माघको कुहिरोले ढाकिएको जस्तो संसार
वेदनाले ढाकिएको हृदयजस्तै छ ब्रह्माण्ड
ओह ! मृत र चिसा जिजीविषाका बुट्यानहरू
आवाज हराएरजस्तो लाटो छ संसार
लाटाछन् यी लाममा उभिएका पहाडहरू
लाटै भएर बगेका छन्
टाढाटाढा खबर पु¥याउने नदी
जीवनको हरित सम्भावना बोकेको प्रकृति
लाटो छ, लाटो छ पतझर पनि
मायाको न्यानोपनबाट हराएको बस्ती
एकोहोरो- एकोहोरो लाटो छ
आशापुञ्जको सुरिलो धुन
उत्साहका सबै अक्षरअक्षर
लाटा छन्, लाटा छन् हृदयका वाणी
लाटो संवेदनामा
विशाल सहर, विशाल महलहरू
जीवनको अहम्
प्रकृतिको मूल्य
विज्ञानको चमत्कार
यी सबैसबै लाटा छन्, मौन छन्
विवशताका यिनै धुनहरूभित्र
जीवन लाटो छ
स्वतन्त्र पृथ्वीमा बाँधिए पाउ
यात्रा र सपना सबैसबै लाटा छन् ।
(चौधरी स्थापित कवि हुन् । उनका डेढ दर्जन बढी कृतिहरू प्रकाशित छन्)
[email protected]