• २०८१ फागुन ३ शनिवार

नन्द हाङ्खिम र खगेन्द्र गिरी कोपिला मुक्तक पुरस्कारबाट पुरस्कृत

काठमाडौँ ।

नेपाल मुक्तक प्रतिष्ठानको बाह्रौं वार्षिकोत्सव तथा मुक्तक दिवसका अवसरमा मन्त्रीपरिषद्का पूर्व अध्यक्ष एवं सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले दार्जिलिङका स्रष्टा नन्द हाङ्खिमलाई एकाउन्न हजार रुपैयाँसहितको भीमदर्शन मुक्तक पुरस्कार र नेपालगञ्जका स्रष्टा खगेन्द्र गिरी कोपिलालाई एकतीस हजार रुपैयाँसहितको कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार समर्पण गरेका छन् । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि रेग्मीले नेपाल मुक्तक प्रतिष्ठान र नेपाल स्रष्टा समाजले संयुक्त रूपमा प्रकाशन गरेको ‘मुक्तक मुहिम’ कृतिको लोकार्पण गरेका थिए । थोरै लेखेर पनि स्थापित हुन सकिन्छ भन्दै उनले नेपाल मुक्तक प्रतिष्ठानले गरेको कामको प्रशंसा गरे ।

प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कृत स्रष्टाद्वय नन्द हाङ्खिम र खगेन्द्र गिरी कोपिलाले स्थापित स्रष्टाका नाउँमा स्थापित पुरस्कारबाट पुरस्कृत भएकामा खुसी व्यक्त गरे । अध्यक्ष रामकाजी कोनेले विश्वभरि नै मुक्तक लेखिन थालेकामा खुसी व्यक्त गरे । उनले अमेरिका, बेलायत, दक्षिण कोरिया, कोशी प्रदेश शाखाहरूका साथै मुक्तकको विकास र विस्तारमा लागि सक्रिय अन्य संघसंस्थाको पनि योगदान रहेको बताए । कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले नेपाल मुक्तक प्रतिष्ठानको आयोजना र मुक्तक मञ्च पोखराको सहआयोजनामा २०७० सालमा पोखरामा सम्पन्न तीन दिवसीय कार्यशाला गोष्ठी सम्झिंदै मुक्तकको विश्वव्यापी रूपमै विकास र विस्तारमा प्रतिष्ठानको भूमिकाको सराहना गरे ।

उनले कहिल्यै मुक्तक नलेखेका नेपाली साहित्यका स्थापित स्रष्टाहरूलाई मुक्तक लेख्न अभिप्रेरित गरी प्रकाशन गरिएको ‘मुक्तक मुहिम’ नेपाली साहित्यमा गरिएको नवीन प्रयोग भएको बताए । कार्यक्रममा प्रतिष्ठानका सल्लाहकारहरू ज्ञानुवाकर पौडेल र प्राडा लक्ष्मणप्रसाद गौतमले मुक्तक लेखनमा प्रतिभाशाली स्रष्टाहरू सक्रिय रहेको चर्चा गरे । उक्त अवसरमा पूर्वाञ्चल साहित्य प्रतिष्ठानका अध्यक्ष विवश पोखरेलले नेपाली मुक्तकको विकासमा नेपाल मुक्तक प्रतिष्ठानको योगदानको चर्चा गर्दै कोशी प्रदेशका स्रष्टाहरू पनि मुक्तक लेखनमा सक्रिय रहेको बताए । प्रतिष्ठानका महासचिव यादव भट्टराईले सञ्चालन गरेको उक्त कार्यक्रममा प्राडा गोविन्दमानसिंह कार्कीले ‘मुक्तक मुहिम’ को समीक्षात्मक टिप्पणी गरेका थिए। नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाका अध्यक्ष दुर्गाप्रसाद पोख्रेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा प्रतिष्ठानका सदस्य राधेश्याम लेकालीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा भीमदर्शन रोका, कृष्णप्रसाद पराजुली, रत्नशम्शेर थापा र चेतन कार्कीको स्मरण गर्दै उनीहरूले नेपाली मुक्तकको विकासमा पुयाएको योगदानको चर्चा गरिएको थियो । “नेपाली स्रष्टाहरूको योगदान, मुक्तकको उन्नयनमा साझा अभियान “मूल नारासहित प्रकाशित रामकाजी कोने तथा श्रीओम श्रेष्ठ रोदन प्रधान सम्पादक र यादव भट्टराई कार्यकारी सम्पादक रहेको ‘मुक्तक मुहिम’ कृतिमा विभिन्न देशमा रहेका नेपाली स्रष्टाहरूका समेत गरी २२३ मुक्तककारका ३ र ३ मुक्तक समेटिएका छन् । उक्त कृतिमा प्रा. डा. लक्ष्मणप्रसाद गौतमको मुक्तक सम्बन्धी आलेखका साथै यादव खरेल, तेजेश्वरबाबु ग्वंग, रोचक घिमिरे, नगेन्द्रराज शर्मा, ज्ञान उदास लगायत स्रष्टाहरूका मुक्तक समेटिएका छन् ।