• २०८१ माघ २७ आइतबार

सम्पूर्ण समर्पण !

धनराज गिरी

धनराज गिरी

इन्द्रप्रस्थको निर्माणमा धेरै खटेपछि अति थकित अनुभव गर्यो कान्छो सहदेवले, उसलाई हस्तिनापुरको सम्झना आयो र दाजु महाराजको अनुमति लिएर लाग्यो आफ्नो पूरानो राजधानीतिर । सहदेवलाई कान्छो छोरो भनेर कुन्तीले मात्र माया गर्ने होइन, काका विदुरले पनि माया गर्थे । अश्विनी कुमार र माद्रीका सुपुत्र नकुल र सहदेव अति अनुशासित, हरेको कुरामा अच्यूत । एक्लै घोडामा सवार भएर गए राजकुमार । अति सुन्दर र बुद्धिजीवी पनि ।

“प्रणाम काकाश्री, प्रणाम काकी आमा“ चरण स्पर्श गरे । विदुरको जोडीले अङ्कमाल गरेर शिरमा चुम्बनको आशीर्वाद दिए,“ आयुष्मान् भव वत्स, विजयी भव, यशस्वी भव !“ सम्पूर्ण माया खन्याए । भाउजू कुन्ती र अरू सदस्यहरूको कुशलक्षेम सोधे । पहिला स्नान गरेर कपडा बदल्न लगाए । केही ताजा फलफूल, पायस, अनि आराम । “भतिजा सहदेव, यो शकुनिको चाल बुझिन्न । यसले अझ के के खेल खेल्छ । उसलाई यो खान्दानसित नै प्रतिशोध लिनु छ जस्तो बुझिन्छ । ऊ कसैको हितमा पनि छैन । होशियार हुनू । मेरा गुप्तचरहरू सजग छन् । लाछागृहजस्तो अपराध गर्न सक्ने राकस हो । राजा पनि पुत्र मोहमा परे । हामी विवश, विवश, विवश । “यो चिन्ता नगर्ने काकाश्री, देवकीनन्दन, हजुर, पितामह भीष्म, आचार्यहरू रहेसम्म केही हुन्न । आज म विशेष कुरा सिक्न चाहन्छु । एक प्रतिभाशाली पुरुषको पहिचान कस्तो हुन्छ काकाश्री ? “ आहा भतिजा, ध्यान दिएर सुन । मनमा विवेक पनि भएको प्रतिभाशाली, मेधावी, तेज बुद्धिको पात्र धरतीमा कम अवतरण गर्छन् । त्यही नै व्यक्तित्व हो । उनीहरू जे गर्छन् सम्पूर्ण समर्पणका साथ गर्छन् । उच्च गुणस्तरको काम हुन्छ यस्ता पात्र वा पात्राहरूबाट । गिजोलिए, बिथोलिए भने तूफान बन्न बेर हुन्न । सुपुत्र प्रकाण्ड विद्वान् हुन पनि उच्च प्रतिभा चाहिन्छ र रत्नाकर हुन पनि त्यही दिव्यास्त्र चाहिन्छ । यही भएर प्रतिभा बिथोलिनु हुन्न । कर्णको हालत हुन्छ । कर्ण एक खास व्यक्तित्व हुन् ,तर यो युगले बिथोल्यो । उनी आफैं उज्यालोको खानी भएर पनि अन्धकारको शरणार्थी भए, घोर विडम्बना ! कृष्ण हुन् चमत्कार ! आउने युगमा पनि कृष्णको नाम लिइने छ । एक मेधावी हरेक रङ्गको पारखी हुन्छ । १६१०८एक विम्व हो, प्रतीक हो । सहदेव, प्रतिभा एक पहाडी नदी हो, तेज बग्छ, अब यसलाई कसरी सदुपयोग गर्ने, समाजको योजना र विवेकमा भरपर्छ । मान्छेको प्रतिभाको सामुन्ने ईश्वर पनि नतमस्तक ।प्रतिभालाई सम्मान गरेर अवसर दिएमा चमत्कार हुन्छ । तिमीहरू पाँच अनुज नै खास प्रतिभा हौ, समयले परख गर्ने छ । यो युगमा भीमको जोडी कोही छैन । बलमा ! अर्जुन अजेय ! तिमीहरू पाँच भाइको काका हुन पाएकोमा मलाई गर्व छ । तर छोरा, अहंकारको वृक्षमा विनाशको फल फल्छ, अर्थोष्मा, पदोष्मा, रूपोष्मा र ज्ञानोष्माबाट जोगिनू । धीरोदात्त बन्न सिक्नू । क्षमाशील हुनू । नारीलाई सम्मान गर्नू । निर्धनमाथि दया गर्नू । यो मेधावी पात्रको कर्तव्य हो, मानवता हो ।“

“धन्यवाद काकाश्री, अब म निद्रादेवीको शरणमा जान्छु । भोलि भेट्छु ठूलो बा महाराज र अरूलाई । गान्धारी आमाको पनि नियास्रो लागेको छ । “एक हप्ता हस्तिनापुर बसेर सहदेव फर्किए ।


धनराज गिरी