोटिरहने समय । दिनहुँ कमाएर खानुपर्ने मानिसले बन्दाबन्दीमा कसरी सास राख्ने होला ? बालक, बृद्ध, रोगी, अशक्त, असक्षमहरूले त झन् कसरी धान्ने ? यस्तो विषााक्त समयमा मानिसको जीवन जोगाउनु र दुःखबाट छुटकारा दिलाउनु नै त मानवीयता हो । थुप्रै राष्ट्रप्रमुख भोकसँग लडिरहेका मानिसहरूलाई राहत दिने कार्यक्रम र अभियानमा सरिक छन् । मेरो संवेदनशीलताले केही सेवाको काम गरौँ भन्ने सोचिरहेको थियोे । मानिसको शरीर भोजनविना चल्न सक्दैन । भोजनको अभावमा रोगसँग लड्ने क्षमता पनि हुँदैन । भोक र भित्ताको चिन्ता दैनिक ज्यालामजदुरी गर्ने र विपन्न वर्गलाई नै बढी हुन्छ । केही जुझारु युवा तथा समाजसेवीहरू संलग्न भएर दैनिक गुजारा चलाउन मुस्किल भएका मानिसहरूलाई भोजन व्यवस्थापन गर्ने कुरा अगाडि बढायौँ ।

मानवअधिकारकर्मी गुणराज प्याकुरेल भाइको क्रियाशीलता स्थानीय युवा क्लब तथा केही सामाजिक सङ्घसंस्था पुण्यकर्ममा जुट्यौँ । ९२ जनाबाट सुरुवात भएको राहतस्वरूपको भोजन खानेहरू सङ्ख्या बढदै गएर चार सय ३७ सम्म पुग्यो । तीन महिनासम्म यो अनवरत खटिइरह्यो । उदारमनाले गरेको तन, मन, धन र श्रमको मूल्य नै भोजन राहतको सौन्दर्य थियो । खाना खुवाउने सबैको सन्तुष्टि नै भोजन राहतको सुन्दर पक्ष बन्यो । यस्तो वेलामा यति उपकारी कर्ममा सहभागी हुनसक्दा आफूले खान पाइरहेको अवसरप्रति धन्य लाग्यो ।

युगगुगान्तदेखि हाम्रा शास्त्रले भनिरहेछन्– ‘सेवा हि परमो धर्म’ । आज धन्य लाग्छ र अझै बढी केही गर्नपाए हुन्थ्यो भन्ने भावनासँग जहाँ हरेक दिन साथीहरू खाना बनाउँथे उत्साह भरेर । हावा, हुरी, पानी केहीले छेक्न सकेन, रोक्न सकेन । ती अन्नका दानाभरि अभावमा भोकै रहन बाध्य मानिहरूका लागि जीवनदान देख्छु म । जब मानिसहरू मात्र बाँच्नका लागि खानाको लाइनमा बस्छन्– बूढाबूढी, केटाकेटी, रोगी, अशक्त अनि मन भरभराएर आउँछ । मन मनसँगै संवाद गर्छ– परोपकारको इतिहास मानवीय सभ्यताको सञ्चालन हो । परोपकारभन्दा ठूलो धर्म केही छैन । जब मुस्कुराउँछ खाना समाएर पीडित, त्योभन्दा आनन्दलाग्ने मुस्कानको सौन्दर्य अर्को भेट्दिनँ म । सेवा त संसारको सर्वोत्कृष्ट सौन्दर्य रहेछ । अन्योल समयमा कसरी बाँच्ने भन्ने अवस्थामा एक छाक खान पाउनु, शरीरमा प्राण हाल्नु नै हो भन्ने लाग्छ । तथापि स्थानीय, प्रदेश तथा अन्य ठाउँमा प्रचारे समाजसेवीहरूले राहत वितरण गरेको दृश्य आहत नै बन्न पुग्छ । एउटा सानो राहतको थैलो दिनेको भीड देख्दा लाग्छ, मानौँ वैतरणी तर्न गौ दानको दुनु समातिरहेछ । यस्तो देख्दा मानवताको खिल्ली उडाइरहेको प्रतीत हुन्छ । मानवसेवा त मानवीय संवेदनशीलताको समीप पुगेर जीवनयापनमा सहयोग गर्नु हो, मानवीय विवशताको खिल्ली उडाउनु होइन । यस्ता दृश्यहरूले मानवता हराउँदैगएको चिन्ता उत्पन्न हुन स्वाभाविक हो ।

बेसहाराहरूको सहारा राज्य हुनपर्ने हो । तथापि कतिपय अवस्थामा राज्य कत्र्तव्यविहीन र जनता अधिकारविहीन भएको आभास नभएको होइन । तर कुनै पनि राहत–वितरणको चरणले राहत आवश्यकता कि राजनीति भन्ने अनुभूति पनि गराइरहन्छ । २०७२ सालको विनाशकारी भूकम्पपश्चातका राहतले कतिपयको जागिर गुम्यो । कति अझै अख्तियारमा तारिख धाइरहेका छन् । राहत सामग्रीको गुणस्तरीयतासम्बन्धी मापन र गुणस्तरहीन वस्तुको खिल्ली उडाउने काम अझै जारी छ । त्रिपाल, जस्तापाताका अतिरिक्त खाद्यान्न–राहतको रोइलो अझै सुनिँदैछ । भूकम्पमा आफैँ संलग्न भएर जस्तापाते ‘टनेलघर’ निर्माण गरियो । कतिले साँच्चै राहतको अनुभूति गरे, कतिले गाईगोठ बनाए । अनावश्यकरूपमा पनि निःशुल्क पाएको राहतलाई चुकै भए पनि खानुपर्छ भनेर ग्रहण गरे । राहत कसका लागि आवश्यकता छ, त्यही आवश्यकतासम्म पुगोस् भन्ने हो, जसलाई रोजाइ होइन पाउनु ठूलो कुरा बनोस् ।

