भानुभक्तको आदिकवित्व सङ्क्षिप्त चर्चा - Aksharang
  • २०७७ फागुन १७ सोमबार

भानुभक्तको आदिकवित्व सङ्क्षिप्त चर्चा

ज्ञाननिष्ठ ज्ञवाली

ज्ञाननिष्ठ ज्ञवाली

१. परिचय
भानुभक्त आचार्य (वि.सं. १८७१–१९२५) नेपाली साहित्यका क्षेत्रमा आदिकविका रूपमा चर्चित छन् । यिनको रामायण लेखन समय (वि.सं. १८९८–१९१०) महाकाव्यलाई आदिमहाकाव्यका रूपमा लिइएको छ । रामायण लोकभावनामा आधारित भएकाले पनि सबैको मन छुने खालको थियो । भानुभक्त श्रीकृष्णका नाति तथा धनञ्जय आचार्यका छोरा हुन् । भानुभक्तले बाजेबाट संस्कृतको साधारण शिक्षा पाएका थिए । पछि उनी काशीमा बस्दा त्यहाँको वातावरण तथा आफ्नै क्षमताबाट कवितातर्फ आकृष्ट भए । भानुभक्त प्राथमिककालको भक्तिधारा अन्तर्गत, रामभक्ति धाराका उत्कृष्ट कविका रूपमा प्रख्यात छन् । उनी गाउँमा जन्मे । यिनको जन्मस्थलका बारेमा प्रश्नोत्तर कविताको अन्तमा यस्तो कवितांश पाइन्छः
भानुभक्त भनी प्रसिद्ध नरमा जस्को छ नाऊँ पनि
घर् तिनको तनहूँ त बेसि चुँदि हो गाऊँ छ रम्घा भनि
(पराजुलीः २०५२ः १)
वस्तुत भानुभक्त गाउँमा जन्मे पनि पछि यिनी काशी पुगे । सहरको वातावरण देखे, भोगे र त्यहाँको परिवेशसँग सम्बन्धित फुटकर कविताहरू पनि लेखे ।

२. भानुभक्तका कृतिहरू
भानुभक्त आचार्यका विभिन्न कृतिहरू पाइन्छन् । यिनका ‘रामायण’ (वि.सं. १८९८–१९१०) महाकाव्य, प्रश्नोत्तर माला (१९१०), भक्तमाला (१९१०), बधूशिक्षा (१९१९), रामगीता (१९२५) जस्ता काव्यकृतिहरू प्रकाशित छन् । यस्तै कान्तिपुरी नगरी, बालाजी वर्णन, भोलि भोलि जस्ता यिनका दुई दर्जनभन्दा बढी फुटकर कविताहरू पनि रहेका छन् ।
यिनले रामायणको बालकाण्ड वि.सं. १८९८ देखि लेखेर पूरै रामायण १९१० सालमा पूरा गरेका थिए । यिनका फुटकर कविताहरूमा समाजका विकृति विसङ्गतिप्रति प्रहार गरी सुधारको सन्देश पाइन्छ । भक्तमाला र वधूशिक्षा मौलिक कृतिका रूपमा रहेका छन् । प्रश्नोत्तरमाला उनको अनूदित कृतिका रूपमा रहेको छ । वधूशिक्षा तत्कालीन परिवेशमा नारी अर्तीका दृष्टिले हेर्दा महŒवपूर्ण कृतिका रूपमा रहेको छ ।
यिनका फुटकर कृतिहरू आध्यात्मिक, नैतिक चेतनाले भरिएका छन् । कुनै कृति प्राकृतिक सौन्दर्य वर्णनमा केन्द्रित छन् भने कुनै कुनै सामाजिक सांस्कृतिक सन्दर्भमा रचिएका छन् । यिनले रचना गरेको प्रकृतिको मनोरम रूपको वर्णन गरिएको ‘बालाजी वर्णन’ कविताको एक अंश यसप्रकार छः
“यति दिनपछि मैले आज बालाजि देख्याँ ।
