• २०८३ कार्तिक १४, शुक्रबार

हिउँमाथिको यात्रा: अनुभूति, सङ्घर्ष र सौन्दर्यको सङ्गम

गोविन्दराज तिमिल्सेना

गोविन्दराज तिमिल्सेना

केही यात्रा पैतालाले तय गर्छन्, केही आँखाले नियाल्छन्, तर केही यस्ता हुन्छन्, जसलाई मनले जीवनभरि बोकेर हिँड्छ। हिउँमाथिको मेरो यात्रा पनि त्यस्तै एउटा अविस्मरणीय यात्रा थियो, जहाँ प्रकृति मुस्कुराइरहेकी थिइन्, बाटाहरू चुनौती बनिरहेका थिए र मनले हरेक पाइलामा नयाँ अनुभूति लिइरहेको थियो ।

हिउँमाथिको यात्रा
घुम्नु केवल मनोरञ्जन मात्रै होइन, नयाँ अनुभव र अनुभूति ग्रहण गर्ने माध्यम पनि हो। घुमफिरले नयाँ संसारको परिकल्पना गर्न सहयोग पुर्‍याउँछ। घुम्न मन लागेपछि कसैले रोक्न सक्दैनन्। न मौसमले रोक्न सक्छ, न झरीले, न हिउँले । हिउँको सेतो संसारमाथि यात्रा गर्नु एउटा अद्भुत र यादगार अनुभव हो । जहाँ रूखहरू, पहाडहरू र बाटाहरू सबै हिउँको तन्नामा सुतिरहेका हुन्छन्। यस्तो यात्राले मानिसलाई थकान र तनाव बिर्साएर आनन्द प्रदान गर्छ ।

कपासजस्तो हिउँ, सेतो कुहिरो र सेताम्य हिमशिखरहरूको प्राकृतिक सुन्दरताको आनन्द लिन पाउनु स्वर्गीय अनुभूतिभन्दा कम के हुन सक्छ र? हिउँसँग पौठेजोरी खेल्नु र रमाउनु कुनै सामान्य कुरा थिएन। त्यो दिन बिहान मौसम सफा थियो। सफा मौसममा हाम्रो यात्रा अघि बढ्यो। हामी घरबाट निस्कियौँ—साथमा भतिज युवराज तिमिल्सेना, भान्जा हेमन्त पाण्डे र म थियौँ। दुई घण्टाको उकालो यात्रा गरेपछि थकान मेटाउन केहीबेर बस्यौँ। भोक मेटाउन रोटी खायौँ। थकान र भोक मेटिएपछि फेरि अघि बढ्यौँ। उकालो र हिउँमाथिको यात्रा त्यति सहज भने थिएन। कुराकानी गर्दै, हिउँ खाँदै हाम्रो यात्रा जारी रह्यो। जति माथि पुग्दै गयौँ, त्यति नै मौसम खराब हुँदै गयो। एक्कासि आकाशमा घुम्म बादल लाग्यो। चारैतिर चिसो फैलियो।

प्रकृति पनि अँध्यारो बन्यो। तर हिमालको नियम फरक हुन्छ; तल धुम्म भए पनि माथि कतै न कतै आकाश खुलिरहेको हुन्छ भन्ने विश्वासले हामी अघि बढिरह्यौँ। उकालोमा जति अघि सर्न खोज्थ्यौँ, हाम्रा पाइला त्यति नै पछाडि तानिएझैँ हुन्थे। हिउँले छोपिएका कहालीलाग्दा भीमकाय पहाडहरू चिसो हावासँग गफ गर्दै उभिएका देख्दा हामी उत्साहित हुन्थ्यौँ र अझ अघि बढ्थ्यौँ। हामी जति माथि पुग्थ्यौँ, ती सेताम्य अग्ला हिमाल त्यति नै माथि सरेझैँ लाग्थे। हामीलाई लाग्थ्यो, यी अग्ला हिमालले आकाश नै छोएका छन्।
फरकफरक स्वरूपका भीमकाय पहाडहरू नौरङ्गी सारीमा सजिएकी अप्सराझैँ देखिन्थे। सुन्दर स्वर्गकी परीझैँ देखिने ती पहाडहरू कतै हाम्रो शिरमाथि खस्ने त होइनन् भन्ने डर पनि मनमा थियो। यात्राका क्रममा हामी निकै थकित थियौँ। सुन्दरताको बयान गर्न हामीसँग शब्द थिएनन्। हामीले केवल त्यसको आनन्द र अनुभूति लियौँ। गन्तव्यसम्म पुग्न निकै कठिन थियो। पाँच घण्टासम्म पनि उकालो पार गर्न सकेका थिएनौँ। बाक्लो हिउँका कारण यात्रा गर्न निकै सकस भइरहेको थियो। हिउँले शरीर नै भिजेको थियो। त्यसमाथि चिसोले हातखुट्टा चलाउनसमेत कठिन भइरहेको थियो। फोटो खिच्दै हामी सेताम्य बाटोमा अघि बढिरह्यौँ।