खोलाखोल्सी, खोँच र खमारे वनको सेपिलो भागतिर हिउँदेयाममा कुहिरोले नछोडेजस्तै यति वेला कोरोनाको कुहिरोले विश्वलाई ढाकिसकेको छ । लाखौँ मानिसलाई आफ्नो सिकार बनाइसकेको कोरोनाले अझै पनि त्रास र सन्त्रासका बीचमा मानवीय जगत्लाई रुमल्याउँदैछ । सङ्क्रमणको भयावहतासँगै खान नपाउनेहरूको पेट भोकले कोतरिरहेको छ । राहतको पर्खाइमा छन् साँच्चै चुल्हो नबल्नेहरू । कति मान्छे आवश्यकताविना पनि राहत सामग्री सङ्कलनका निमित्त लामबद्ध छन् । निःशुल्क अनुदाने राहतको लाइनमा । साँच्चै राहत आवश्यक पर्ने मान्छे र परिवार राहतविहीन छ, पहुँचविहीन छ । मान्छेलाई थोरैतिनै आवश्यकता पूर्ति गर्नु नै त हो मानव सेवा । त्यो बिरामीलाई होस् अथवा गाँस, वास, कपासको होस् ।

मन्दिर, मस्जिद, चैत्य, गुम्बा ईश्वर पनि बन्दी रहेको यस अवस्थामा मानव नै ईश्वर हो भन्ने कुरा सेवाभाव तथा परोपकारले प्रमाणित गर्दैछ । एक मानवलाई अर्को मानवप्रति पैदा हुने संवेदनशीलता वा करुणा नै मानवता हो । मानवता नै ईश्वरको रूप हो र राहत पनि मानवता अर्थात् इश्वरीय कार्य हो । गाउँ, टोल, बस्ती, सहर, चर्च, मन्दिर, मस्जिद, गुरुद्वारालगायत सामाजिक सङ्घसंस्था र व्यक्तिहरू जो मानवताको ज्ञान भएका छन्, उनीहरू मानवीय सेवा र भोजनका लागि खटिएका छन् । खान नपाउनेहरू कहीँ न कहीँ पुगेर जो मिलेको खाएर कोरोना जित्ने आत्मबल सँगालिरहेका छन् । नराम्रो त त्यति वेला लाग्छ, जब कोरोनाकहरका यावत वस्तुको खरिद– औषधी, उपकरण, सुरक्षासामग्री आदिमा कमिसनको राहत थुपार्न व्यग्र मान्छे नै हुन्छ र धिक्कार स्वतः निस्कन्छ यो नश्वर जीवनको उपहास गरेको देख्दा । संसार यस्तै छ । कोही मरिरहेका छन् । कोहि मरेकाहरूलाई अझै मार्न उद्यत छन् । कोही भने दिन–रात कसरी राहत जुटाउने र पीडित समक्ष पु¥याउने भन्ने चिन्तामा पनि छन् ।

राहतमा राजनीति नहोस् । राहतको रोइलो विपत्ति, महामारी र अनिकालहरूमा रीति र रिवाज बनेर नआओस् । पटकपटक भोगेका राहतसँग सम्बन्धित घटनाक्रमले सिकाओस्– राहत आवश्यकता हो, रहर होइन । अन्यौलको यस घडीमा जसले जहाँबाट जे गरेर सहयोग गर्न सकिन्छ, त्यो गर्नुपर्छ । यस विपत्को घडीमा भोकले कोही मर्न नपरोस् । राज्य त छँदैछ– व्यक्तिगत, सामूहिकरूपमा मानवीय सेवा तथा उद्धारको परिणामले आँखाका आँसुहरू पुछिऊन्, भोकका ज्वालाहरू शमन होऊन्, दुःखेकाहरूले सान्त्वना पाऊन् र लरबराउँदै भए पनि जीवन उठोस् । जसले जे गर्न सक्छौँ त्यही गरौँ, जहाँबाट सकिन्छ त्यहीबाट गरौँ । सेवा नै परमधर्म हो, मानवधर्म नै सबैभन्दा ठूलो धर्म हो । यो संसारको सर्वोत्कृष्ट जीवनको सम्मान वा रक्षा सानासाना सहयोग वा सेवाभावबाट सम्भव छ भने हामी सक्नेले अगाडि सर्नैपर्छ । संसारको सौन्दर्य मानवलाई, मानवताका हरेक कार्यबाट अझै सुन्दर बनाउन सकिन्छ । कोभिडले अचेटेको धेरै भयो । थाहा छैन् कहिलेसम्म हो । चाँडै राहतमुक्त दिनहरू आउन भन्ने कामना !