आख्यान–शृङ्खला
काठमाडौँ ।
नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) कमल थापाको शब्द रचनामा तयार भएको ‘पिरतीको मिठो धुन’ गीत सार्वजनिक भएको छ । चर्चित गायिका अन्जु पन्त र गायक ताराप्रकाश लिम्बुको स्वर रहेको गीतको भिडियोसमेत सार्वजनिक गरिएको हो ।
प्रहरी सेवाको व्यस्त र चुनौतीपूर्ण जिम्मेवारीबीच पनि साहित्य र संगीतमा रुचि राख्दै आएका थापा पछिल्लो समय सांगीतिक क्षेत्रमा आफ्ना सिर्जनामार्फत चिनिन थालेका छन्। वर्दीभित्र रहेर पनि संवेदनशील मन र सिर्जनात्मक सोचलाई जीवित राखेका थापाका गीतमा जीवनका अनुभव, प्रेम, प्रकृति, जन्मभूमिप्रतिको माया र सामाजिक परिवेशका कथा समेटिएका छन् । थापा प्रहरी सेवाका क्रममा विशेषगरी द्वन्द्वकालमा सुदूरपश्चिम र मध्यपश्चिमका दुर्गम क्षेत्रमा लामो समय खटिएका थिए। सेवाका क्रममा देखेका जीवनका विविध पाटा, भोगाइ, आफ्नै जीवनका उतारचढाव तथा देशका गाउँबेसी र सहरमा प्राप्त अनुभव उनका सिर्जनाका प्रमुख विषय बन्ने गरेको एसएसी थापा बताउँछन् ।
‘हिउँचुलीमा हिउँ छैन’ र ‘सल्लेरी’ जस्ता गीतमा उनले आफ्नो समय, उमेर र तत्कालीन परिवेशका अनुभूतिलाई शब्दमा उतारेका छन्। लामो समय कागजमा सीमित राखेका आफ्ना अनुभव र अनुभूतिलाई पछिल्लो समय श्रव्य तथा दृश्य माध्यमबाट श्रोतामाझ पुर्याउन थालेको उनी बताउँछन् । उनको सिर्जनामा संगीत र मनोरञ्जन मात्र नभई जन्मभूमिको सम्झना, प्रकृतिप्रतिको प्रेम र माटोसँगको भावनात्मक सम्बन्ध पनि भेटिन्छ। यसको उदाहरण हो, ‘पहाडकी रानी’ गीत। आफ्नो जन्मभूमि इलामप्रतिको श्रद्धा र आत्मीयता समेटिएको उक्त गीतमा ताराप्रकाश लिम्बुको संगीत रहेको छ। मेल भर्सनमा नेपाल आइडल विजेता करण परियार र फिमेल भर्सनमा अनु चौधरीले स्वर दिएका छन्। त्यस्तै, ‘पछ्यौरी’ गीतमार्फत उनले समयको बहावले मानिसलाई थाहै नपाई जीवनको अर्को किनारमा पु¥याउने यथार्थलाई ठट्यौलो शैलीमा प्रस्तुत गरेका छन् ।
समीर खरेलको संगीत र स्वर रहेको गीतले पनि जीवनका अनुभूतिलाई फरक ढंगले अभिव्यक्त गरेको छ। थापाका ‘भकारीमा धान भरियो’, ‘हावा जस्तै उडौँला’ र ‘म पनि त’ लगायतका गीत अडियो माध्यमबाट सार्वजनिक भइसकेका छन्। गायक राजेशपायल राईको स्वरमा रहेको ‘मेरो टेन्सन’ लगायत केही फिल्मी गीतसमेत उनका सिर्जनाका रूपमा सार्वजनिक भएका छन् । पछिल्लो पटक सार्वजनिक ‘पिरतीको मिठो धुन’ मा अन्जु पन्त र ताराप्रकाश लिम्बुको स्वरले प्रेमभावलाई संगीतमा उतारेको छ। गीतको भिडियोमा प्रदीप लामा र जुना सुन्दासको प्रस्तुति रहेको छ। थापाका अनुसार मानिससँग भेट्दा प्राप्त हुने कथा, यात्रा गर्दा देखिने दृश्य र सेवाका क्रममा भोगिएका अनुभव नै उनका सिर्जनाका स्रोत हुन् ।
उनी भन्छन्, ‘भेटिएका हरेक मानिससँग केही कथा हुन्छन्। घुमेका हरेक ठाउँमा विशिष्ट शब्द र अनुभूति हुन्छन्। कहिलेकाहीँ ड्युटीका बीचमा देखिएको दृश्य नै गीतको प्रेरणा बन्छ भने कहिलेकाहीँ कुनै पुरानो स्मृतिले शब्दहरू जन्माउँछ।’ आफ्ना रचनाहरू सार्वजनिक गर्न हतार नगर्ने थापा सेवाका क्रममा पुगेका स्थान र त्यहाँका समाजप्रति सम्मान व्यक्त गर्न तथा जीवनभर ती स्मृतिलाई सुरक्षित राख्न सिर्जना गर्दै आएको बताउँछन् । आगामी दिनमा पनि आफ्ना सिर्जनाहरू क्रमशः सार्वजनिक गर्दै जाने उनको योजना छ। प्रहरी सेवाको अनुशासन र जिम्मेवारीसँगै साहित्य तथा संगीतमा समेत सक्रिय थापाका सिर्जनाले वर्दीभित्रको अर्को संवेदनशील र सिर्जनशील व्यक्तित्वलाई उजागर गरेका छन् ।
