• २०८३ कार्तिक ९, आईतवार

गोविन्द्र राज तिमिल्सेना (कुसुम कान्छो)का चार मुक्तक

गोविन्द्र राज तिमिल्सेना

गोविन्द्र राज तिमिल्सेना

दशैँ आयो, तिहार आयो, प्रदेशमै हुनु परेको छ,
याद आउँदा गाउँघरका तस्बिर छुनु परेको छ ।
विरानो मुलुक अनि टन्टलापुर चर्को घाममा,
पसिना बगाएर दिनभरि खाडीमै रुनु परेको छ ।।

वर्षदिनमा दशैँ, तिहार आउँदा खुसी छाएको छ,
धेरैपछि सबैको माया पाउँदा खुसी छाएको छ ।
नाच्दै गाउँदै एकआपसमा देउसी र भैलो भन्दै,
साथीभाइ मिलेर सबै रमाउँदा खुसी छाएको छ ।।

आफ्नै गाउँघर जाऊँ झैँ लाग्दै छ होला,
यो मन पनि कताकता रमाउँदै छ होला ।
ढकमक्क फूल फुले होलान् गाउँघरमा,
दशैँ र तिहारले रमाइलो छाउँदै छ होला ।।

मेलापात र लेकबेँसी डुलेका, कति रमाइलो !
मखमली फूलसमेत फुलेका, कति रमाइलो !
मनै लोभ्याउने क्या सुन्दर दृश्य गाउँघरतिर,
लहलह खेतमा धान झुलेका, कति रमाइलो !।


गोविन्द्र राज तिमिल्सेना, बडीमालिका नगरपालिका–७, बाजुरा ।