प्रिय !
आजको प्रेमिल बिहान
झुल्काउन सकूँ तिम्रो नयनमा !
तिमीले कदम राख्ने हरेक गोरेटोमा
बिछ्याउन सकूँ मनभरिको गुलाफ !
हृदयको अविरल स्पन्दन
मनको अन्तहीन भावनामा
छाम्न सकूँतिमी नै तिमी !
सजाउँंदै आँखामा
तिम्रा सुन्दर सपनाहरू
कदममा मिलाउंदै कदम
जीवन पर्यन्त
हराउन सकूँ तिमीमा !
आऊ प्रिय !
आजको साँझ
आफ्नो क्यानभासमा
सजाऊ मलाई !
म जुन बनेर
तिम्रो आँखामा चम्किनेछु
ताराहरूको माला बनेर
अँगालोमा सजिनेछु
प्रत्येक धड्कनबाट
अविरल प्रेमधारा बर्साउँदै
पोतिनेछु तिम्रै क्यानभासमा
प्रिय !
यो साँझ
म
तिमीले प्रज्वलित गरेको प्रेमको दीपमा
ज्योति भर्न सकूँ !
तिमीले देखेका सपना अटाउने
महल खडा गर्न सकूँ !
मनका सम्पूर्ण कल्मषहरूलाई
पारेर निमिट्यान्न
भुलेर सबै व्यथा
मखमली घाँसको चादर टेकेर
जीवनको अन्तहीन यात्रामा निस्कन सकूँ
जहाँ खुसीहरू साझा बनेर
प्रणय दिवसका
अनन्त शुभकामनाहरू
हरेक मनभित्र तरङ्गित हुन्छन ।
(सुमन वर्षा चर्चित कवि तथा साहित्यकार हुन्)
[email protected]