पृथिवी तल भरीमा स्वर्ग हो जानि लेख्याँ ।।
वरिपरि लहराका झूलि बस्न्या चरा छन् ।
मधुर वचन बोली मन् लिँदा थ्या सुरा छन् ।।”
(आचार्य, २०५८ : २४५) ।
त्यस्तै सामाजिक प्रशासनिक विकृति विसङ्गतिमाथि तीव्र व्यङ्ग्य प्रहार गरिएको तलको श्लोक हेर्दा भानुभक्त आफैँ पनि त्यसबाट पीडित भएको सन्दर्भ प्रस्तुत गरेका छन् :
“बिन्ती डिट्ठा विचारीसित म कति गरुँ चुप् रहन्छन् नबोली
बोल्छन् ता ख्याल ग-या झैँ अनि पछि दिनदिन् भन्दछन् भोलिभोली ।
की ता सक्दिन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् इ भोली
भोली भोलि हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।।”
(आचार्य, २०५८ः २४६) ।
यसैगरी शृङ्गारिक भावधारा प्रवाह गर्ने कविताहरू पनि उनले रचना गरेको देखिन्छ । यसको एक नमूना यस प्रकार छ ः
“चपला अवलाहरू एक् सुरमा ।
गुनकेसरीको फूल ली शिरमा ।।
हिँड्न्या सखि लीकन ओरिपरी ।
अमरावति कान्तिपुरी नगरी ।।”
(आचार्य, २०५८ः २४४)
यसरी भानुभक्तले रामायणका साथै अनेक प्रकारका खण्डकाव्य तथा फुटकर कृतिहरूको समेत रचना गरेका छन् ।

३. भानुभक्तको आदिकवित्वका सन्दर्भहरूः
भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि हुन् । यद्यपि यिनको आदिकवित्वका बारेमा विविध सन्दर्भहरू रहेका छन् । मूलतः यिनले महाकाव्य लेख्नेभन्दा पनि समाजमा रामचरित्रको विस्तारका निम्ति रामायणको रचना गरेका हुन् । धार्मिक उद्देश्य पनि यसमा गाँसिएको थियो । लेखोटकै रूपमा छँदा धेरैले सारेर यसको गायन सुरु गरेको पाइन्छ । पछि मोतीराम भट्टले यसको प्रकाशन गरेको पाइन्छ । प्रकाशन पश्चात् उक्त कृति नेपालीका घरघरमा पुग्यो । रामायणका धेरै अंशको लेखन जङ्गबहादुरका पालना भएको थियो । जङ्गबहादुरपछि पनि नेपालमा लामो समय राणा शासन रह्यो । यस स्थितिमा उच्च आदर्शको पाठका लागि उनले रामायणको रचना गरेका थिए ।
भानुभक्तले बृहत् रूपमा सांस्कृतिक एकताको सूत्रपात गरे । रामचरित्र मार्फत् धेरै नेपालीलाई एकताको सूत्रमा बाँध्ने प्रयास यिनले गरे । वि.सं. १८७३ को सुगौली सन्धिका कारणले नेपालीको गति रोकिएको अवस्था तथा नैराश्यको घाउ बल्झिएको स्थितिमा भक्तिभावको मलम लगाउने काम रामायणले गरेको पाइन्छ ।
वाल्मीकिको रामायणलाई संस्कृतको आदिकाव्य वा आदि महाकाव्य भनिन्छ । वाल्मीकिको रामायणपछि त्यसकै आधारमा अध्यात्म रामायण बनाइएको पाइन्छ । वाल्मीकि रामायणमा राम मानिस नै थिए । पुरुषोत्तम थिए । अध्यात्म रामायणले रामलाई भगवान् बनायो । तथापि उनी मान्छेकै छोराका रूपमा रहेका छन् । सीताको पनि दैवीकरण गरिएको छ । यसप्रकार दिव्य पात्रहरू भएको र धेरै काण्डहरू भएको अध्यात्म रामायणलाई महाकाव्य भन्न सकिन्छ ।
