समाचार
भक्तपुर ।
सिर्जना अभियान समाजद्वारा भक्तपुरमा आयोजित समारोहमा संयुक्त लघुकथा कृति ‘अभियान चिबाखं’ विमोचन गरिएको छ । कार्यक्रममा कृति विमोचनसँगै स्रष्टाहरूले समसामयिक विषयमा लेखिएका कविता तथा सिर्जना वाचन गरेका थिए । कवि योगेन्द्र प्रधान, सिर्जना अभियान समाजका अध्यक्ष धनमान श्रेष्ठ र कृतिका सम्पादक ध्रुव मधिकर्मीले संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् ।
विमोचनपछि सम्पादक मधिकर्मीले सानो आकारको कथाले पनि जीवनको कुनै विशेष क्षणलाई प्रभावकारी रूपमा उजागर गर्न सक्ने बताए। नेपालभाषामा लेखिएका समसामयिक लघुकथाको सन्दर्भ, स्वरूप र प्रवृत्तिलाई पाठकसम्म पु¥याउने उद्देश्यले कृति प्रकाशन गरिएको उनको भनाइ थियो । नेपालभाषाका वरिष्ठ कवि योगेन्द्र प्रधानले थोरै सङ्ख्यामा स्रष्टाले कविता वाचन गर्दा स्रोता र स्रष्टाबीच आत्मीयता बढ्ने बताए। यस्ता कार्यक्रमले सिर्जना सुन्ने र सुनाउने वातावरण निर्माण गर्नुका साथै साहित्यप्रतिको रुचि बढाउने धारणा उनले व्यक्त गरे । कार्यक्रममा योगेन्द्र प्रधानसहित माणिकबाबु ग्वंग, नवीनप्रकाश श्रेष्ठ, विपिन बनेपाली, कृष्णमोहन जोशी, सुरेन्द्रलाल भुजू, ओमनरहरि श्रेष्ठ, कृष्णप्रसाद दुमरु, ज्ञानकेशरी श्रेष्ठ, मिमला शर्मा र पदमा खयरगोलीले समसामयिक विषयमा कविता वाचन गरेका थिए ।
धनमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन लक्ष्मी वैद्यले गरेकी थिइन् । सिर्जना अभियान समाजद्वारा प्रकाशित ८८‘अभियान चिबाखं’ ८८मा ७८ जना स्रष्टाका समसामयिक सन्दर्भमा आधारित लघुकथा समेटिएका छन् ।
