• २०८३ भाद्र १५, सोमबार

अनेसास नेपाल च्याप्टरले पारित ग¥यो ऋषभदेव घिमिरेद्वारा रचित ‘अनेसास गान’

काठमाडौँ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरको साधारण सभाले संस्थाको उद्देश्य, भावना तथा नेपाली भाषा–साहित्यप्रतिको समर्पणलाई समेटिएको ‘अनेसास गान’ सर्वसम्मत रूपमा पारित गर्दै सार्वजनिक गरेको छ ।

ऋषभदेव घिमिरेद्वारा रचित गानमा अनेसासलाई नेपाली भाषा, साहित्य, कला र संस्कृतिमा सक्रिय सर्जकहरूको साझा घरका रूपमा चित्रण गरिएको छ। गानले नेपाली भाषा–साहित्यलाई विश्वभर विस्तार गर्ने, विविधताबीच एकता कायम गर्ने तथा सिर्जनामार्फत नेपाली पहिचानलाई विश्वसामु चिनाउने भावलाई आत्मसात् गरेको छ ।

‘साझा घर हाम्रो अनेसास’ भन्ने मूल भावबाट सुरु हुने गानमा साहित्य र संस्कृतिलाई संगीतका भाकासँग जोड्दै नेपाली गौरवगाथालाई विश्वभर फैलाउने संकल्प व्यक्त गरिएको छ। बहुभाषिक सिर्जना, विविधताबीचको एकता र नेपालीपनलाई गानले कलात्मक रूपमा प्रस्तुत गरेको छ। गानमा रहेका ‘अनेक भाषा एउटै मन, एउटै हाम्रो बोली, एकताको चित्र कोर्छौँ सातै रङ घोली’ जस्ता पंक्तिले विश्वभर रहेका नेपालीभाषी सर्जकलाई एउटै भावनात्मक सूत्रमा जोड्ने सन्देश दिएका छन् ।

गानमा संगीतकार नरहरि प्रेमीले संगीत भरेका छन् । उनको संगीत संयोजनले गानका शब्दमा निहित साहित्यिक भाव, राष्ट्रियता, एकता र अनेसासप्रतिको आत्मीयतालाई सुमधुर सांगीतिक स्वरूप प्रदान गरेको छ। शब्द र संगीतको संयोजनले ‘अनेसास गान’लाई औपचारिक गानभन्दा माथि उठाउँदै संस्थाको साझा भावना र उद्देश्यको सांगीतिक अभिव्यक्तिका रूपमा स्थापित गरेको छ ।

साधारण सभाले गानलाई अनेसास नेपाल च्याप्टरको भाव, उद्देश्य र पहिचानसँग जोडिएको महत्वपूर्ण सिर्जनाका रूपमा ग्रहण गर्दै सर्वसम्मत रूपमा पारित गरेको हो । अब अनेसास नेपाल च्याप्टरका विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा ‘अनेसास गान’ प्रस्तुत गर्ने तयारी गरिएको छ ।