महाकाव्यमा हुनुपर्ने विविधता विस्तार गरिमा तथा पद्यहरू भानुभक्तको रामायणमा भएकाले यसलाई महाकाव्य भन्न सकिन्छ । नेपाली महाकाव्य परम्परामा प्राचीन महाकाव्यको उपाधि प्रदान गर्न सकिन्छ । कुनै कुनै समीक्षकहरू यसलाई अमौलिक ठान्छन् तर यसलाई नितान्त अमौलिक भन्न मिल्दैन । यसमा मौलिकताको प्रशस्त चमक पाइन्छ ।
“भानुभक्तको रामायण अध्यात्म रामायणको भावानुवाद भए पनि पर्याप्त मौलिकता र सौन्दर्य भएको हुनाले नेपाली महाकाव्यको विकासक्रममा यसको पनि विशिष्ट स्थान छ” (पोखरेल, २०५५ : ६०५–६०६) ।
भानुभक्तको रामायणमा मात्र कहाँ हो र ? सोमनाथ सिग्द्यालको आदर्शराघव (वि.सं. २००५) महाकाव्यमा समेत वाल्मीकीय रामायणको कथा छ । भानुभक्तको रामायणमा राम र सीताको आदर्श कथा छ । यसको कथा अध्यात्मरामायण तथा वाल्मीकीय रामायणमा पनि पाइन्छ । मौलिकताका दृष्टिले हेर्दा कथावस्तु आए तापनि दुवै महाकाव्य आफ्ना ठाउँमा उत्तिकै चर्चित र उल्लेखनीय छन् ।
नेपाली कविताको प्राथमिक काल अन्तर्गत भक्ति धारामध्ये रामभक्ति धारामा कवि भानुभक्त आचार्य पर्दछन् । “रामभक्ति धाराका कवि गुमानी, भानुभक्त र रघुनाथ भट्टको नाम आउँछ र यिनमा सर्वप्रमुख भानुभक्त देखिन्छन् । भानुभक्तको आदिकवि मानिन्छन् र उनको रामायण नेपालीको आदिमहाकाव्यका रूपमा चर्चित प्रतिष्ठित छ” (उपाध्याय, २०४९ : पृ. १३०) ।
“भानुभक्तले आफ्ना लोकपक्षीय रचनामा यस्ता कुनै महावीरलाई महŒव दिएनन्, उनका वीर त हाम्रा चिरन्तन घर र गाउँका समस्यामा जुझ्ने व्यक्ति नै भए, जसलाई न समाजले बिर्सन सक्दछ, न उसको गायक कविले नै । यसप्रकार अन्तवृत्तिले सङ्घर्ष र त्यसका आलम्बन सामान्य नायकलाई अगाडि बढाएर भानुभक्तले आगामी जनवादतिर सर्वप्रथम इशारा गरे, जनताको बीच बसी जनताको भाषा, जनताको कथा सुनाउने कविको रूपमा भानुभक्त नै सर्वप्रथम भए, जो उनको सबभन्दा ठूलो महŒव हो” (प्रधान, २०५२ः ६३) ।
