वसन्तवेला

थेरवादी बौद्ध धर्मको विकास र प्रचारप्रसारमा विगत लामो समयदेखि महत्त्वपूर्ण योगदान गर्दै आएका घनश्याम राजकर्णिकार र अमिता धाख्वालाई ‘भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार’ २०८० प्रदान गरिने भएको छ । समानान्तर बौद्ध आध्यात्मिक पत्रिका सम्यक सन्देशले अखिल नेपाल भिक्षु महासंघका छैटौँ महासंघनायक भिक्षु अश्वघोष महास्थविरको स्मृतिमा स्थापना गरेको ‘भिक्षु अश्वघोष बौद्ध सेवा पुरस्कार’ राजकर्णिकार र धाख्वालाई प्रदान गर्न लागिएको सम्यक सन्देशका सल्लाहकार एवं पुरस्कार समितिका संयोजक कृष्णबहादुर श्रेष्ठले बताए ।
थेरवादी बौद्धदर्शनको विकास र प्रवद्र्धनका क्षेत्रमा विगत लामो समयदेखि महत्त्वपूर्ण योगदान दिँदैआएकाले राजकर्णिकार र धाख्वालाई २५ सय राशिसहितको पुरस्कार अर्पण गर्न लागिएको हो । उक्त पुरस्कार महिला र पुरुषलाई प्रत्येक वर्ष प्रदान गर्नेगरी सम्यक सन्देशले गत साल स्थापना गरेको थियो । पुरस्कार सम्यक सन्देशको सातौँ वार्षिकोत्सवको अवसरमा आगामी जेठ ३१ गते काठमाडौँमा प्रदान गर्न लागिएको हो । यसअघि उक्त पुरस्कार डा. लक्ष्मण शाक्य र डा. रीना तुलाधरलाई प्रदान गरिएको थियो ।