हरेक पाइला सङ्घर्षपूर्ण थियो र हरेक मोडमा एउटा नयाँ कथा लुकेको थियो। सेताम्य हिउँले ढाकिएका हिमाल र विशाल फाँटमा रमाउने इच्छा सबैको हुन्छ। तर सबैको त्यो इच्छा पूरा हुन सक्दैन। सङ्घर्षका बाबजुद त्यहाँ पुग्ने मानिसले मात्रै त्यसको वास्तविक आनन्द लिन सक्छन्। हिउँ परेको ठाउँमा अत्यधिक चिसो हुने र यात्रा कष्टपूर्ण बन्ने गर्छ। मानिसलाई नै उडाएर लैजाला जस्तो जोडले सिरेटो चलिरहेको थियो। घुँडासम्म हिउँमा धसिँदै, हिउँ छिचोल्दै करिब सात घण्टाको यात्रापछि हामी बाक्लो हिउँले ढाकिएको लगभग तीन हजार पाँच सय मिटरको उचाइमा पुग्यौँ। हाम्रो यात्रा त्रिवेणीसम्मको थियो। तर त्यो यात्रा पूर्ण हुन पाएन। अत्यधिक हिउँका कारण बीचैबाट फर्किनुपर्ने बाध्यता आइपर्‍यो।

उच्च हिमाली क्षेत्रको अत्यधिक जाडो र बाक्लो हिउँ नै हाम्रो यात्राका बाधक बने। चिसोले हामी बोल्नसमेत नसक्ने अवस्थामा पुगेका थियौँ। चारैतिर प्रकृति आफ्नै सौन्दर्यमा विलीन भएको थियो। सेताम्य हिमशृङ्खलाहरू लयबद्ध दन्तपङ्क्तिझैँ सजिएका थिए। प्रकृतिको सुन्दरतामा कुनै कमी थिएन । वरपरका सुन्दर दृश्य नियाल्दा लाग्थ्यो, स्वर्ग यहीँ छ। साँच्चै, पहाडभित्र लुकेको अर्को नयाँ संसार रहेछ यो। सौन्दर्यको खानी नै रहेछ। त्यसलाई विभिन्न तरिकाले बयान गर्ने उत्साह जाग्यो। कठिनाइ पार गर्दै अघि बढ्दा आत्मविश्वास र नयाँ दृष्टिकोण विकसित हुने रहेछ भन्ने विश्वास पनि बढ्यो । हिउँमाथिको यात्रा केवल दृश्य हेर्ने यात्रा मात्र नभई प्रकृति र आफैँलाई चिन्ने यात्रा पनि रहेछ ।

चारैतिर सेताम्य हिउँ !
धर्तीमाताले सेतो पछ्यौरी ओढेकी थिइन् । रूखका हाँगाहरू हिउँका गहनाले सजिएका थिए। आकाश नीलो थियो र हिमालका टाकुराहरू घामका किरणमा सुन र चाँदीझैँ टल्किएका थिए। लाग्थ्यो, ती हिमालहरू मुसुक्क मुस्कुराउँदै मलाई नै बोलाइरहेका छन् । आँखाले भ्याएसम्म फैलिएको हिउँको संसार चिहाउँदा कुनै कुशल चित्रकारले प्रेमपूर्वक कोरेको अद्भुत चित्रजस्तै लाग्थ्यो ।

प्रकृतिको त्यो अनुपम छटासामु म केही क्षण निःशब्द भएँ। शब्दहरू सायद त्यतिबेला साना भएका थिए, तर अनुभूतिहरू असाध्यै विशाल। हिउँमाथिको यात्राले मनमा एक प्रकारको रोमाञ्चकता भरिदिएको थियो। नरम हिउँमा खुट्टा गाडिँदाको अनुभूति, पैतालामुनि आउने चरमर आवाज र गालामा ठोक्किने चिसो हावाले यात्रालाई थप जीवन्त बनाएका थिए। हिउँमा आफ्ना पाइला छोड्दै अघि बढ्दा लाग्थ्यो, म केवल बाटोमा हिँडिरहेको छैन, आफ्नै स्मृतिको पानामा एउटा नयाँ अध्याय लेखिरहेको छु। हरेक पाइला एउटा नयाँ कथा बनिरहेको थियो र हरेक दृश्य अविस्मरणीय तस्बिर। हुन त यसअघि पनि हिउँ नदेखेको र नखेलेको भने होइन। तर यो यात्राले मलाई फरक अनुभूति दिलायो।