त्यसो त भानतुभक्तलाई सर्वप्रथम आदिकविको पगरी दिने व्यक्ति मोतीराम भट्ट नै हुन् । उनले भनेका छन्– “गोर्खा भाषामा हुन् त धेर नामका कवि भानुभक्तभन्दा पहिले भए तर कविताको मर्म जानी भाषापद्य लेख्ने कविहरूमा आदिकवि भानुभक्त नै हुन्” (भट्ट, १९४८ : ७) । मोतीराम भट्टको उक्त भनाइमा भानुभक्त भन्दा अगाडि अनेक कविहरू भए तापनि भाषाको साथै कविताको मर्म बुझेर कविता लेख्ने कवि भानुभक्त भएकाले यिनलाई आदिकवि मान्नुपर्ने तर्क देखिन्छ । त्यस्तै सूर्यविक्रम ज्ञवालीको सम्पादकत्वमा प्रकाशित भानुभक्त स्मारक ग्रन्थमा पनि जुद्धशमशेरले आदिकवि भन्ने तोक लगाइदिएका छन् (पराजुली, २०५३ः ५) ।
त्यसैगरी भानुभक्तलाई प्रथम ध्वनिको संज्ञा दिएका महाकवि देवकोटा यसो भन्छन्ः
“शुक्रतारा सुन्दर हाम्रा नेपाली हे प्रथम ध्वनि”
साहित्यकार बालकृष्ण समले पनि भानुभक्तलाई आदिकविको स्थानमा राखेर यसो भनेका छन्–
“सबै समयमा कवि भएका छन् तर भानुभक्त नेपााली भाषाको मापदण्ड हुनुहुन्थ्यो र वहाँ आदिकवि हुनुभयो” (पराजुलीः २०५२ः ५)
यसरी हेर्दा आदिकवि भानुभक्त आचार्यभन्दा अगाडि सुवानन्द दास, शक्तिवल्लभ अर्याल, उदयानन्द अर्याल, गुमानी पन्त, इन्दिरस, वीरशाली पन्त, विद्यारण्य केशरी, वशन्त शर्मा, यदुनाथ पोखरेल, रघुनाथ भट्ट जस्ता अनेक कविहरू भए तापनि उनीहरूको रचनामा भानुभक्तको जस्तो मौलिकपन, प्रतिभा, माधुर्य नभएकाले यो तहमा आउन सकेनन् ।
दीनानाथ सापकोटाले रघुनाथ भट्टद्वारा रचना गरिएको रामायण सुन्दरकाण्ड (वि.सं. १९८९) को भूमिकामा रघुनाथलाई आदिकवि मान्नुपर्ने तर्क राखेपछि यसमा विवाद सुरु भएको पाइन्छ । रामकृष्ण शर्मा, तारानाथ शर्मा लगायतले भानुभक्तलाई आदिकविको साँघुरो घेराभित्र राख्न नहुने तर्क दिएका छन् । जे जस्तो भएतापनि भानुभक्तका रचनाहरूको अध्ययन पश्चात् उनलाई आदिकविको सम्मान दिनु युक्तिसंगत ठहर्ने कुरामा धेरै मत मिलेको पाइन्छ । भानुभक्तमा मात्र नभई उनका भन्दा अगाडिका कविहरूका रचनाहरू अध्ययन गरी विद्वानहरू, आलोचकहरू भानुभक्तलाई आदिकवि भन्ने निष्कर्षमा पुगेका हुन् ।

४. भानुभक्तको रामायण
लगभग एक हजार वर्ष पुरानो नेपाली भाषाको परम्परामा नेपाली साहित्यको इतिहास २०० वर्ष पुरानो मानिन्छ । प्राचीन कालमा नेपाली साहित्यको लेख्य रूप पाइँदैन तर लोक साहित्य प्राप्त हुन्छ । पहिले पहिले अभिलेखका साथै व्यवहारोपयोगी ग्रन्थ लेखिए तर साहित्य लेखिएन । अठारौँ शताब्दीदेखि नेपाली भाषामा साहित्य लेखन आरम्भ भयो र वि.सं. १९४१ देखि मात्र छाप्ने र प्रकाशन गर्ने कार्य सुरु भयो ।
नेपाली भाषामा महाकाव्य लेख्न थालिएको वीर धारादेखि नै हो । वीर धाराको समय वि.सं. १८०० देखि १८७२ सम्म रहेको छ । यसै धाराका कवि उदयानन्द अर्याल (१८१२–१८९४) देखि नै नेपालीमा महाकाव्य लेखिन थालिएको पाइन्छ । उनको मौलिक महाकाव्य पृथ्वीन्द्रोदय लेखियो तर त्यतिबेला छापिएन, हाल नेपाल प्रज्ञाप्रतिष्ठानबाट छापिएको छ र त्यसकै आधारमा उदयानन्दलाई आदिकवि मान्नुपर्छ भन्ने तर्कवितर्क पनि चलेको पाइन्छ । त्यतिबेला यसको प्रकाशन नभएको र भानुभक्त आचार्य (वि.सं. १८७१–१९२५) को भानुभक्तीय रामायण नेपालीको (वि.सं. १९४१) प्रथम महाकाव्य बन्न पुग्यो । यो अर्धमौलिक महाकाव्य मानिन्छ । अध्यात्म रामायण वेदव्यासले लेखेका हुन् । त्यसलाई नेपालीपन र धुकधुकी दिएर भानुभक्तले नेपाली भाषामा रचना गरे । प्रशस्त मौलिकताका साथ यो कृति आएकाले आदिमहाकाव्य बन्यो । भानुभक्त आदिकवि भए ।
“भानुभक्तले विश्वकाव्य परिपाटीका दुवै साधन र रीति अपनाएका छन् । रामायणमा ज्यादै नै गहकिलो, लामो पवित्र र राष्ट्रव्यापी आदर्श खडा गरिएको छ, हुन त राष्ट्रलाई उद्बुद्ध गरी पराजयको क्षोभ बिर्साउँदै पुनः आशावादी बनाउने दृष्टिले रामायणको महŒव ज्यादै नै बढी छ” (प्रधान, २०५२ः ६२) । हो यही भावना र आदर्शका दृष्टिले नै रामायणलाई उत्कृष्ट रचना मान्न सकिन्छ तथापि सरलता, सरसता, लयात्मकता, श्रुतिमाधुर्य आदि अनेक कोणबाट हेर्दा पनि रामायण तत्कालीन परिवेशमा निकै लोकप्रिय कृति मानिएको ठोकुवा गर्न सकिन्छ यद्यपि नेपाली महाकाव्य परम्परामा हालसम्म पनि रामायणको उत्तिकै महŒवपूर्ण स्थान रहेको छ ।
भानुभक्तको रामायणको रचना सन्दर्भलाई ‘आदिकवि भानुभक्त आचार्यको संक्षिप्त जीवनी’ शीर्षकमा मुक्तिनाथ आचार्यले लेखेका छन्– “आफ्ना पितामहको देहावसनाअनन्तर आफ्नो घर चूँदीरम्घामा आएपछि साहित्यिक संस्कार एवं सामाजिक भावनाले परिपूर्ण कविजीले प्रसङ्गवश घट्न आएका विभिन्न घटनाहरूसँग सम्बन्धित फुटकर कविताहरू पनि वेलामौकामा रचना गर्दै गरी व्यावहारिक तथा पारमार्थिक दुवै पक्षमा अत्यन्त उपयोगी भएको मर्यादा पुरुषोत्तम दशरथनन्दन श्रीरामचन्द्र तथा सतीशिरोमणि जनकतनमा सीताजीजस्ता अत्यन्त अनुकरणीय व्यक्तित्वहरूको जीवनचरित्र उल्लिखित संस्कृतमा रहेको अध्यात्मरामायाणको सरल भाषामा भाषानुवाद गर्ने अदम्य साहस झिकी समस्त नेपाली नरनारीहरूलाई आदर्श महापुरुष श्रीरामचन्द्र तथा सतीशिरोमणि सीताजीजस्तै मर्यादित एवं सच्चरित्रका धनी तुल्याई नेपाल अधिराज्यलाई रामराज्यसरह बनाउने तीव्र उद्देश्य राखेर सात काण्डमा विभक्त अध्यात्म रामायणको राष्ट्रभाषा नेपालीमा भाषानुवाद गर्नुभएको कुरालाई कसैले पनि नकार्न मिल्दैन” (आचार्य, २०५८ः २५४) ।