अनुभूति, सङ्घर्ष र सौन्दर्यको सङ्गम
प्रकृतिको काखमा खेल्न र सुन्दर प्रकृतिसँग रमाउन त्यति सहज छैन। जीवनभरि यादगार रहने सङ्घर्षपूर्ण यात्रा गर्नुपर्ने हुन्छ। प्रकृतिको सुन्दर गुण नै यसको सौन्दर्य हो। हिउँमाथिको यात्रा अनुभूति, सङ्घर्ष र सौन्दर्यको सङ्गम हो । सेताम्य हिउँमा यात्रा गरिरहेको यात्री र त्यहाँको वातावरणबीच छुट्टै सम्बन्ध स्थापित भएको हुन्छ। हिउँले सेताम्य बनेका डाँडापाखा र हिमालहरूले समेत मानिसलाई आकर्षित गर्छन्। हिउँ केवल सेतो कपास मात्र होइन, त्यससँग एउटा नयाँ संसार पनि जोडिएको हुन्छ।

हिउँ परेको बाटो कठिन हुन्छ। हिउँको यात्रा केवल जोखिम मात्र होइन, आत्मविश्वास र अनुभूतिको यात्रा पनि हो। हिउँले ढाकिएका हिमालहरूले मुस्कुराउँदै हामीलाई बोलाएजस्तो लाग्थ्यो। यात्राबाट फर्किंदा पनि हामीलाई लागिरह्यो—यी अप्सराझैँ सुन्दर हिमालहरूले फेरि बोलाउनेछन्। किनकि ती सुन्दर हिमालहरू हाम्रो मनमा बसिसकेका थिए। बाटाभरि सेताम्य हिउँ, हिउँले ढाकिएका रूख र आफूले सक्ने जति हिउँ बोकेर उभिएका अग्ला पहाडहरू देखिन्थे। मनमनै सोचेँ, यो त हिउँकै संसार रहेछ। हिउँमाथिको सङ्घर्षपूर्ण यात्राले सुन्दर ठाउँको पहिचान गरायो ।

यात्रामा जति माथि पुग्दै गयौँ, त्यति नै नौला र अनौठा दृश्य आँखामा ठोक्किन्थे। अजङ्गका पहाड, जति हेर्दा पनि मन नअघाउने कलकल बग्ने झरनाको पानी, सेताम्य हिउँ र वरपरका सुन्दर हिमालका साथै डाँफेको उडानले हाम्रो मन तान्यो। हिउँमाथिको यात्रा केवल घुमफिर मात्र नभई सुन्दर प्रकृतिसँगको संवाद पनि हो, जहाँ हाम्रा प्रत्येक पाइलाले नयाँ अनुभूति बोकेर अघि बढ्छन्। हिउँको यात्रा जति सुन्दर छ, त्यति नै चुनौतीपूर्ण पनि। यस यात्रालाई अनुभूति, सङ्घर्ष र सौन्दर्यको सङ्गम भनिएको हो। यसभित्र नयाँ अनुभूति, हिउँ छिचोल्दाको सङ्घर्ष र प्रकृतिको अनुपम सौन्दर्य लुकेको छ। यस यात्रालाई पर्यटनका दृष्टिले पनि महत्त्वपूर्ण मान्न सकिन्छ। यसले पर्यटकीय क्षेत्रको प्रचारप्रसार, रोजगारी सिर्जना र विकासमा टेवा पुर्‍याउन मद्दत गर्छ ।

अन्ततः हिउँमाथिको यात्रा केवल गन्तव्यसम्म पुग्ने वा घुमफिर गर्ने यात्रा मात्र होइन, जीवनको एउटा अविस्मरणीय क्षण पनि हो। यसलाई अनुभूति, सङ्घर्ष र सौन्दर्यको सङ्गमका रूपमा लिन सकिन्छ, जहाँ प्रत्येक पाइला सम्झनलायक हुन्छ। लाग्छ, स्वर्ग कतै छ भने यहीँ छ । हिउँमाथिको त्यो यात्रा मेरा लागि केवल हिमाल हेर्ने अवसर थिएन। त्यो आफ्नै मनसँग भेट्ने, सङ्घर्षसँग मित्रता गाँस्ने र सौन्दर्यको वास्तविक अर्थ बुझ्ने अनुपम अनुभव थियो। हिउँ पग्लिएर पानी बन्ला, मौसम फेरिएला, तर ती हिउँका थुप्राबीच मैले अनुभूत गरेको आनन्द, भोगेको सङ्घर्ष र बटुलेका अमूल्य सम्झनाहरू कहिल्यै मेटिने छैनन् ।  किनकि केही यात्राहरू सकिन्छन्, तर तिनले जन्माएका अनुभूतिहरू कहिल्यै सकिँदैनन्। हिउँमाथिको मेरो यात्रा पनि त्यस्तै एउटा कथा थियो, जहाँ हरेक पाइला सङ्घर्ष थियो, हरेक दृश्य सौन्दर्य थियो र हरेक अनुभूति जीवनभरिका लागि अमिट स्मृति बनेको थियो ।


गोविन्दराज तिमिल्सेना