यसरी हेर्दा भानुभक्तलाई उनको रामायणका आधारमा वा अन्य कुनै आधारमा विवादमा तान्नु व्यर्थ देखिन्छ । उनले न आदिकवि बन्न रामायण लेखेका थिए, न कुनै पुरस्कार पाउन वा अन्य भौतिक प्रयोजनका लागि नै । तसर्थ उनको उद्देश्य त केवल आध्यात्मिक सुख प्राप्ति नै थियो ।
रामायणमा निम्नलिखित सात काण्ड छन् :
(क) बालकाण्ड (ख) अयोध्या काण्ड (ग) अरण्यकाण्ड (घ) किष्किन्धाकाण्ड (ङ) सुन्दरकाण्ड (च) युद्ध काण्ड (छ) उत्तरकाण्ड
४.१ प्रत्येक काण्डका एक एक महŒवपूर्ण श्लोकहरू
(क) बालकाण्ड
“एक् दिन् नारद् सत्यलोक पुगि गया लोक्को गरुँ हित् भनी ।
ब्रह्मा ताहिँ थिया प-या चरणमा खुसी गराया पनी ।।
क्या सोध्छौ तिमि सोध भन्छु म भनि मर्जी भयेथ्यो जसै ।
ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती ग-या यो तसै ।।”
(आचार्य, २०५८ : १)
(ख) अयोध्याकाण्डः
“गयो खान्या बेला मकन त मिल्यो राज्य वनको ।
भरत्ले राज् पाया यहि बसि गरुन् राज्य जनको ।।
बिदा बक्स्या जावस्. खुसि सित म जान्या छु वनमा ।।
म चाँडै फिन्र्या छु विरह नहवस् कत्ति मनमा ।।
(आचार्य, २०५८ः २९)
(ग) अरण्यकाण्ड
“सीताजीलाई मन्ले चिन्हकन मनमा मातृवत् बृद्धि गर्दो
हात्ले मैले छुँदामा अनुचित छ भनी स्पर्श केही न गर्दो ।।
आफ्ना नङ् सब् जमिनमा धसिकन जमिनै जल्दि हात्ले उठायो ।
सीताजीलाई रथ्मा धरिकन दगु-यो राम देखी छुटायो ।।”
(आचार्य, २०५८ः ६०) ।
(घ) किष्किन्धाकाण्ड
“हेभाइ ! सुन जो छ आज छ सिता ह¥या म तेस्को सबै ।
ककूलै भस्म गराउन्या छु करुणा राख्वैन उस्मा कवै ।।
येती बात् तहिँ भाइ सीत गरि फेर् सीताजिका शोक् धरी ।
लाग्या गर्न विलाप् अनेक् तरहले त्रैलोक्यका नाथ् हरी ।।
(आचार्य, २०५८ः ८१) ।
(ङ) सुन्दरकाण्ड
“पाजी रावण ! बोल्दछस् कति बहुत् दुर्वाच्य बक् बक् गरी ।
राघव् देखि डराइ छल्न भनि एक् सन्यासिको रूप धारी ।।
जस्तै यज्ञ विषे हवी कुकुरले हर्छन् उसै चालले ।
राम् लक्ष्मण् न हुँदा हरिस् तँ बुझिले मर्लास् यसै कालले ।।
(आचार्य, २०५८ः ९७) ।
(च) युद्धकाण्ड
“रावण् मारि उतारि भार भूमिको सुग्रीव विभिषण्हरू ।
लक्ष्मण अङ्गद् जाम्बवान् र हनुमान् जो जो थिया विर अरू ।।
ती सब्लाई हुकुम् भयो प्रभुजिको तिम्रै कृपाले गरी ।
मा-या रावणलाई कीर्ति रहला तिम्रो तिनै लोक् भरी ।।
(आचार्य, २०५८ :१६२)
(छ) उत्तरकाण्ड
“आफ्ना पुरोहित ति वशिष्ठलाई ।
हुकुम् भयो मङ्गल गर्नलाई ।।
मङ्गल अनेकौँ ऋषिले गराया ।
राम् स्वर्ग जान्या कन निस्कि आया ?”
(आचार्य, २०५८ः २२१) ।
यसरी भानुभक्तीय रामायणका सात काण्डका सात प्रतिनिधि श्लोकलाई हेर्दा पनि भानुभक्तको वास्तविक उद्देश्य बुझ्न सकिन्छ । उनी रामजस्तो असल चरित्रका पक्षमा छन् तर रावणजस्तो चरित्रको विपक्षमा रहेका छन् । उपर्युक्त प्रतिनिधि श्लोकका आधारमा हेर्दा पनि रामायणका सातै काण्डका मुख्य मुख्य प्रसङ्गलाई साङ्केतिक रूपमा बुझ्न सकिन्छ । ती श्लोकको व्याख्या आवश्यक देखिँदैन ।

५. निष्कर्षः
यसरी हेर्दा भानुभक्त आचार्य नेपाली साहित्यको प्राथमिक कालका भक्तिधारा अन्तर्गत रामभक्ति धाराका मुख्य प्रतिभाका रूपमा रहेका छन् । यिनकै नामबाट नेपाली कवितालाई वि.सं. १८७२ देखि १९३९ सम्म भानु युग भनी नामकरण गरिएको पाइन्छ । वि.सं. १८७२–७३ को अङ्ग्रेज–नेपाल युद्ध, युद्धको उत्कर्ष, सुगौली सन्धि र त्यसपछिको नेपालको स्थिति जस्ता कारणले नेपाली कविताको वीरधाराको अवसान भएका बेला भक्तिधाराको उदय भयो । यसमा पनि रामभक्ति धारा सशक्त रूपमा देखा प-यो । यसको प्रतिनिधित्व भानुभक्तले गरे ।
भक्तिकालमा तीन ठूला प्रतिभाहरू मूल रूपमा देखा परे । वसन्त शर्मा, रघुनाथ र भानुभक्त आचार्य यस समयका विशिष्ट प्रतिभा मानिन्छन् । वसन्त शर्माको ‘कृष्ण चरित्र (१८८०–१८८४) र रघुनाथको ‘सुन्दरकाण्ड’ (१९१८ तिर) लाई महाकाव्य भन्दा खण्डकाव्य भन्नु उचित भएकाले भक्तिकालमा भानुभक्तद्वारा रचित रामायण नै महाकाव्यका रूपमा देखापरेको हो । यो कृतिपछि मोतीरामले प्रकाशन गरेर भानुभक्तलाई चर्चामा ल्याउने काम गरेका हुन् । भानुभक्तको योगदान र उनका कृतिहरूको उचित मूल्याङ्कन गरेर नै उनलाई आदिकविको उपाधि दिइएको हो । भानुभक्तका आफ्नो समयमा नेपाली भाषाका माध्यमबाट जुन कृतिको रचना गरे त्यो उनको उल्लेखनीय र महत्वपूर्ण कार्य भयो । उनले एउटा युग जन्माए । आफ्नो समयलाई आत्मसात गरेर त्यसको महत्ता बुझेर रामकथामा आधारित रामायण लेखेकाले भानुभक्तलाई आदिकविको उचाइमा पु-यायो । कवि–लेखकहरू त्यतिबेला पनि थिए अहिले पनि धेरैले लेखेका छन् तर युग जन्माउने कवि–लेखक कमै छन् । कोही युगसँगै हराएर जान्छ भने कसैले युगलाई जन्माएर जान्छ । यस्तो युगलाई जन्माउने आदिकवि भानुभक्त आफ्ना कृतिका माध्यमबाट सदैव बाँचिरहनेछन्, बाँचेका छन् ।
(उपप्राध्यापक, त्रिभुवन विश्वविद्यालय, पद्मकन्या क्याम्पस.।)

…………………………………………………………………………………………………………….
सन्दर्भसूची
१) आचार्य, भानुभक्त, २०५८, भानुभक्तको रामायण (चौथो सं.), ललितपुरः साझा प्रकाशन ।
२) उपाध्याय, केशवप्रसाद, २०४९, साहित्य प्रकाश, (पाँचौं सं.), ललितपुरः साझा प्रकाशन ।
३) पराजुली, कृष्णप्रसाद, २०५२, पन्ध्र तारा र नेपाली साहित्य, (आठौँ सं.) ललितपुरः साझा प्रकाशन ।
४) पोखरेल, माधवप्रसाद, २०५५, महाकाव्य, नेपाली साहित्य कोश, (सम्पाः ईश्वर बराल र अन्य), काठमाडौं : नेपाल प्रज्ञाप्रतिष्ठान
५) प्रधानः कृष्णचन्द्रसिंह, २०५२, साझा समालोचना, (चौथो सं.) ललितपुरः साझा प्रकाशन ।
६) भट्ट, मोतीराम, १९४८, कवि भानुभक्ताचार्यको जीवनचरित्र, काशी : रामकृष्ण वर्मा ।